बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले बेलायत छोड्ने सम्भावना बढ्दैछ । उनीहरू दक्षिण अफ्रिका जाने तयारी गरिरहेको ह्यारी निकट एक समाचार स्रोतले जनाएको छ ।
अमेरिकी अभिनेत्री मेघनसँग विवाह गरेयता राजकुमार ह्यारी तनावग्रस्त जीवन बिताइरहेका छन् ।
उनकी श्रीमती राजकुमारी मेगनसँग उनकी भाउजु क्याथराइनको खटपट बढेपछि त्यही खटपट अहिले बेलायती राजपरिवारको टाउको दुखाइ भएको छ । त्यो खटपट बढ्दै गएर दाजुभाइ बिलियम र ह्यारीबिचको बेलचाल पनि बन्द भएको छ । मेघन र क्याथराइनबीच त वाकयुद्ध नै जारी छ ।
राजकुमार ह्यारी उनकी श्रीमती मेगनले आइटिभीलाई दिएको एक अन्तर्वार्तापछि बेलायती राजघरानाको यो समस्या निकै जटिल भइसकेको अरू पुष्टि भएको छ ।
मेगनले आफू गम्भीर डिप्रेसनमा गएर मरेतुल्य जीवन बिताइरहेको बताएकी छिन् ।
उनले बेलायती ट्याब्लाइड र राजपरिवारकै केही सदस्यको निशानामा परेर यो अवस्था सिर्जना भएको बताएकी छिन् ।
म आफ्नो परिवार बचाउन जुनसुकै कदम चाल्न पनि तयार छु । म आफ्नी आमाको नियति दोहोरिन नदिन प्रतिवद्ध छु ।
-राजकुमार ह्यारी
यसैबीच राजकुमार ह्यारीले आफ्नो परिवार बचाउन जुनसुकै कदम चाल्न पनि आफू तयार रहेको बताएका छन् । उनले आफ्नी आमाको नियति दोहोरिन नदिन आफू प्रतिवद्ध रहेको बताएका छन् ।
उनको यो भनाइले उनी देश र राजकुमार छोड्न पनि तयार रहेको संकेत गर्छ ।
ह्यारी र मेगनको अन्तर्वार्ता बाहिरिएपछि उनीहरूप्रति बेलायती जनताको सहानुभूति बढेको छ । उनीहरूले यसका लागि राजकुमार बिलियम र उनकी पत्नी क्याथराइन पनि जिम्मेवार रहेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
यो स्थितिलाई अरू खराब हुन नदिन राजकुमार विलियम लागिपरेको बताइएको छ । उनले भाइ ह्यारी र बुहारी मेगनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको बताइएको छ ।
उता, ह्यारीले दाजु र आफ्नो मार्ग फरक भए पनि दाजुको लागि आफू सदैव उपलव्ध हुने बताएका छन् र उनले दाजुबाट पनि त्यही अपेक्षा राखेको बताएका छन् । उनले आमा डायनाको दु:खद निधनतिर संकेत गर्दै एक भावुक भनाइ पनि बाहिर ल्याएका छन् । उनले भनेका छन्- विलियम र मैले जीवनमा धेरै उतारचढाव सँगसँगै भोगेका छौं ।