राष्ट्रपति ट्रम्पको भिटोमाथि मार्च २६मा संसदमा मतदान: होला त निस्तेज ?

तस्बिरः एपी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भिटोमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रन्जेटेटिभ्समा मार्च २६ मा मतदान हुने भएको छ। सभामुख न्यान्सी पेलोसीले मतदानको घोषणा गर्दै भनेकी छिन्- 'अझै पनि संसदको दुई-तिहाई बहुमतले भिटोलाई निस्तेज गर्ने सम्भावना सकिएको छैन। अमेरिकी जनता सुरक्षा चाहन्छन् तर त्यसका लागि पर्खाल चाहदैनन् भन्ने कुरा सांसदहरूलाई राम्ररी थाहा भएकाले उनीहरूले विवेकको मत प्रयोग गर्न सक्नेछन्।'

यसअघि आजै राष्ट्रपति ट्रम्पले जारी गरेको भिटो परीक्षणका लागि कंग्रेसमा पठाइएको थियो। अब त्यहाँ तल्लो र माथिल्लो सदनमा छुट्टाछुट्टै मतदान हुन्छ र त्यसको विपक्षमा दुई-तिहाई बहुमत नपुगे भिटोअनुसार नै अमेरिकामा राष्ट्रिय संकटकाल लाग्छ र अमेरिका-मेक्सिको सीमामा सुरक्षा पर्खाल निर्माण हुन्छ।

अमेरिकी कंग्रेसको अहिलेको अंकगणित हेर्दा दुबै सदनमा अमेरिका-मेक्सिको सीमामा सुरक्षा पर्खाल बनाउँनु हुदैन भन्ने पक्षमा स्पष्ट बहुमत देखिए पनि दुई-तिहाई बहुमत भने छैन। ४३५ सदस्यीय तल्लो सदन हाउस अफ रिप्रन्जेटेटिभ्समा अहिले ४३२ सांसद भएकोमा डेमोक्रेट २३५ छन् भने रिपब्लिकन मत १९७।अहिलेको अवस्थामा भिटो निस्तेज बनाउन २९० मत चाहिन्छ। त्यो भनेको सबै डेमोक्रेटले मतदान गरेर पनि थप ५५ जना रिपब्लिकन सांसदले मतदान गर्नुपर्ने हुन्छ। यसअघि राष्ट्रपतिको राष्ट्रिय संकटकाल घोषणाको विपक्षमा १३ जना रिपब्लिकन उभिदा प्रस्ताव २४५-१८२ ले पारित भएको थियो। अबको नयाँ परिस्थितिमा ती सबै सांसद भिटोको विपक्षमा उभिएलान् भन्न सकिने अवस्था पनि छैन, दुई-तिहाईको संख्या पुर्याउनु त धेरै टाढाको कुरा हो । तर, सभामुख न्यान्सी पेलोसीले भनेजस्तै राजनीति सम्भावनाहरूको खेल भएकाले असम्भव पनि छैन।

भिटोलाई निस्तेज गर्न तल्लो सदन हाउस अफ रिप्रन्जेटेटिभ्समा मात्र दुई तिहाईको बहुमत भएर मात्र पुग्दैन। माथिल्लो सदन सिनेटमा पनि दुई तिहाई बहुमत नै चाहिन्छ। १०० सदस्यीय सिनेटमा दुई-तिहाईका लागि ६७ मत चाहिन्छ। अहिले सिनेटमा दुई स्वतन्त्र र ४५ डेमोक्रेट गरी ४७ मत दलीय आधारमै भिटोको विपक्षमा रहेको छ। भिटो निस्तेज पार्न थप २० जना रिपब्लिकन सिनेटरको मत चाहिन्छ। यसअघि राष्ट्रिय संकटकालको विपक्षमा उभिएका १२ जना सिनेटर भिटोको विपक्षमा उभिए पनि थप ८ जना सिनेटर चाहिन्छ।यसअघि राष्ट्रपतिको राष्ट्रिय संकटकाल घोषणा सिनेटमा ५९-४१ को बहुमतद्वारा अस्वीकृत भएको थियो। रिपब्लिकन सिनेटरहरूको प्रोफाइल ह्रेर्दा अहिलेका लागि त्यस्तो चमत्कारिक सम्भावना देखिदैन।  

प्रस्तुत परिस्थितिमा राष्ट्रपति ट्रम्पको पहिलो भिटो निस्तेज हुने सम्भावना देखिदैन। यसको अर्थ अमेरिका-मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल लगाएरै भए पनि ट्रम्प पर्खाल खडा गरिने छ। यो राष्ट्रपति ट्रम्पको चुनावी प्रतिवद्धता हो। र, यो प्रतिवद्धता पूरा हुने भएकाले उनलाई आफ्ना समर्थकहरूमाझ सन् २०२० पुन: निर्वाचित हुन जानका लागि सजिलो भएको छ। तर, योसँगै रिपब्लिकन पार्टीमा विभाजन र वैमनष्य बढ्ने सम्भावना भएकाले उनलाई नोक्सान लाग्ने सम्भावन पनि ज्यूँकात्यू छ । 

प्रकाशित मिति: : 2019-03-16 10:01:20

प्रतिकृया दिनुहोस्