रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

सांकेतिक तस्बिर

रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ ।

गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो । एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ गरिएको छ ।

रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूर पूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ । पक्राउ परेका माझीहरुबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ ।

गत साता, एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो । जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ । जुलाईमा उत्तर कोरियाले १५ जना रुसी सहित एक माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: : 2019-09-27 14:07:13

प्रतिकृया दिनुहोस्