यहाँ के छ? के छैन?

बिएल

यहाँ विद्वानहरू छन्
बुद्धिमानहरू छैनन्
यहाँ बलवानहरू छन्
साहसीहरू छैनन्!

यहाँ पुरूषहरू छन्
तर पुरूषार्थीहरू छैनन्
दाजुभाईहरू छन्
तर भातृत्वप्रेम छैन्!

नेताहरू छन्
नेतृत्व छैन
सेनाहरू छन्
कमाण्डरहरू छैनन्!

लेखक साहित्यकारहरू छन्
लेख्नुपर्ने कुरा लेख्नै सक्तैनन्
पाठकहरू छन् पढनै सक्तैनन्
पढनेहरूले अँ भन्नै सक्तैनन्!

वीरहरू छन वीरत्व छैन
गोर्खाहरू छन्, गोर्खेपनै छैन
धनाढ्यहरू छन्, मनै छैन
मनकारीहरूसँग धनै छैन!

आत्मा छ,आत्मीयता छैन
भाईहरू छन् ,भरोसा छैन
आशाहरू छन्, विश्वास छैन
भाषाहरू छन्, भाषाप्रेमी छैनन्!

पहाड छ हाड छैन
हरियाली छ ,खुसियाली छैन
आँशुको सागरै छ,पानीको थोपा छैन
मनमा आगो छ, चुल्हो बलेकै छैन!

 

–सिलगढी, चम्पासरी
पश्चिम बंगाल, दार्जिलिंङ 

प्रकाशित मिति: : 2019-11-23 14:45:49

प्रतिकृया दिनुहोस्