ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए ।
कार्यक्रमको सुरुआत अतिथी तोबी र नेपाली राजदूत शर्मिला पराजुली ढकालले संयुक्त रुपमा केक काटेर सुरुआत गरेका थिए । समारोहलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगीकार गरेको उल्लेख गर्दै नेपालको संविधान निमार्ण पश्चात मुलुक विकासको गतिमा हिडेको बताएकी थिइन् । उनले भनिन्- 'नयाँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन सहित विकासका योजनाहरुले प्राथमिकताका आधारमा काम सुचारु गर्न थालेको छ ।'
साथै उनले नेपालको राजनैतिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक, तथा पर्यटन क्षेत्रको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै सबैलाई एक पटक नेपाल घुम्न आउन समेत आग्रह गरेकि थिइन् ।
कार्यक्रममा ओमनी गायक हैथाम मोहम्मद रफी, ग्रिक ओमनी गायक दनायी पाछीयाननाकीले नेपाली गीत प्रस्तुत गरेका थिए । नेपाली समुदायको तर्फबाट समेत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ओमानका उच्च सरकारी अधिकारीहरुका साथै अन्य मुलुकका कुटनैतिक नियोगका प्रमुखहरु, ओमानमा क्रियाशिल रहेका संचार माध्यमका प्रतिनिधिहरु, उद्यमी, व्यवसायी तथा पर्यटनसंग सम्वन्धित व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिहरु,सहित ओमानमा सक्रिय रहेका सम्पुर्ण नेपाली संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेको थियो ।
हेर्नुस् फोटोहरु