फ्रान्समा बोनापार्ट शासन साम्राज्यलाई पतन गराउने पत्रकार एभान सालमोन । उनी मानिसबाट पत्रकार अनि पत्रकारबाट ढलौटको मूर्ति बनिसकेका छन् । तर, अहिले उनको प्रजनन अंग मुसारेर आमा बन्ने फ्रेन्च महिलाहरूको सपना देख्दा लाग्दा चाँडै नै उनी फ्रान्सको सन्तानेश्वर महादेव हुनेछन् । तर, त्यसका लागि भने आउने दशक कुर्नैपर्ला ।
फ्रान्सको राजधानी पेरिसको पूर्वमा एक बिशाल चिहानडाँडा छ । पेयर लाशेज’ को नामले चिनिन्छ त्यो चिहानडाँडा ।
यहाँभित्र बहुतै हिँस्रक तरिकाले मारिएका एक निर्दोष २२ बर्षे पत्रकारको समाधिस्थल पनि छ । यो समाधिमाथि एक शालिक छ जसले यस चिहान डाँडामा रहेका ७० हजार चिहानभन्दा फरक इतिहास बोकेको छ ।
यी पत्रकारको नाउँ हो- एभान सालमोन । जो खासगरी भिक्टर न्वारको नामले प्रसिद्द छन् ।यी पत्रकारको इतिहास ट्विस्ट हुँदै जाँदा बर्तमानमा उनलाई हेर्ने नजरमै शतप्रतिशत फरकपन आइसकेको छ ।
अघिल्लो साता म यो सालिक हेर्न पुगेकी थिएँ । मिनेट मिनेटको अन्तरालमा घुमन्तेको सानो या ठूलो समुह यो शालिक हेर्न आइपुग्दो रहेछ । घुमन्तेलाई घुमाइदिने गाइडले एकै दिन सयौँ मानिसको भिडमा यो शालिकको प्रचार गर्ने रहेछन् । यसको प्रचार यति ब्यापक हुँदै रहेछ कि आउँदा केही बर्षमै यसले लोभलाग्ने गरी पर्यटक भेट्ने क्रममा रहेछ ।
पाठकहरुलाई म आजभन्दा झन्डै १५० बर्ष पहिला फ्रान्सको राजधानी पेरिस पुर्याउँछु । जुन बेला फ्रान्समा स्वघोषित सम्राट नेपोलियन बोनापार्टका भतिज लुइस बोनापार्टले शासन गर्थे । उनका भतिजा र भतिजी राजघरानाका सम्पन्न राजकुमार र राजकुमारी भनेर चिनिन्थे । शासन सत्तामा उनीहरूको पनि हालिमुहाली थियो ।
फ्रान्सका अन्तिम राजा लुइ सोह्रौँलाई गिलोटिनमा कटाएपछि एकछत्र शासन गर्ने नेपोलियन बोनापार्ट भन्थे, ‘हजार हतियारधारी सेनाभन्दा बिपक्षीका ४ पत्रिका शक्तिशाली हुन्छन् ।‘ मिडियाको मनोबैज्ञानिक सन्त्रासले बोनापार्ट परिवार कहिल्यै अछुतो रहेन ।
फ्रान्सेली राज परिवार एकपछि अर्को गर्दै ध्वस्त पारेपछि फ्रान्समा लगभग ७० बर्ष एकछत्र शासन गर्यो बोनापार्ट परिवारले । बोनापार्ट परिवारको अन्तिम शासक थिए- लुइस नेपोलियन बोनापार्ट ।
यो परिवारको एक छत्र शासन समाप्त पारिदिए- यिनै पत्रकार भिक्टर न्वारले । जो उतिबेला प्रकाशित हुने ला मार्सेइएज पत्रिकामा जोडिन आइपुगेका थिए ।स्विजरल्यान्ड सीमा नजिकैको फ्रान्सेली गाउँ ‘आतिग्नि’ मा बुबाको घडी बनाउने ब्यवसायबाट दिक्क भएर उनी पेरिस छिरेका थिए ।
ला मार्सेइएज बोनापार्टको शासन बिरोधी थियो र हरबखत गणतन्त्रको वकालत गर्थ्यो । हाम्रा कवि गोपालप्रसाद रिमालले लेखेका छन्, ‘एक जुगमा एक दिन एक पटक आउँछ, उलट पुलट उथल उथल हेरफेर ल्याउँछ ।’ उनले फ्रान्समा त्यही हेरफेर ल्याएर छाडे ।
आजभन्दा एक सय ७१ बर्ष अगाडिको जनावरी महिनाको एक चिसो बिहान । सम्राट लुइस बोनापार्टका भतिजा राजकुमार पियर बोनापार्टका बारेमा ला मार्सेइएज पत्रिकामा एक ब्यग्य प्रकाशित भयो ।
