१.दुःखद अवसान
त्यसवेला हरिमाया सवै गाउँलेहरुको हाई हाई थिइन्। हरिमाया दिदी भनेपछि सबैजना आदर गर्थे। पतिको निधनपछि दान–धर्म, समाजसेवा आदि उनको कार्यसूचिमा पर्दथ्यो। उनीमाथि गाउँका असहाय, अपाङ्ग गरीब–निमुखाहरुको भरोरा थियो। उनलाई सबैले ईश्वरको साक्षात रुप मान्दथे।
समयक्रममा शहर पढ्न गएको उनको एकमात्र साहारा छोरो रसिकलाई नराम्रो रोगले गाँज्यो। भएभरको जेथा बेचेर उपचार गर्दा पनि केही उपाय चलेन। आखिर उनको मृत्यु भयो। यस घटनाबाट हरिमाया विक्षिप्त भईन्। उनको व्यवहार, चालचलन आदिमा अस्वभाविक परिर्वतन आयो।
समाजकै लागि समय अर्पण गर्ने हरिमायाले यस घडीमा कसैबाट सहायता त परै जाओस् सहानुभूति समेत पाइनन्। त्यसपछिका दिनहरु उनले शहरका सडकपेटीमा बिताउन थालिन्। मानसिक रुपले अस्वस्थ उनलाई पाल, बोक्सी आदि यस्तै उपमाहरु दिन्थे अरुले।
काम विशेषले म गाउँवाट शहर आएकि थिएँ। पुस, माघको समय थियो। सिरेटोको प्रहारले मुटु कामिरहेको थियो। सडकपेटीमा मान्छेहरुको भीड देखेपछि पाइलाहरु भीडतर्फ बढाएँ। त्यहाँ पुगेपछि थाहा भयो बिचरी हरिमायाले राति नै प्राण त्याग गरिन्। उनको दुःखद् अवसानमा दुइथोपा आँसु खसाउँने कोही थिएन।
२.सामाजिक नियति
एउटी अर्धबैसे आइमाई कराउँदै थिइन्—म कसको घरमा पस्नुपर्ने हो, यो समाजले नै बसालोस्, एउटा घरबाट निकालेपछि अर्को कुन घरमा कर्म गर्नु पर्ने हो गराओस्, ठीक छ, म यो समाजको अगाडि दोषि हुँला मेरो आमासामु म दोषि छैनन्, म आफूलाई कहिल्यै दोषि ठान्ने छैन। अर्धबैसेको आवाजसँगै टोलभरिका आइमाई, केटाकेटी, बूढाबूढी, युवायुवति एकैछिनमा चौटारोमा जम्मा भए।
त्यही भीडबाट एउटी सेतै कपाल फुलेकी,नाकमा बुलाकी लगाएकी, घाँटीमा सुन र मुगा एकै ठाउँमा भएको माला लगाएकी बृद्धाले औला ठड्याउँदै बोलिन्— हेरहेर कस्ती लाज नभएकी नकच्चरी यस्तीले हो यो समाज भाँड्ने, यसलाई त गाउँबाट निकाला गर्नुपर्छ, यस्ले हाम्रा छोरी चेलीहरुलाई पनि बिगार्ने भ. . . . . .इ. . . .।
बृद्धाको स्वर बीचमै रोकियो।
कारण— सामुन्ने उनकै भु.पू. लोग्ने, छोराछोरी साथमै उभिरहेको देखियो।
३. मेरो कथा
जीवनजी तपाईसँग एउटा कुरो छ।
आफ्नै सुरमा हिडिरहँदा अचानक आएको आवाजले झस्केर पछाडि फर्कन्छु – साथी रत्न रहेछ।
– के कुरा भनु न त।
– हिजो असीम बाजेसँग भेट भएको थियो, उहाँ तिमीलाई खोज्दै हुनुहुन्थ्यो।
– के को लागि होला सोधेनौ त ?
– उसको बाँकी कथाको पाण्डुलिपी तिमीले लेखेका रहेछौ नि ! मलाई पनि देखाउनु भएको थियो। कतिपय ठाउँमा सच्याउनु भएको रहेछ। उहाँ भन्दै हुनुहुन्थ्यो – नभएको कुरा लेखेर।
–के गर्नु मैले भोगेको होइन, उहाँले भोगेका कुराहरु लेख्दा मैले गलत अर्थमा बुझेँ होला। मैले जानी जानी गल्ती गरेको चाहीँ होइन। अरुको मनको कुरा कहाँ जस्ताको तस्तै लेख्न सकिन्छ त।
– जे होस तिम्रो दोश्रो संग्रह पनि चर्चित होस्–शुभकामना भन्दै रत्न आफ्नो बाटो लागे।
२०६५/५/२३
४. क्षितिजको भन्ज्याङ
बर्षा एकदमै छ, पानी झमझम परेको पर्यै छ। झरी नै परेको छ। धेरै दिन भयो आकाश खुल्न सकेको छैन। स्कुले स–साना नानीहरु केही प्लाष्टिक ओढेर कोही छाता ओढेर कुद्दै छन्। कोही कोह भने पानी पर्दा पनि न प्लाष्टिक, न छाता खाली दौड्दै छन् भिज्दै भिज्दै....।
म कौशीमा बसेर चियाउँदै छु। पारि क्षितिजको भन्ज्याङ हेर्न खोज्छु, अहँ हेर्न दिदैनन्–यी आँखाहरुलाई कुहिराले।
केही समयको अन्तरालपछि हट्यो कुहिरो, हेर्छु नाङ्गो आँखाले–सोचमा देखिन्छन्–हरियाली बारीहरु, रसिला पाखाहरु, यौवना रुखहरु.........।
भन्ज्याङलाई फेरि कुहिराले ढाक्यो–आँखा होइन मन।
५. नखोजिएको आधार
मलाई अदालत उभ्याईयो।
तपाईले किन अध्यादेश जलाउनु भयो ?
जलाएको हैन।
तब के जल्यो त ?
बेकानून्।
आधार ?
आधार खोज्ने काम मेरो हैन, तपाईँहरुको हो।
परिसरमा शून्यता। निस्तब्धता छायो। लगत्तै हट्यो।
आधार नहुनाले हामीलाई धेरै दुःख दियो। हामीलाई पटक्कै सहेन। के मात्र गरेन ...... खै कसले खोज्यो यी कुराहरुको आधार ?
................................
त्यसैले अध्यादेश जलाएको कुरा म स्वीकार गर्दिनँ।
श्रीमान् अपराधीले कहिले पनि अपराध स्वीकार गर्दैन। सब प्रमाण पेश गरिएका छन्। त्यसैले.........बमोजिम सजाय पाउनुपर्छ।
अपराधीले सजाय पाउनुपर्छ। ठीक छ तर मलाई पनि के विश्वास दिनुपर्छ भने कानूनले पनि सजाय पाउनुपर्छ।
किन ?
मेरो सजायको बदलामा....।