नेपाल फर्किसकिन् 'विद्यादेवी': अमेरिकामै घुम्दैछन् 'गणेश'

फेसवुकवाट

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलका अर्का एक सदस्य पनि अमेरिकाका विभिन्न राज्यको भ्रमणमा बरालिदै गरेका फेसबुके पोष्टहरू सार्वजनिक भएका छन्।

मेरिल्याण्ड, वासिङ्टन डीसी हुँदै टेक्सास पुगेर भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकसँग टहलिदै गरेका तस्वीरहरू सार्वजनिक गर्ने व्यक्ति हुन्- गणेश बस्नेत।

प्रधानमन्त्री के पी ओलीका कृपापात्र मानिने बस्नेत तत्कालिन नेकपा एमाले समर्थक पत्रकारहरूको भातृ संगठन प्रेस चौतारी नेपालका अध्यक्ष हुन्। उनी यतिबेला जनता टाइम्स नाम गरेको एक अनलाइनका अध्यक्ष रहेका छन्। अध्यक्ष भनिएकाले उनी मालिक भएको अर्थ लाग्छ, सम्पादक भनेको भए पत्रकार भन्न मिल्थ्यो। उनको अनलाइन अलेक्सा रेटिङ का आधारमा नेपालका अनलाइनमध्ये १०२६ औं रोलक्रममा छ। 

तर, उनै बस्नेतले राष्ट्रपति भ्रमण दलको सदस्य हुने मौका पाए। उनलाई पत्रकार भनेर भ्रमणदलमा सहभागी गराइएको बताइन्छ। पहिला त उनी जनता टाइम्सका अध्यक्ष भएकाले त्यो पद मात्रले उनी पत्रकार भन्ने पुष्टि हुदैन। यसरी पत्रकार भन्ने औपचारिक हैसियत नै नभएको व्यक्तिलाई पत्रकारकै रूपमा राष्ट्रपतिको भ्रमण दलमा सहभागी गराउने कुनै आधार थिएन। महिलासम्वन्धी सम्मेलन भएकाले एकजना महिला पत्रकार ल्याएको भए पनि एकजना महिलाले लैंगिक हिसाबले सम्मेलनमा सहभागी हुन पाइन् भन्ने हुन्थ्यो।

विषयगत हिसाबले विशेषज्ञ भए पनि विशेषज्ञ सहभागिता भन्न मिल्थ्यो। धेरै नेपाली पाठक/दर्शकसम्म पुग्ने मिडिया पत्रकार भए पनि राष्ट्रपतिको भ्रमणको प्रचार-प्रसार हुन्छ भन्न हुन्थ्यो। धेरै पढिने लेखक/स्तम्भकार/विचार निर्माणकर्ता भए पनि उनको कलमबाट विचार निर्माण हुन्छ भन्ने हुन्थ्यो।एकजना आदर्श पत्रकार हुन् भन्ने हो भने पनि उनको पृष्ठभूमि थाहा पाउँनेहरू त्यो मान्न तयार छैनन्। राष्ट्रपति फर्किसक्दा पनि त्यही भ्रमणदलमा आएका उनी अमेरिकामै घुमिरहेकाले पनि त्यो भन्ने नैतिक आधार मिलेन।

बस्नेत यो भ्रमणदलमा पर्नुको अर्थ प्रधानमन्त्री ओली नजिक हुनु र प्रेस चौतारी नेपालको अध्यक्ष हुनु बाहेक गोरू बेचेको साइनो पनि भेटिदैन। यसरी कुनै अर्थ अनि उपादेयता नभएको व्यक्तिलाई राष्ट्रपतिको भ्रमणदलमा सहभागी गराउनुलाई उचित भन्न सकिन्न।

अर्को कोणबाट भन्ने हो भने यो एक किसिमको लुटतन्त्र हो, भ्रष्टाचार हो। जब वैचारिक निकटताका आधारमा आफूलाई राज्यको चौथो अंगको सदस्य भन्ने र त्यस्ता सदस्यहरूको संस्थाको नेतृत्व गर्ने व्यक्ति नै राष्ट्रदोहन गर्ने यस्तो कर्ममा लाग्छन् भने त्यो आफैमा लाजको पसारो पनि हो। अनि यही स्थिति सिर्जना गर्नमा अप्रत्यक्ष रूपमा प्रधानमन्त्री पनि संलग्न हुन्छन् भने उनको भ्रष्टाचार विरोधी रटान हात्तीको देखाउँने दातजस्तो मात्र हुन्छ। प्रधानमन्त्रीले भन्लान् यो मैले गरेको हैन, एक किसिमले हेर्दा यो सही नै हो। तर, उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरू कसैलाई पनि गर्न नदिने भन्दै आएको सन्दर्भमा यस प्रकरणलाई हेर्नु वाञ्छनीय हुन्छ।

जब स्थिति यस्तो हुन्छ, तैपनि किन कलम चलाउँदैनन् पत्रकारहरू ? किन बोल्दैनन् भ्रष्टाचार विरोधी अभियन्ताहरू? किन मुखमा बुझो लगाउँछन् बाबुरामलाई कालो झण्डा देखाउने सदाचारीहरू? किन बोल्दैनन्  हुन त यसको कारण सूचनाको अभाव पनि हुन सक्छ किनकि उनी राष्ट्रपतिको भ्रमणदलमा लगायतमा पारेर नाम लुकाइएका सदस्य थिए। 

