ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले संसद नै निलम्बन गरिदिएपछि ब्रिटिस जनता सडकमा आएका छन् ।
बुधवार लन्डनमा हजारौ मानिस सडकमा आएर विरोध प्रदर्शन गरेका छन् । सडकमा आउनेमा त्यहाँका सांसद तथा तथा अभियानकर्मी पनि रेहका छन् । उनीहरूले संसद निलम्बनबाट ब्रेक्जिटसँग जोडिएका विषयमा छलफल गर्न थोरै मात्रै समय मिल्ने बताउँदै यसबाट सही समाधान ननिस्कने जनाएका छन् ।
संसद् निलम्बन गर्ने निर्णयविरुद्ध लाखौँ मानिसको हस्ताक्षर पनि सङ्कलन गरिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटिस प्रधानमन्त्री जोनसनको समर्थन गर्दै ट्विटरमा सन्देश लेखेका छन् । उनले जोनसनविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षी नेतालाई कठिन हुने टिप्पणी पनि गरेका छन्।
तर, प्रधानमन्त्री बोरिस जोनसनले भने आफ्नो निर्णयको बचाउ गर्दै अक्टोबर ३१ तारिखको समयसीमाअघि नै ब्रेक्जिटबारे छलफल गर्न पर्याप्त समय हुने बताएका छन् । उनले अक्टोबरको अन्त्यमा एउटा सम्झौतासहित ईयूबाट बाहिरिन चाहे पनि त्यो सम्भव नभएमा सहमतिबिनै भए पनि छोड्न आफू इच्छुक रहेको बताए।
यसैबीच विपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनले संसद्मा कानुन पारित गर्न पर्याप्त समय नछोडी सम्झौताबिना नै ब्रेक्जिट छोड्नका लागि यसो गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री जोनसनले ब्रिटेनको प्रजातन्त्रमाथि प्रहार गरेको भन्दै सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने पनि बताए।
उनले संसद निलम्बन रोक्ने प्रयास गर्ने बताउँदै यसमा सबैको सहयोग र साथको अपेक्षा पनि गरेका छन् ।