बेलायतमा बोरिस जोनसनले बुधबारदेखि औपचारिक रूपमा नयाँ प्रधानमन्त्रीको कार्यभार सुरू गर्ने भएका छन् । बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयासँगको भेटमा पाएको नयाँ सरकार गठनको निम्तो स्वीकार गरेर फर्केपछि उनले यस्तो जानकारी दिएका हुन् ।
टेन डाउनिंग स्ट्रिटबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको बताए।
आगामी ३१ अक्टोबरभित्र यूकेलाई युरोपेली संघबाट अलग बनाउने एजेण्डा लिएर चुनाव जितेका उनले त्यसमा आफूलाई सफलता मिल्ने विश्वास मात्र व्यक्त गरे तर निश्चिन्त भने हुन सकेनन् ।
युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने दाबी गर्न भने छोडेनन् ।
कट्टरपन्थी टोरी नेता जोनसनका लागि अवको बाटो सजिलो छैन । उनले आफ्नै पार्टीका विभिन्न लबी र गुटलाई एकसाथ लिएर अक्टोबर ३१ सम्ममा ब्रिटेनलाई ब्रेक्जिट गराउनु छ ।
यसैबीच बुधवार नै प्रधानमन्त्री मेले प्रधानमन्त्री कार्यालय डाउनिंग स्ट्रिटमा बिदाइ मन्तव्य दिए महारानीलाई भेटेर राजीनामा दिइसकेकी छिन् ।
ब्रिटेनको ट्रम्प भनिने जोन्सनमा अमेरिकामा जन्मिएका हुन् । बेलायतमा पढाइपछि पत्रकार हुदै राजनीतिमा होमिएका उनी यसअघि दुई कार्यकाल लण्डको मेयर भएका थिए । पछिल्लोपटक टोरी सत्तामा आएपछि मे को नेतृत्वमा विदेशमन्त्री रहेका उनी ब्रेजिक्टमा सम्बन्धमा फरक मत राख्दै सरकारबाट बाहिरिएका थिए । अन्तत: त्यही फरक मतले उनलाई ब्रिटेनको प्रधानमन्त्रीसम्मको यात्रा गराएको छ।