साइप्रसमा एकजना नेपाली महिलाको समेत हत्या गर्ने सिरियल किलर सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई जन्मकैदको फैसला गरिएको छ । उनले पाँच महिला र तिनका दुई नानीको समेत हत्या गरेकाले सात हत्याका लागि सातवटै जन्मकैद गरिएको छ ।
सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ को अगष्टसम्म भएका यी हत्यामा संलग्न ३५ वर्षीय मेटाक्सासले फैसलापूर्व सबै अपराध स्वीकार गरेका थिए। उनले आफूले यो सबै किन गरें ? त्यसको जवाफ आफूसँग पनि नभएको बताए । अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनायो। उनलाई हरेक हत्याका लागि २५ वर्षका दरले सात हत्याका लागि १७५ वर्षको सजाय सुनाइएको थियो ।
यो घटनाका कारण त्यहाँका प्रहरी प्रमुख बर्खास्त गरिएका थिए भने कानूनमन्त्रीले राजिनामा दिएका थिए ।
मेटाक्सासले हत्या गरिएकी नेपाली युवतीको नाम अस्मिता खड्का बिष्ट रहेको बताइएको छ । ३० वर्षीया विष्ट घरायसी कामदारका रूपमा साइप्रस गएकी थिइन्।
स्थानीय सञ्चारमाध्यम केन्यूजका अनुसार उनलाई सन् २०१८ को जुलाईमा अन्तिमपटक देखिएको जनाएका छन् । त्यतिबेला उनलाई निकोसियामा एउटा सेतो कारमा चढेको देखिएको थियो।
गत वर्ष नै उनी आफ्नो काम छोडेर नयाँ कामको खोजीमा निस्केको उनलाई काम उपलब्ध गराएको एजेन्सीले बताएको छ । उसले त्यसको जानकारी अध्यागमन विभागलाई गराएको बताएको छ ।
विष्ट कसरी हराइनन् भन्ने स्पष्ट नभए पनि केन्युजका अनुसार मेटाक्सासले उनलाई पनि काम खोजिदिने प्रलोभन देखाएर आफ्नो कब्जामा लिएको हुनसक्ने जनाएको छ ।
बिस्ट हराएपछि उनका साथीहरूले साइप्रसस्थित नेपाली कन्सुलेटलाई त्यसको जानकारी दिएका थिए ।
मेटाक्सास पक्राउ परिसकेपछि अनुसन्धानका क्रममा उनले एक नेपाली वा भारतीय महिलालाई पनि मारेको बताए। गत एप्रिल २५ मा सेनाले तारो हान्ने अभ्यास गर्ने एउटा दुर्गम स्थानमा अस्थिपञ्जर र अन्य अवशेष फेला पारेको थियो ।
अनुसन्धानकर्ताहरूले त्यो अस्थिपञ्जर बिष्टको भएको बताएका थिए ।