नेपाली विद्यार्थी र साईप्रसको सास्ती

फाइल तस्बिर: बिएल

युरोपियन युनियनमा रहेको तर सेनजेनमा नरहेको युरोपको सानो टापु देश हो, साईप्रस। जम्मा ९२५ वर्ग किलोमिटर क्षेत्रफल भएको। यसको उत्तरी सिमानामा टर्की, पश्चिममा ग्रीस, पूर्वमा लेवनान र सिरीया तथा दक्षिणी सिमानामा इजरायल र इजिप्ट पर्दछन्।

यस देशको पर्यटन र कृषी मुख्य आयस्रोत हो भने उद्योग यस तेस्रो प्रमुख आम्दानीको स्रोत हो।

साईप्रसमा युरो चल्दछ। सेनजेनमा नभएको हुनाले यस देशबाट अन्त जान भिषा लगाउनु पर्दछ। तर सेनेजेनका देशहरुको भिषा पाउन भने सहज छैन र पाइदैन पनि।

हाल साईप्रसमा धेरै नेपाली युवायुवती तथा विद्यार्थी भिसामा र औपीयर भिसामा आएका छन्। तर नेपालको एजेन्टको मिठो गफ र सुन्दर सपनामा साईप्रस आउने ९९५ विद्यार्थी दुखी छन्। उता औपीयरमा आउनेले पनि चर्को पैसा बुझाएर आएका हुन्छन्।

तर साइपर्समा सोचे जस्तै छैन। औपीयरको लागि पनि महिनाको बेसिक तलब ३१४ युरो हुन्छ। औपीयरमा आएकोभन्दा विद्यार्थी भिसामा आएकाको स्थिति खराब छ। साईप्रसमा २ वर्ष पहिला सन्जिब शर्मा नेपालको एक कन्सल्टेन्सीबाट साईप्रसको सिटी युनिटी ग्लोबल कलेजमा आए। एजेन्टले उनलाई १ घण्टामै साईप्रसको लागि सहमत गरायो। उनले त्यहाँ ६ लाख तिरे। दलालले साईप्रसलाई यो युरोपीयन देश हो। यहाँ युरो चल्दछ। १ सय कमाए नेपालमा १२ हजारभन्दा बढि हुन्छ। लागत सस्तो छ लगायत बढाइचढाइ गर्‍यो। त्यहाँबाट अन्य देशमा जान पाइन्छ भनेर उनको दिमाख भुट्यो। उनी साईप्रस आए। साईप्रस आउँदा विद्यार्थीको बेहाल थियो।

के छ विद्यार्थीको स्थिति साईप्रसमा?

एसियन मुलकका विद्यार्थीले पैसा तिरर आउने प्राय कलेजहरु विजनेस कलेज हुन्। ती मध्ये कासा कलेज, अमेरिकन कलेज, सिटी युनिटी लगायतका कलेजमा नेपालीको उल्लेख्य उपस्थिति छ भने साईप्रसको राजधानी निकोसिया नुफट लिमिजल, लर्नका सहरमा विद्यार्थी भिषामा आउनेहरु धेरै छन्।

हप्ताको २० घण्टा वर्क परमिट हुन्छ, विद्यार्थीलाई। तर काम पटक्कै पाइदैन। यदी पाइयो भने पनि घण्टाको ५ युरो र दिन भरिको २५ युरोभन्दा बढी पाइदैन।

विद्यार्थीहरु एकदुई बाहेक अन्यले काम गरेर कमाउनु त के आफ्नो खर्च चलाउन पनि धौधौ छ। कलेज फि, खाना, कोठा भाडा आदिको खर्च धान्नपनि निकै कठिन छ।

यदि साईप्रस छाडेर स्पेन, पोर्चुगल, इटाली या अन्य देशमा जाउँ भने पनि भिसा पाउन अति नै गाह्रो छ। त्यसैले यहाँ विद्यार्थी भिसामा आएका नेपालीले सास्ती बाहेक केही पाएका छैनन्।

कन्सल्टेन्सीले विद्यार्थीलाई साईप्रस पठाउन किन जोड गर्छन्?

साईप्रसमा नेपालबाट विद्यार्थी पठाउँदा दलाललाई मनग्य नाफा हुन्छ। नाफाको लागि जे सुकै गर्न तयार हुने व्यवस्थामा हामी छौं। सामान्यतया यहाँका कलेजहरुले २ हजार युरो फि लिन्छन्। तर तीनै कलेजले ३९ सयदेखी ४९ सय युरोसम्मको अफर लेटर बनाइदिन्छन्। जब विद्यार्थीले फि तिर्दछन् २ हजार बाहेक अन्य सबै पैसा कन्सल्ट्यान्सी या एजेन्ट को हो। भिसा सजिलै लाग्ने। कमिशन पनि राम्रो आउने भएकाले एजेन्टहरुले साईप्रस पठाउन जोड गर्दछन्।

अन्तयमा,

साईप्रस युरोपीयन देश भएपनि सेनजेन देश नभएकाले यहाँ नेपालीहरुको लागि अवसर अत्यन्त न्युन छ भने चुनौती र संघर्ष अत्यधिक। औपीयरमा आउनेको लागि पनि सुरुमा ३१४ युरो न्यूनतम तलब हो। विद्यार्थीमा आउनेलाई अत्यन्त गाह्रो छ।

काठमाडौंमा रहेका एजेन्ट र कन्सल्टान्सीको चिप्लो गफमा लागेर तपाईहरुलाई भ्रममा परेर साईप्रस नआएकै राम्रो हुन्छ। एजेन्टले आफ्नो कमिशन र नाफाको लागि मिठो कुरासँगै सुन्दर सपना देखाउने गर्दछन्। तीनै मिठा कुरा नै 'स्लो पोइजन' हुन। तसर्थ साईप्रस मात्र होइन कुनै पनि देश जाने योजना बनाउँदा त्यो देशमा बस्ने नेपाली,आफन्त साथीभाईसँग यथार्थ बुझेर मात्र जाने गरौं। नत्र नेपाली विद्यार्थीको साईप्रसमा जस्तै सास्ती सबैतिर पाउन बेर लाग्दैन।

प्रकाशित मिति: : 2019-12-04 20:09:50

प्रतिकृया दिनुहोस्