युरोपियन युनियनअन्तर्गत एक सेनजेन मुलुक पोर्चुगल प्रायः नेपालीको लागि सहज गन्तव्य हाे।
अन्य देशमा विद्यार्थीका रूपमा आएर होस् या वर्क परमिटमा वा भिजिट भिसामै आएर किन नहोस्। यहाँ आउनेको संख्या दिन प्रतिदिन बढ्दो छ।
यहाँ नेपाली आउनुको मुख्य आकर्षण-
आप्रवासीको लागि सहज नियम र काम गरेर ट्याक्स तिरेपछि सामान्य कागजपत्र बुझाए पछि कार्ड बन्नु।
कार्ड बनेपछि आफ्नो परिवारलाई पारिवारिक पुनर्मिलनमा ल्याउन पाउने अवस्था सिर्जना हुनु
कार्ड बनेको ५ वर्षपछि पासपोर्टको लागि आवेदनगर्न पाइने ब्यवस्था ।
पासपोर्ट पाएपछि युके, नर्वे, वेल्जियम, डेनमार्क, जर्मनलगायत देशमा गएर सेटल हुन पाउने।
संघर्ष नै संघर्षको पहाड
गाउँबाट सहर बसाइ सराईले सर्दा त ४/६ महीना कति असहज हुन्छ । यो त सात समुन्द्र पारी अर्को देश अर्को परिवेश अनि भाषा फरक त छँदै छ। तर, जे सोचेर यहाँ आएको हुन्छ त्यो यहाँ हुँदैन।
सुरूमा फिनान्स त जेनतन वनाइएला तर, सामाजिक सुरक्षा नम्बर सोसियल बनाउन उत्तिकै गाह्रो छ। त्यसपछि काम पाउन झनै गाह्रो।
आएको दुई वर्ष यहाँ समस्या र संघर्षको पहाड नै चढ्नु पर्छ। दिनमा हाँसे पनि रातमा रूने धेरै छन्। यहाँ आएर नरोएको कमै होलान्।
तर, संघर्षका पाईला अगाडि बढाउँदै गइयो भने यहाँ क्रमशः सहज छ। सरकारी तलब न्यूनतम ६०० युरो छ भने योभन्दा माथि आफ्नो सिप, क्षमताअनुसार नेपालीले दुई हजार युरोभन्दा माथि तलव खाएका छन्।
दर्जनभन्दा बढी ट्राभल एजेन्सी, दुई दर्जनभन्दा बढी रेस्टुरेन्ट, ४ दर्जनभन्दा बढी मिनीमार्केट, दर्जनभन्दा बढी होस्टल व्यवसाय गरेर आफ्नो व्यावसायमा सफलता कमाएका नेपाली पनि छन् यहाँ।
के हो समस्याको जड ?
पोर्चुगलमा सबैभन्दा बेथिति नेपाली खेती कम्पनीमा छ। यस्ता खेती कम्पनी चलाउने नेपालीले १५ लाखसम्म लिएर नेपालबाट सिजनेवल कामको वर्क परमिट भरेर मानिस ल्याउँछन्। जब उनीहरू यहाँ आइपुग्छन्, तब उनीहरूको कुनै वास्ता गरिदैन र उनीहरू अलपत्र पर्छन् ।
कसैलाई काम नै लगाइ दिए पनि उनीहरूले नेपालीको श्रम शोषण त गर्छन् नै, काम गरेको तलव माग्दा डरत्रास देखाउन पनि पछि पर्दैनन्।
पोर्चुगलमा मानिस सडकमा पुग्नुको आधारभूत र पहिलो कारण नै यही हो । यहीबाट उनीहरूको त्यस दिनदशाको यात्रा सुरू हुन्छ।
के हो सडकमा सुत्नेको वास्तविकता ?
पोर्चुगलको लिजवनमा दुई/चारजना नेपाली सडकमा नसुत्ने होईनन्, उनीहरू सडकमै सुतिरहेका छन् । यो घाम जत्तिकै छर्लङ्ग सत्य हो । तर, यो यहाँको अवस्थाले हैन, तिनीहरुको आफ्नै कुलतले हो।
सन् २०१४ को जुनमा पोर्चुगल आएका एक शाही थरका नेपाली युवा बढी नै गाँजा र रक्सी खान थाले। काम लगाईदिए पनि काममै गाँजा खाने, काम नगर्ने, पैसा भए वाईन खाने उनको दिनचर्या भयो। यस्तै खराब लतले उनलाई क्षयरोग (टीबी) भयो।
यहाँका केही नेपालीको सहयोगमा उपचार भयो र उनी निको पनि भए। तर, केही समयपछि नै फेरि उनी कुलतमै फर्किए। सडकमा माग्दै हिँड्न थालेको पनि दुई वर्ष भयो।
त्यस्तै अर्का दोलखाका एक र अन्य दुई गरी चार नेपाली अहिले पनि पोर्चुगलको सडकमै सुतिरहेका छन्, मागेरै खाइरहेका छन्। कुलतमा फसेर नै उनीहरू यो स्थितिमा पुगेका हुन्।
किन बिग्रन्छन् पोर्चुगलमा यसरी नेपाली ?
