'बेलायती ट्रम्प'द्वारा पाँचसाताका लागि ब्रिटिस संसद निलम्बन

अति दक्षिणपन्थी ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसोन - संसद नै निलम्बन गरेर अगाडि बढ्दै । फाइल तस्बिर : एजेन्सी

प्रजातन्त्रको जननी मानिने बेलायतमा संसद नै निलम्बन गरिएको छ । अति दक्षिणपन्थी प्रधानमन्त्री बोरिस जोनसनको सिफारिसमा पाँच साताका लागि संसद निलम्बित भएको हो ।

सामान्यत: सेप्टेमबर १ तारिख सुरू हुने ब्रिटिस संसद यसपटक अक्टोबर १४ बाट मात्र सुरू हुने छ । 

ब्रेक्जिट प्रक्रियाका लागि संसदले आवश्यक तयारी नगरोस् भनेर नै प्रधानमन्त्री जोनसनले नियोजित रूपमा संसद निलम्बन गराएको उनका आलोचकहरूले बताएका छन् ।बेलायत इयुबाट बाहिरिने समयसीमा अक्टोबर ३१ लाई तोकिएको छ । 

जसरी भए पनि बेलायतलाई युरोपियन युनियनबाट बाहिर ल्याउने शर्तमा जोनसन केही समयअघि प्रधानमन्त्री भएका हुन् । तर, यही ब्रेक्जिटको अल्झनले उनलाई पनि पूर्ववर्ति टेरिजा मेलाई जस्तै सत्ताबाहिर ल्याउन सक्ने अंकगणित बेलायतमा देखिदै छ । त्यसैबाट बच्नका लागि उनले संसद निलम्बन गराएको बताइएको छ । तर, उनका पक्षधरले भने ब्रेक्जिट सहजीकरणका लागि यसो गरिएको भनेर निर्णयको वचाउ गरेका छन् ।

बेलायतमा संसद् स्थगन भएको बेलामा कुनै बहस र मतदान हुँदैनन् । संसद्‍बाट पारित हुन नसकेका धेरैजसो विधेयक यो बेला निष्क्रिय हुने प्रचलन छ । 

 

प्रकाशित मिति: : 2019-08-29 07:17:54

प्रतिकृया दिनुहोस्