ढुक्कसँग पाँच वर्ष सरकार चलाउने प्रधानमन्त्री ओलीको भनाइ

स्विटरजरल्याण्डको जेनेभामा प्रधानमन्त्री ओली । तस्बिर : लक्ष्मण देवकोटा

भारतीय प्रधानमन्त्रीको निम्तोमा दिल्ली गएका बेला नेपालमा प्रचण्डसँग गरिएको भनिएको समझदारीपत्र सार्वजनिक भएर विवादमा रहेको आलोपालो चलाउने कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले पाँचवर्ष ढुक्क चलाएर विकास र समृद्धि ल्याएर देखाउने जिम्मेवारीबाट नउम्किने बताएर खण्डन गरिदिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकी समारोहमा सम्बोधन गर्नु अघिल्लो साँझ नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'यसो एकपटक सरकारमा पुगौँ । केही समय हेरौँ भनेर अलमलिने सरकार होइन यो । पाँच वर्ष भित्रै विकास र उन्नतितर्फ लैजाने अभिभारा यो सरकारले बोकेको छ । हामीहरु त्यो प्रतिवद्धता पूरा गरेरै छाड्छौँ ।'

कार्यक्रममा बीएल नेपालीको एक प्रश्नको जिज्ञासालाई  नेकपा स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छर्लँगैँ पारिदिए । उनले भने, 'ढुक्क हुनुस् । यो सरकार ५ वर्षसम्म चल्छ । प्रधानमन्त्रीज्यूको भनाइको तात्पर्य पनि त्यही हो ।'

प्रचण्डले सार्वजानिक गरेको पत्रको सन्दर्भमा उनको टिप्पणी थियो, 'उहाँको आफ्नै शैली छ । प्रचण्ड नभएको भए यतिका बहुमतका साथ कम्युनिष्टहरुको सरकार हुने थिएन । तर, उहाँका केही विशिष्ट शैली छन् । हामीहरुले त्यसलाई बुझ्दछौँ । हामीहरु जनताले दिएको जिम्मेवारीबाट भाग्नै कुरै आउँदैन । त्यो जिम्मेवारी पूरा गरेर जवाफदेही हुनु हाम्रो दायित्व हो । हामी ढुक्क ५ वर्ष चलाउँछौँ । यसमा कुनै शँका छैन ।'

आफै पड्काउँदै सकिँदै गरेका विप्लवको के कुरा गर्नु ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै गतिविधिले विप्लव सकिदै गएको बताएका छन् । स्विट्जरल्याण्डमा भेला भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई नेकपा अध्यक्षको हैसियतले निर्देशन दिने क्रममा उनले विप्लवको आलोचना गरेका छन् । विप्लवको विद्रोह सफल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, 'आफै पड्काउँदै सकिँदै गरेका विप्लवको के कुरा गर्नु ?'

प्रधानमन्त्री ओलीले कार्यकर्तालाई प्रशिक्षण दिनुअघि नेपाली दूतावासले स्विसबासी नेपालीसँग प्रधानमन्त्रीको सम्बोधनमा बोलेको कुरा कार्यकर्तालाई पनि दोहोर्याए । उनले भने, 'यो सरकार पाँच वर्षसम्म चल्छ । त्यत्रा शहीदहरुको बलिदानीबाट इतिहासमा आएको जिम्मेबारीबाट हामी कसरी भाग्नसक्छौँ ?'

प्रकाशित मिति: : 2019-06-11 01:35:10

प्रतिकृया दिनुहोस्