पियर बोनापार्टलाई यो ब्यंग्य बिल्कुल सैह्य भएन । उनले बिबादलाई साम्य पारौँ भन्दै पत्रिकाका सम्पादक पास्काल ग्रुसेलाई पेरिस नजिकै रहेको आफ्नो आवासगृहमा बोलाए । राजकुमारलाई भेट्नका लागि केही मिनेट ढिला गरी पत्रिकाका सम्पादक ग्रुसे र एभान दरबारमा पुगे ।
सम्पादक ग्रुसेले अर्को एक साथिलाई पनि बोलाएका थिए । उनी दरवारमुन्तिर साथी कुरी बसे । एभानलाई भने माथि राजकुमारको कक्षमा पठाए । एभान राजकुमारको बैठक कक्षमा प्रबेश गरे ।
केही मिनेटपछि पत्रिकाका सम्पादक पनि आइपुगे । बादबिबाद बढ्दै गयो । एभानलाई आफ्नो कक्षमा पठाएर पत्रिकाका सम्पादक ग्रुसेले अपमान गरेको आरोप पियर बोनापार्टले लगाए ।
गोजीबाट पेस्तोल निकालेर ६ गोली दागे । रोक्ने कोही भएन । उनले हानेको गोलीले एभानको छाती छेड्यो । ग्रुसे भागे । पत्रकार एभान राजकुमारको बैठकमा रगतको आहालमा डुवे । केही घण्टापछि उनको देह त्याग भयो ।
यी मारिएका २२ बर्षे तन्नेरी पत्रकारको भोलिपल्ट बिबाह हुदैथियो ।
सोच्दै नसोचेको कुरा घटेपछि सम्राट लुइस नेपोलियन बोनापार्टलाई आपत पर्यो । मृत्युको दुई दिनपछि पत्रकारको शवलाई सकेसम्म हल्लाखल्ला नगरिकन समाधिस्थल लैजाने निर्णय भयो ।
उनको शव मारिएको शहर नजिकैको बुर्जुवाहरुको बस्ती रहेको ‘नइ’ भन्ने शहरको चिहानघारीमा गाडियो । यो शहर आजपर्यन्त रिपब्लिकनले चुनाब जित्ने बुर्जुवाको गढ हो ।
उसबेलाको सरकार सकेसम्म हल्लाखल्ला नगरी शान्तमार्गको प्रयोग गरेर उनको शब गाड्न चाहन्थ्यो तर उनको शवयात्रामा लाखौ मानिस जम्मा भए। सोच्दै नसोचेको जनसागर सडकामा उर्लियो । शवयात्रा हिँसात्मक आन्दोलनमा परिणत भयो । आन्दोनलकारीको उग्रबिरोध मत्थर पार्न लुइस बोनापार्टले आफ्नै भतिजा राजकुमार पियर बोनापार्टलाई पक्राउ गर्न लगाए । पक्राउ परेको केही दिनमै राजकुमार रिहा भए । यसले मानिसमा झन उत्तेजना पैदा गर्यो र आन्दोलन उत्कट चरणमा पुग्यो ।
पत्रकार मारिएको आठ महिनामै फ्रान्समा नेपोलियन बोनापार्टको साम्राज्य पतन भयो । मारिएका पत्रकारले देशको महान शहीद र स्वतन्त्रताका प्रतिमूर्तिको उपमा पाए ।
बोनापार्टको पतनपछि सत्तामा आएको गणतान्त्रिक सरकारले उनी मारिएको १५ बर्षपछि उनलाई राष्ट्रिय सम्मान दियो । उनको समाधिस्थलमा बचेखुचेका हड्डीहरु जम्मा गरिवरी पेरिसको पेयर लाशेजको चिहानडाँडामा दोस्रो समाधिस्थल बनाएर सारियो । यतिले मात्र पुगेन पेरिस नगरपालिकाले समेत भिक्टर न्वारको सम्मानमा एक शालिक बनाउने निर्णय गर्यो र प्रतिस्पर्धामा भाग लिन सालिक निर्माणकर्तालाई आग्रह गर्यो ।
प्रतिस्पर्धापछि त्यो कालका प्रख्यात ढलोट मूर्तिकार ‘जुल दालु’ले यो कामको जिम्मा पाए । बिबाहअगाडि माया प्रेम र यौनको अनुभूति गर्न नपाई मरेको एक २२ बर्षे ठिटोको मूर्ति उनले शरिरका आन्तरिक अंग पनि देखिने र छात्तिमा गोलीको निशान पनि देखिनेगरी बनाइदिए । बिबाहका दिन लगाइने भब्य ड्रेस-अप चुच्चेजुत्ता र त्यो बेला बिबाहमा प्रयोग हुने गोलाकार टोपमा पत्रकारलाई सजाइदिए । ओठ खुला र अनुहारमा शान्त भाव झल्काइदिए ।
