इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अलब–ग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ ।
अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए । उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन् ।
टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अलब–ग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत् पुष्टि गरेका छन् । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ ।
उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ । टर्कीका एक अधिकारीले अवादलाई सूचनाको खानी भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन् ।
उनले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल–बग्दादीकी दिदीको गिरफ्तारीले 'आईएसका आन्तरिक गतिविधि'बारे थाहा पाउन सघाउन सक्छ । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल–बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन ।