प्रचण्ड मंगलबार ११ बजे न्युयोर्कबाट नेपाल प्रस्थान गर्दै, अबुधाबीमा 'नाइट-होल्ड',बिहिबार नेपाल पुग्ने

तस्वीर सौजन्य: गंगा दाहाल

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकाको  व्यक्तिगत भ्रमण पूरा गरेका छन्। अहिले उनी न्युयोर्कको जोन एफ केनेडी बिमानस्थलमा अध्यागमन क्लियर गरेर नेपाल प्रस्थान गर्ने विमान पर्खिरहेका छन्। उनी अमेरिकी पूर्वी समयअनुसार राती ११ बजे इत्तिहाद एयरवेजको विमान हुदै नेपाल प्रस्थान गर्नेछन्। 

अध्यक्ष प्रचण्डलाई विदाई गर्न अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कका नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराईलगायतका व्यक्तित्वहरू जोन एफ केनेडी विमानस्थल पुगेका थिए। उनलाई विदाई गर्न पार्टीका केही अगुवा शुभचिन्तकहरू पनि विमानस्थलमा भेला भएका थिए।

उनी एकरात अबुधावीमा बसेर विहीबार अपरान्ह नेपालका लागि प्रस्थान गर्नेछन्।   

अध्यक्ष प्रचण्डको व्यक्तिगत भ्रमण दलमा  रहेका श्रीमती सीता, छोरी गंगा, ज्वाइ जीवन र नर्स अम्बिका पनि उनीसँगै नेपाल फर्केका छन्।  

प्रचण्ड नेपाल छोडेको १० दिनपछि नेपाली समयअनुसार विहीबार अपरान्ह काठमाडौै पुग्नेछन्। 

उनले आफ्नो भ्रमण सफल भएको बताएका छन्। व्यक्तिगत भ्रमण भएकाले धेरै नेपालीसँग भेट गर्ने नसकेको बताउँदै उनले भनेका छन्- 'अमेरिकामा रहेर रचनात्मक र सकारात्मक कार्यहरू गरेका केही प्रतिनिधि नेपालीसँग उत्साहजनक भेटघाट गर्ने मौका पाएँ।'

प्रकाशित मिति: : 2019-03-27 08:07:03

प्रतिकृया दिनुहोस्