वासिङ्टन डीसीमा प्रचण्ड-डेलेसी भेटवार्ता : उच्चस्तरीय भेटवार्ता हुने सम्भावना

फोटो: स्कट डेलेसी

अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डसँग नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलेसीले शिष्टाचार भेट गरेका छन्। 

उनीहरूबीच अमेरिकाका लागि नेपाली राजदूतको सरकारी निवासमा भेटबार्ता भएको हो । भेटबार्तापछि डेलेसीले प्रचण्डसँग अंकमाल गरेको फोटाेसहित एक ट्विट गरेका छन्। 

उनले नेपालमा शान्ति प्रक्रिया चलिरहेको बेला झण्डै सात वर्ष अघि नेपालका लागि अमेरिकी राजदूत हुँदाको संस्मरण गर्दै त्यतिबेला प्रचण्डसँग भएका बाक्ला भेटघाट र कुराकानीहरूको सम्झेका छन्। त्यतिबेलाको बातचितको सम्झना गर्दै उनले लेखेका छन्- 'जतिबेला म राजदूत थिएँ, उहाँ माओवादी नेता हुनुहुन्थ्यो जोसँग मैले नजिक रहेर शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ।हामी प्राय गरेर भेट्थ्यौं। हामीबीचको बातचित गतिशील हुन्थ्यो, कहिले विवादित हुन्थ्यो तर शत्रुतापूर्ण भने कहिले भएन।'

भेटघाटका क्रममा विगतमा बारेमा घोत्लिनेभन्दा पनि भविष्यका चुनौतिका बारेमा कुरा गरेको बताउँदै उनले आफ्नो ट्विटमा अगाडि लेखेका छन्-'एउटा बलियो र समृद्ध नेपाल बनाउँने बारेमा कुरा गर्यौं।देशका युवाहरूलाई अभिप्रेरित गर्ने र उनीहरूलाई नेपालका सामु उभिएका चुनौति सामना गर्ने दृष्टिकोण दिने बारेमा कुरा गर्यौ।'

डेलेसीले प्रचण्डलाई नेपालका राजनेताका रूपमा गम्भीरतापूर्वक महत्व दिने बताउँदै अगाडि लेखेका छन्- ' म आशा गर्छु कि राष्ट्रको एक नेताका रूपमा जसलाई म गम्भीरतापूर्वक महत्व दिन्छु, हामीबीच भएको बातचितले उहाँलाई नयाँ विचार बनाउँन सहयोग पुग्नेछ।' 

नेपालमा शान्ति प्रक्रिया चलिरहेको बेला स्कट डेलेसी नेपालका लागि अमेरिकी राजदूत थिए। नेपालको शान्ति प्रक्रियाको एक अहम् पात्र अमेरिकाको राजदूतका रूपमा डेलेसीले त्यो प्रक्रियालाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको थिए।

स्कट डेलेसीको ट्विटको नेपाली अनुवाद 

'प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका सह-अध्यक्ष हुन् । जतिबेला म राजदूत थिएँ, उहाँ माओवादी नेता हुनुहुन्थ्यो जोसँग मैले नजिक रहेर शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ।हामी प्राय गरेर भेट्थ्यौं। हामीबीचको बातचित गतिशील हुन्थ्यो, कहिले विवादित हुन्थ्यो तर शत्रुतापूर्ण भने कहिले भएन।हामीले शान्तिका लागि मार्गप्रशस्त गर्न सँगै काम गर्यौ अनि आज लगभग सात वर्षपछि महामहिम राजदूत अर्जुन कार्कीको निवासमा कफीसहित बातचित गर्ने अवसर मिल्यो। एउटा देश जो अहिले शान्त छ र राष्ट्रिय मेलमिलापको दिशामा यात्रा पूरा गर्ने कोशिस गरिरहेको छ, त्यसका बारेमा कुरा गर्न राम्रो लाग्छ। विगतमा बारेमा घोत्लिनेभन्दा पनि हामीले भविष्यका चुनौतिका बारेमा कुरा गर्यौं।एउटा बलियो र समृद्ध नेपाल बनाउँने बारेमा कुरा गर्यौं।देशका युवाहरूलाई अभिप्रेरित गर्ने र उनीहरूलाई नेपालका सामु उभिएका चुनौति सामना गर्ने दृष्टिकोण दिने बारेमा कुरा गर्यौ। यो फेरि जोड्नु राम्रो थियो अनि म आशा गर्छु कि राष्ट्रको एक नेताका रूपमा जसलाई पनि गम्भीरतापूर्वक महत्व दिन्छु, हामीबीच भएको बातचितले उहाँलाई नयाँ विचार बनाउँन सहयोग पुग्नेछ। जय नेपाल। '

स्कट डेलेसी अहिले पनि फाउन्डेसन स्थापना गरेर त्यसमार्फत नेपालसँग जोडिदैआएका छन् ।

डेलेसीको यो भेटवार्तासँगै प्रचण्डको अरू भेटघाटको क्रम सुरू भएको अनुमान गर्न सकिन्छ। यसका लागि अझै पनि अमेरिकी विदेश मन्त्रालयमा पहुँच भएको मानिएका डेलेसीले सहजकर्ताको भूमिका खेलिरहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। 

प्रकाशित मिति: : 2019-03-21 05:14:37

प्रतिकृया दिनुहोस्