अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबी । नैरोबी छेउछाउको झुपडपट्टिको गरिखाने सामान्य परिवार । नैरोबीको गरिबीको आहालमा पौडी खेल्दै हुर्किएका माइना अल्फ्रेड स्विट्जरल्याण्डको जेनेभामा ट्याक्सी चलाउँछन् । ट्याक्सीमा उनले दुईचित्र राखेका छन् । वायुपुत्र हनुमान र भगवान श्रीकृष्णको । प्रोटेष्टेन्ट क्रिश्चियन परिवारमा जन्मिएर सोही रीतपूर्वक हुर्किएका उनी कसरी हनुमान र श्रीकृष्णको भक्त भए त ?
यो भक्तिका पछाडि भारतीय च्यानलहरुमा आउँने टेलिभिजनको ठूलो प्रभाव छ । केन्या ब्रिटिश साम्राज्यको उपनिवेशमा रहेको अंग्रेजी र स्थानीय बोलचाली भएको देश हो । ब्यापारको सिलसिलामा केन्यामा ठूलो संख्यामा भारतीयहरु पुगे । भारतीयहरुले मसला पुर्याए । कटनका कपडा पुर्याए । सँगसँगै हिन्दू धर्म पनि पुर्याए । हलहरुमा हिन्दी चलचित्र पुर्याए । अँग्रेजीमा र स्थानीय रैथानेको बोलीचालीको भाषामा उल्था गरिएका महाभारत र रामायणका कथा अल्फ्रेडको झुग्गीमा पनि पुगे ।
भर्खर ३२ वर्ष पुगेका अल्फ्रेडको घरमा टेलिभिजन थिएन । बाबु-आमा दिनभर काम गरेर बेलुकीको गुजारा चलाउँथे । उनी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्थे, जहाँ हप्ताको एकदिन रामायण र महाभारत आउँथ्यो । आफ्नै भाषामा ।
४०-५० जना केटाकेटीको हुलमा सबै चुपचाप सुन्थे । जब भगवान श्रीकृष्णलाई नागले बेर्थ्यो, केटाकेटीहरु रुन्थे । उनी पनि धेरैपटक रोएका छन् । अल्फ्रेडले सुनाए- 'वासुदेवले कृष्ण जन्मेपछि उनको ज्यान बचाउन नदीमा टाउकोमाथि कृष्णलाई राखेर जाँदा म सबैभन्दा रोएको थिएँ। वासुदेव डुबिसके । अब कृष्ण मर्ने भए । नदीले बगाउने भयो भनेर म खुबै रोएको थिएँ ।' तर, उनले नदी छोएपछि नदी स्वाट्टै घट्यो । एकपटक सर्पले बेर्दा पनि मेरो सातोपुत्लो उडेको थियो । मार्ने भयो सर्पले भनेको, मारेन नि ।
उनी र उनका साथीहरुलाई हनुमान जस्तै शुरविर बन्ने खुप सौख थियो रामायण हेरिसकेपछि । पहाड उचालिएला झैँ लाग्थ्यो । तिलस्मी कथाका रोमान्चक क्षणहरु सुनाउँदै गर्दा उनी भावुक भए । उनले अर्काको दुख गर्दागर्दै बितेका बाबु सम्झिए ।
उनलाई याद रहेछ गीतामा श्रीकृष्णले भनेको कुरा । काम गर्नु तर फलको आशा नगर्नु । काम गर्दै गएपछि एकदिन फल अवश्य प्राप्त हुने छ । इमान्दार भएर काम गरेरै मैले मेरो जीवनमा सुधार ल्याएको हुँ भनेर उनले आफ्ना साथीहरु सम्झिए । जसले कुलतमा लागेर जीवन बर्बाद पारेका थिए । एकएक गर्दै टेलीभिजन हेर्ने साथीहरु सम्झिए कोही बैँकमा जागिरे भएछन् । कोही मास्टर । सबैको राम्रै भएको रहेछ । झूपडपट्टिमा यति हुनु पनि ठूलो कुरा हो । किनभने त्यहाँ जीवनका सम्भावनाहरु निकै थोरै हुन्छन् ।
अल्फ्रेडका छोराछोरीले रामायण र महाभारतका कथामा रुचि नदिएको देख्दा उनलाई कसरी सिकाउने होला भन्ने लागिरहेको छ । अब घरमै बोलिने स्थानीय भाषामा उनीहरुलाई कथा सुनाउनेछु र भारतीयले जेनेभामा खोलेको गणेश मन्दिरमा भजन सुनाउन लानेछु । भजन सुने भने उनीहरुको ध्यान तानिएला कि ?
तिलस्मी कथाले होइन, ज्ञानको तेश्रो आँखो खोलिदिएको मान्छन् उनको जीवनमा गीता र रामायणले । उनले दुवै पुस्तक अँग्रेजी भाषामा पढेका पनि छन् । कथाको लागि विभिन्न सन्दर्भ जोडिएपनि भन्न खोजिएको आशयले उनलाई बडो रोमान्चक बनाउँदो रहेछ ।
गलत प्रवृत्तिका विरुद्ध परिवारमै भएपनि, काम गर्ने अड्डामै भएपनि जहाँ भएपनि विद्रोह गर्नुपर्छ भनेर हिन्दू धर्मग्रन्थमै लेखिएको छ । रामायण र महाभारतबाट उनले सिकेको महत्वपूर्ण कुरा नैतिक नियम रहेछ । मनपरी गर्दै हिँड्ने धेरै मेरा साथीका परिवार बिग्रिएका छन् । घरमा अशान्ति छ । दिनहुँ लडेर बसेका छन् । म मेरो अनुशासनमा प्रतिबद्ध छु । मेरी श्रीमती र मेरो बीचमा सधै समझदारी हुन्छ । सानोतिनो कुरामा छलफल भएपछि हामीबीच अविश्वास छैन । अनि त गृहस्थ राम्रै चलेको छ । दुव्यर्सनमा लागेको छैन । घरमा बूढीआमालाई महिना महिनामा पैसा पठाइराख्छु । आमाको ऋण तिरेर त नसकुँला तैपनि उनको पाकेट खर्च कम हुन दिएको छैन ।
अल्फ्रेडका छोराछोरीले रामायण र महाभारतका कथामा रुचि नदिएको देख्दा उनलाई कसरी सिकाउने होला भन्ने लागिरहेको छ । खालि लडाइँ र पब्जिका खेलमा भुल्छन् । अब घरमै बोलिने स्थानीय भाषामा उनीहरुलाई कथा सुनाउनेछु र भारतीयले जेनेभामा खोलेको गणेश मन्दिरमा भजन सुनाउन लानेछु । भजन सुने भने उनीहरुको ध्यान तानिएला कि ? ठट्यौलो पारामा विदाइ हुँदै उनले भने- 'श्रीराम श्रीराम। जय वजरंग बली !'