बेलायती स्थानीय निर्वाचन: कन्जर्भेटिभ पार्टीलाई क्षति

तस्बिरः एजेन्सी

बेलायती हजारौँ मतदाताले स्थानीय निर्वाचनमा यहाँका दुई मुख्य राजनीतिक दललाई अपेक्षित मत नदिएर सजाय दिएका छन् ।

उनीहरूलाई यूरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयलाई समाधान गरेर अघि बढ्न नसक्दा उक्त नतिजाको सामना गर्नुपरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

स्थानीय निर्वाचनमा मतदाताहरूले सत्ताधारी उदारवादी समूहका नगर तथा शहरी क्षेत्रका सयौं काउन्सिलरलाई पराजित गराएका छन्, जसलाई विश्लेषकहरूले ब्रेक्जिट बिषयलाई सल्टाउन असफल हुननै मुख्य कारण बताएका छन् ।

तर मुख्य प्रतिपक्षी लेबर पार्टीले पनि ब्रेक्जिटमा सत्ताधारी दलसँग समन्वय गरेर अघि बढ्न नसकेको कारण मतदाताबाट तीतो जवाफको सामना गर्नु परेको छ ।

शुक्रबार गनिएको मत अनुसार दुबै दललाई अनपेक्षित मत परिणाम आउने पक्का पक्कीजस्तो देखिएको छ । पछिल्लो नतिजा अनुसार कन्जर्भेटिभ पार्टीका यस अघि कब्जामा रहेका ४०० सीट गुमेका छन् भने लेबर पार्टीका करिब ९० सीट गुमेका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा बेलायती राजनीतिमा यस पहिले तेस्रो स्थानमा रहेको लिबरल डेमोक्रेट्सले करिब ३०० सीटमा विजय हाँसिल गरेका छन् । यो दुई ठूला दलले गुमाएका सीटबाट आएको नतिजा भएको सञ्चारमाध्यमले जनाएका छन् ।

कन्जर्भेटिभ पार्टीका अध्यक्ष ब्रान्डन लेविसले मत गणनाको बिहीबारको रात एउटा जटील रात बनेको बताएका छन्।

‘हामीले यो वर्ष कन्जर्भेटिभ दलका लागि कठीन वर्ष रहने अपेक्षा त गरेका नै थियौं। तर, ब्रेक्जिटको नतिजाबाट जनतामा अत्यधिक निराशा छाएको महशुस प्रारम्भिक मत परिणामबाट महशुस भएको छ,’ उनले भने, ‘सत्ताधारी तथा प्रतिपक्षी दललाई यो एक स्पष्ट सन्देश भएको छ कि ब्रेक्जिटलाई छिट्टै टुङ्ग्याउनुपर्छ।’

लिबरल डेमोक्रेट्सका प्रवक्ता तथा वेस्टमिनिस्टरबाट प्रतिनिधित्व गर्ने सांसद एद डाभेले नतिजाबारे भने, ‘नतिजा आश्चर्यजनक देखिएको र हामी यसको मुल्याङ्कनसहित जनतामा छिट्टै जानेछौँ ।’

प्रकाशित मिति: : 2019-05-04 00:22:38

प्रतिकृया दिनुहोस्