यो मूर्तिको अर्को विशेषता के छ भने उनको पाइन्टको बटन खुलेको छ र उनको यौनाङ्कोग डोब पाइन्टभित्र प्रष्ट देखिन्छ । उनको ढलेटो मूर्तिको सूरक्षा होस् भनेर पहिला पहिला समाधिस्थल वरपर बार लगाइएको थियो तर यो बार अचेल फ्याँकिएको छ । उनको शवमा रहेको टोपमा जो कोही फ्यानले आजसम्म पनि मन परेको फूल चढाउन सक्छ ।
अघिल्लो हप्ता शालिक हेर्न जाँदा मैले केही समय शालिकको साथ बिताएँ । जो पनि मानिस सालिक अगाडि पुग्छ एकछिन शिरदेखि पाउसम्म टक्क रोकिएर अवलोकन गर्दोरहेछ । अलि लामो समय लिनेले ओठमा चुम्बन गर्दो रहेछ । छातिको गोलीको दाग छुँदोरहेछ । अनि शालिकको प्रजनन अंग मुसार्दो रहेछ र अन्त्यमा पाउ छोएर अरु समाधिस्थल हेर्न जाँदो रहेछ ।
गाइडहरु नेपोलियनको बैठककक्षमा गोली लागेको दृश्य बहुतै रोचक र कारुणिक तरिकाले ब्याख्या गरेर सुनाउँदा रहेछन् । उनीहरु आजपर्यन्त पनि यी पत्रकारलाई गणतन्त्रका प्रतिविम्वका रूपमा ब्याख्या गर्दा रहेछन् ।
स्वतन्त्रता सेनानी यी पत्रकार आजको जमानामा भने अर्कै तरिकाले चिनिन थालेका रहेछन् । मैलेँ माथि नै उल्लेख गरेँ यिनी बिबाहको अघिल्लो दिन मारिएका थिए ।
उनको मृत्यूमा हल्का ट्विस्ट मूर्तिकार जुलले ल्याइदिए । माया, प्रेम र यौनको अनुभूति गर्न नपाइ भनौँ कोट-पाइन्टका बटन मात्र होइन, हातका पन्जा समेत खोल्न नपाइ उनी मारिएको मूर्ती बनाइदिए । यसरी मारिएका पत्रकारको सालिकलाई १९६० को युगपछि फ्रान्समा थप अर्को ट्विस्ट दिइयो ।
यो पनि पढ्नुस्
पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी भन्छिन: चीनमा रातारात कट्टु सिलाइयो (भिडियो रिपोर्ट)
६० को दशकमा युरोपमा अनेका खालका स्वतन्त्रताको वकालत हुन्थ्यो । यही वकालतमा पर्थ्यो यौन उदारता ! फ्रान्समा यो सालिकलाई सेक्स सिम्बोलको रुपमा ब्याख्या गर्न थालियो र उनको प्रजनन अंग मुसार्न थालियो । हुँदाहुँदा अचेल सन्तान नभएका महिलाले यिनको प्रजनन अंग मुसार्यो भने सन्तान हुन्छ भनी हावा फैलाइएको छ । गर्भवती हुनुपूर्व पत्रकारको यौन अंग छोएर गएका गर्भवती महिला उनलाई पुन: छुन आउने कुरा गाइडको ब्याख्यामा मैले सुनेँ । यति मात्र नभै दुखको अर्को कथा पनि सँगै छ कतिपय बेला यिनको सालिकसंगका अशोभनीय तस्विर इन्टरनेट र पत्रपत्रिकामा प्रकाशित हुन्छन् जुन हामी सहजरुपले हेर्न सक्दैनौँ ।
फ्रान्समा बोनापार्ट शासन साम्राज्यलाई पतन गराउने पत्रकार एभान सालमोन । उनी मानिसबाट पत्रकार अनि पत्रकारबाट ढलौटको मूर्ति बनिसकेका छन् । तर, अहिले उनको प्रजनन अंग मुसारेर आमा बन्ने फ्रेन्च महिलाको सपना देख्दा लाग्छ चाँडै नै उनी 'फ्रान्सको सन्तानेश्वर महादेव' हुनेछन् । तर, त्यसका लागि भने आउँने दशक कुर्नैपर्ला ।