अनुहार बिनाको बच्चा जन्मिएको भन्दै डाक्टर निलम्बित

सांकेतिक तस्बिर

हेलचक्य्राइँको आरोप लागेपछि पोर्चुगलमा एकजना प्रसुतीसम्बन्धी डाक्टर निलम्बनमा परेका छन्।नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि डाक्टर आर्तर कारभालोलाई निलम्बन गरेको हो।

बीबीसीका अनुसार राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा नाक, आँखा र टाउकोको भाग बिना नै रोड्रिगो नामक शिशुको ७ अक्टोबरमा जन्म भएको थियो।

रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन्।

तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन्।

त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको 'फाइभ डी' अल्ट्रासाउण्ड गराएकी थिइन्।

उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो। तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए।पछि असामान्य स्वास्थ्य अवस्थासहित रोड्रिगो जन्मिने स्पष्ट भएपछि केही घन्टामात्रै उनी बाँच्ने बताइएको थियो।

तर, दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन्।

उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ।तर,डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित मिति: : 2019-10-25 11:16:59

प्रतिकृया दिनुहोस्