उत्तर कोरियासँगको वार्ताले निरन्तरता पाउनेमा अमेरिका अझैं आशावादी

फोटो: सिएनएन

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङयाङसँगको वार्ताले निरन्तरता पाउनेमा वासिङ्टन अझै आशावादी रहेको बताएका छन।उनले अमेरिकी विदेश विभागमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो आशा राखेका  हुन् । 

शनिबार उत्तर कोरियाली नेता किमले अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएको केही घण्टामा अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

पोम्पेओले अगाडि भने 'म र मेरा उत्तर कोरियाली समकक्षी रि योङ होबीच ‘व्यावसायिक सम्वाद’ भएको छ र उक्त सम्वादले आगामी दिनमा कूटनीतिक छलफललाई थप अडाडि बढाउन सकिने अपेक्षा वासिङ्टनको छ।' तर, पोम्पेओले समकक्षीसँग भएका कुराकानीबारे बिस्तृत विवरण भने दिएनन।


उत्तर कोरियाले हालै भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भएको शिखर सम्मेलन असफल हुनुमा अमेरिकी पक्ष दोषी भएको आरोप लगाएको केही घण्टामै पोम्पेओको उक्त भनाइ आएको हो।

हनोइ सम्मेलनमा कुनै सहमति हुन नसकेपछि गत फेब्रअरी २८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वार्तामा ‘एक किसिमको रिक्तता’ देखिएको बताएका थिए। ट्रम्पका अनुसार नेता किमले प्योङयाङमाथि लगाइएका सबै प्रतिबन्ध हटाएमा मात्रै उत्तर कोरियालाई ‘ठूलो मात्रामा’ आणविक निशस्त्रीकरण गर्न सकिने बताएका थिए।

तर, उत्तर कोरियाली विदेशमन्त्री रिले भने नेता किमले प्रतिबन्धलाई आंशिकरूपमा हटाउन प्योङयाङको तर्फबाट प्रस्ताव लगेको बताएका थिए। उनका अनुसार उत्तर कोरियाली जनताको सहज दैनिकीमा समस्या पारेका प्रतिवन्ध हटाउने प्योङयाङको प्रस्ताव रहेको थियो।

नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिनु हुने बताइएको छ। उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको बताएका थिए।

प्रकाशित मिति: : 2019-03-17 02:25:21

प्रतिकृया दिनुहोस्