दु:दका साथ भन्नुपर्छ द्वैध चरित्र जहाँ रहेबसेका भए पनि हामी सबै नेपालीको डीएनएमै छ। आफ्नाका लागि जे पनि ठीक भन्ने हामी अर्काका लागि जे पनि बेठीक भन्न पछि पर्दैनौ। के राष्ट्रपति भ्रमणदलमा बस्नेत पर्नु ठीक हो? ल परे रे, राष्ट्रप्रमुख जस्तो व्यक्तिको भ्रमणदलको सदस्य भैसकेको प्रतिष्ठित व्यक्ति राष्ट्रप्रमुख फर्किसकेपछि पनि कात्तिक/चैत जस्तो फेरि लगाउँदै घुम्नु ठीक हो त? 

यदि कुनै आग्रह पूर्वाग्रह नराखी बोल्ने हो भने ठिक भन्न सकिदैन। 

तैपनि हामी किन बोल्दैनौ। यसकारण बोल्दैनौ कि बिराेधी पक्षसँग सूचना नै हुदैन। त्यसैले बोल्ने/लेख्ने कुरै भएन। पत्रकारसँग सूचना भए पनि सहधर्मीका बारेमा केही बोल्नै/लेख्नै भएन। त्यही विचार बोक्नहरूलाई जानकारी हुन्छ तर आफ्नाले जे गरे पनि ठीक भन्ने हर्कते बुद्धिका कारण पाहुना राख्नुपर्ने हुन्छ, लेख्ने/बोल्ने कुरै भएन।अझ यस प्रकरणमा त भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा आफूलाई चिनाउने हेम पाठक नै पुरानाे 'छलफल साइनो' जोडेर कुम जोडिरहेका छन्।उनले त भन्न सक्नु पर्थ्यो- 'राष्ट्रपतिको भ्रमणदलको सदस्य हुनुहुन्छ। इज्जतका लागि पनि सँगै फर्कनुहोस्। बरू पछि आउँनु होला।'त्यसो भनेनन्रा। यो दु:खलाग्दो कुरा हो।

धेरैलाई लाग्न सक्छ- आफूले पाएन अनि भन्यो। तर, जे लाई पनि यति सजिलै सामान्यीकरण गर्दै जाने हो भने बचेखुचेका बोल्नेहरू पनि अपमानित हुन्छन् र बोल्न छोड्छन्। जसले गर्दा समाजमा सबै संखमुलकै मुला भन्ने ब्राण्डिङ हुन्छ।यसरी क्रमश: सत्य स्खलित हुदै जाँदा समाजमा आदर्शको मृत्य हुन्छ। के हामी त्यस्तै समाजको सदस्य बन्नेतिर अग्रसर भैरहेकै हौ त?

कुनै बेला ऋषि धमलालाई प्रहरी हिरासतबाट छुटाएर अमेरिका भ्रमणमा आएकी थिइन् सुजाता कोइराला। त्यतिबेला परराष्ट्रमन्त्री रहेकी उनी पनि संयुक्त राष्ट्र संघकै कार्यक्रममा आउँन लागेकी थिइन्। धमलालाई लैजान नपाउँदा भ्रमण नै रद्द गर्ने धम्की दिएपछि एउटा संगीन अपराधको अनुसन्धानका क्रममा हिरासतमा रहेका धमलाविरूद्धको मुद्दा नै सरकारले फिर्ता लिएको थियो।

त्यसपछि मात्र उनी धमलासँगै अमेरिका उडेकी थिइन्।गणेशका समर्थकले यो प्रसंग थाहा पाए भन्ने भन्न सक्छन्- धमलाले गर्दा हुने बस्नेतले गर्दा नहुने? के यसो भनेर नराम्रो गर्नलाई प्रतिस्पर्धा गर्न उक्साउने हो त? हैन नि, यी दुबै गलत हुन् र हामीले गलत नै भन्न सक्नुपर्छ।

यस प्रकरणमा सत्य के हो भने यो भ्रमणदलमा गणेश पर्नुपर्ने व्यक्ति नै हैनन्। उनका लागि राष्ट्रले यस प्रयोजनका लागि डलरमा टिए/ डीए दिनुपर्ने, म्यानहट्टनको ह्यात होटलको महंगो बिल तिर्नुपर्ने कुनै कारण छैन। अझ राष्ट्रपति फर्किसकेपछि पनि त्यस्तो प्रतिष्ठित भ्रमणको सदस्य कात्तिक/चैत जस्तो 'फेरि लगाउँदै' अमेरिकामै घुमिरहनु त लाजमर्दो कुरा हो।

आवाज उठाउन सकिन्छ र कामना गर्न सकिन्छ-अब अर्को गणेशको यस्तो भ्रमण नहोस्। उनी नै जीवनभर महिला बिट नहेरे पनि सत्तारुढ दलका पत्रकारको नेता भएकै कारण राष्ट्रसंघमा आयोजित महिला सम्मेलनमा सहभागी हुन राष्ट्रपति भ्रमण दलको सदस्य बन्ने अन्तिम पत्रकार बनुन्। 

प्रकाशित मिति: : 2019-03-20 07:23:31

प्रतिकृया दिनुहोस्