बेलायतमा जुलाई २२ मा को बन्ला मेको उत्तराधिकारी- जोन्सन कि जाभिद ?

टोरी नेताका लागि चुनावी दौडमा रहेका आंकाक्षीहरू । तस्बिर : एजेन्सी

बेलायती प्रधानमन्त्री टेरेजा मेको उत्तराधिकारीका लागि १० टोरी नेता चुनावी मैदानमा उत्रिएका छन् । प्रधानमन्त्री टेरेजा मेले जुन ७ मा राजीनामा दिएपछि टोरी नेताका लागि दौड सुरु भएको हो ।

पार्टीको १९२२ कमिटीले दलको नेतृत्वका लागि इच्छुक नेताले मंगलबारसम्म नाम दर्ताका लागि समय दिएको थियो । तोकिएको समयसम्ममा १० टोरी नेताले नाम दर्ता गरेका हुन् ।

नाम दर्ता गर्ने अघिल्लो पंक्तिमा मार्क हार्पर, साजिद जाभिद, बोरिस जोन्सन, एन्ड्रिया लिडसम, इस्थर म्याकभी, रोरी स्टेवार्ट रहेका थिए भने पछिल्लो पंक्तिमा जेरेमी हन्ट, डोमिनिक राब, म्याट हानकक र माइकल गोभले नाम दर्ता गराएका छन् ।

बेलायतको टोरी राजनीतिलाई नजिकबाट बुझेका राजनीतिक पण्डितहरू प्रतिस्पर्धा पूर्वविदेशमन्त्री बोरिस जोन्सन र गृहमन्त्री साजिद जाभिदबीच नै हुने भविष्यवाणी गरेका छन् । जोन्सन गरमपन्थी हुन् भने जाभिद तुलनात्मक रूपमा नरमपन्थी मानिन्छन् । जोन्सनले आगामी अक्टोबर ३१ भित्र बेलायतलाई युरोपेली संघबाट बाहिर गरिसक्नुपर्ने धारणा राखेका छन् भने जाभिदले आप्रवसी तथा अन्तर्राष्ट्रिय विद्यार्थीको पक्षमा केही लचिलो विचार सार्वजनिक गरेका छन् ।

प्रतिस्पर्धामा रहेका १० नेतामध्ये पार्टीका तीयसय १३ मध्ये बहुमत सांसदको समर्थन जुटाउने नेता अन्तिम प्रतिस्पर्धामा चुनिन्छन् । तीमध्ये एकलाई एक लाख २४ हजार कन्जरभेटिभका सदस्यले मतदानमार्फत दलको नेता चयन गर्ने छन् । 

टोरीद्वारा सार्वजनिक गरिएको चुनावी कार्यक्रमअनुसार जुन १३ गते प्रथम चरणको मतदान हुने छ । त्यसैगरी, १८ देखि २० जुनभित्र अन्तिम दुई प्रतिस्पर्धीको नाम सार्वजनिक गरिने छ  भने जुन २२ देखि पार्टीमा मतदान सुरु हुने र जुलाई २२ मा टोरी नेताको घोषणा गरिने छ । 

 
युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे मेले गतवर्ष पेस गरेको सम्झौता बेलायती संसदले ३ पटक अस्वीकार गरेपछि प्रधानमन्त्री टेरिजा मेले जुन ७ मा पदबाट राजिनामा दिएकी हुन् । अहिले उनी कामचलाउ प्रधानमन्त्री रहेकी छिन् । जुलाई २२ मा चुनिने टोरी नेता उनको उत्तराधिकारी हुनेछन् । 

प्रकाशित मिति: : 2019-06-13 00:29:10

प्रतिकृया दिनुहोस्