पोर्चुगलमा रक्सी, वाईन र वियर नेपालभन्दा सस्तो र सहजै पाइन्छ। गाँजा, चरेस पनि सस्तो र सहज रुपमा पाईन्छ। लत लागेकालाई यो चोरलाई भर्याङ जस्तो भयो।
अर्को कुरा नेपालबाट १५/२० लाख खर्च गरेर ऋण गरेर यहाँ आउँछन् आएर २/४ महिना काम हुँदैन। काम छैन खर्च बढ्दो छ। व्याजले धुरी नाग्यो। सहकारी ले तारन्तार गर्न थाल्छ। उपायकेही हुँदैन यहाँ कमाई छैन। आफन्त कोही छैन अनि मान्छे फ्रस्टेसनमा जान्छ तनाव मुक्त हुन एक युरोको एक लिटर वाईनबाट सुरू गर्छ। यसै कारणले नेपाली बिग्रन्छन् नेपाली मात्र होईन प्रायः आप्रवासी बिग्रन्छन्।
के छ संघ-संस्थाको भूमिका?
वाणिज्य दूतावास, एनआरएन यहाँका आधिकारिक निकाय हुन्। वाणिज्य दूतावासको काम शुल्क लिएर कागजपत्र ट्रान्सलेट गरिदिने फ्रान्सबाट नेपाली राजदूत आउँदा होस् वा नेपालबाट नेता र सरकारी उच्च अधिकारी आउँदा होस्, एयरपोर्टमा स्वागत, विदाई र पोर्चुगल घुमाउने कामबाहेक अरू केही छैन।
साथै वाणिज्य दूतावासको पक्ष र प्रशंसा गरेर सामाचार लेख्नेलाई बाहेक अरूलाई त्यहाँको पहुँच एकदमै टाढा छ।
हाल एनआरएन अध्यक्ष नै खेती कम्पनीका एजेन्ट हुन्। उनी नेपालीलाई खेतीमा काम लगाउने व्यवसाय गर्छन्। यो व्यवासयको प्रवृति नै त्यस्तै भएकाले उनीबाट नेपालीले सहयोग पाउँने भन्दा ठगिने क्रम नै बढी हुन्छ, भुक्तभोगीहरू यसै भन्छन् । एनआरएन पोर्चुगलका अरू पदाधिकारी काण्डैकाण्डमा मुछिएका छन्।
आसन र भाषण नै एनआरएनए पोर्चुगलको मुख्य सामाजिक कार्य हो।
पोर्चुगल कस्तो छ?
नेपालकै जस्तो हावापानी भएको कृषि र पर्यटन मुख्य आयश्रोत भएको सुन्दर देश हो पोर्चुगल।
संघ-संस्थामा लागेर बाहिर देखिएकाभन्दा भित्रभित्रै नदेखिकन प्रगति गरेकाहरू नै बढी सहयोगी छन् ।
सडकमा बास बस्ने एक नेपालीलाई एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष कुवेर कार्कीले आफ्नै पहलमा नेपाल पठाए।
बाटोमा माग्दै हिँड्ने अर्का तेजस्वी शाहीलाई पनि उनले नेपाल पठाउन धेरै प्रयास गरे। अझै पनि उनी नेपाल पठाउन र उद्दार गर्न सबैतिर पहल गरिरहेकै भेटिन्छन्।
त्यस्तै दोलखाका खड्कालाई पनि व्यावसायी सोम सेर्पाले केही महीना आफैंसँग राखेर उद्दारको प्रयास गरे। अहिले उनी निको भएपनि यदाकदा पोर्चुगलका सडका भौतारिरहेकै भेटिन्छन्।
पोर्चुगलमा प्रचार कम काम बढी गर्ने पनि कम छैनन्।
यहाँका नेपालीले कमाएका नहोलान्।तर, दु:खी पनि छैनन्।
....र, अन्त्यमा
कमाइको हिसाबमा पोर्चुगल धेरै पछि छ। नेपालमा १०/१२ लाख खर्च गरेर पोर्चुगल नआएकै राम्रो।
आफन्त छन्, आत्मीय छन्, आफ्नो मनखाने नातागोता, इस्टमित्र छन् र उनीहरु पनि यहाँ सेटल भएका छन् भने उनीहरूको परामर्शमा आउनु ठीक होला। नत्र, यहाँ दलालको चिल्ला कुरा र सयकडा २ प्रतिशत व्याजमा ऋण काढेर कोही पनि पोर्चुगल नआएकै राम्रो।
यहाँ आएर कार्ड बनाउन त गाह्रो छैन। तर, कमाएर बचाउन भने गाह्रो छ, ऋण तिर्न त धेरै टाढाको कुरा हुन्छ।
भाषा र सिप भएकोलाई सहज भयपनि सुरूमा आउँनेलाई र आफन्त नहुनेलाई २/३ वर्ष निक्कै गाह्रो छ। गाह्रो छ भन्दैमा रोड र सडकमा बास बस्नु पर्दैन, यो चाँहि पक्का हो।