कविताः
ओ कवि,
मलाई तिमी र तिम्रो कविता
असाध्यै मन प¥यो
तिमी कवि,
आराम गर्ने अँध्यारो रात
तिम्रो कविता,
घाम उदाएको उर्जाशील बिहान
मलाई थाहा छ,
यहाँ मान्छेहरु कवि भनेर
उडाउँछन् तिमीलाई
तर बहुत प्रेम गर्छन् तिम्रो कवितालाई
यस जगतमा
प्रेम र घृणा भन्ने कुरा पनि
मान्छेले मान्छेलाई नै गर्ने रहेछ
बुझ्यो भने त
न कोही तिम्रो हो
न तिमी नै कसैको हौ
मान्यौ भने सबै तिम्रा हुन्
यसर्थमा म पनि तिम्रो हुँ
बरु सुन न कवि,
पहिलो पटक
तिम्रै कविताले हल्लिएको थियो
मेरो कोमल मुटु पनि ।
मलाई हेर्नु छैन
पर्दा पछाडिको तिम्रो विराट स्वरुप
घामले आफूलाई जूनसँग दाँजेर
म तिमी भन्दा तातो छु कहिल्यै भन्दैन
रगतले सिँदुरे घाम देखाएर
म यो भन्दा रातो छु पनि भन्दैन
भो नपठाउ तिमी
कुनै दशी प्रमाणहरु
अब त मलाई
तिम्रो परिचयको
शृङखलामा
हराउन
पटक्कै रुची छैन ।
बस् यति था’छ
तिमी एक सुन्दर कवि हौ
कविता तिम्रो सुगन्ध हो,
जसको सुवासमा लट्ठिएपछि
संसार बिर्सिन्छु म
सायद यही हो सच्चिदानन्द ।
आकाशमा फुलेका जून–तारा भन्दा
सुन्दर लाग्छन् मलाई तिम्रा शब्दहरु
बगैंचामा फूलको सुवास भन्दा
मीठा लाग्छन् तिम्रा भावहरु
तिमी मान्छे जो, जे भए पनि
तिम्रा पद र प्रतिष्ठाले
तिमी जति नै पुरिए पनि
खास फरक पर्दैन मलाई
नामको अघिल्तिर झुन्डिने
विशेषणहरू त झन् जे सुकै होउन्
मेरा लागि त तिमी
केवल कवि हौ, मात्र प्रिय कवि ।
ओ कवि,
मेरा निम्ति तिमीसँग
तिम्रो कविताभन्दा विशाल आकाश छैन
तिम्रो कविताभन्दा ठूलो
मेरो मनको फाँट छैन
छ त केवल
तिम्रै कविता पिउने
र तिम्रै कवितामा जिउने रहर ।
हो कवि,
म तिम्रो कवितालाई
धारिलो इश्र्या र बेहद प्रेम
एकैसाथ गर्छु
अन्यथा नसम्झ कवि
मलाई तिमी र तिम्रो कविता
साँच्चै मन प¥यो ।
हेर त कवि
तिम्रै कविताले
म मातेको बेला
पत्तै नपाइ मेरो मन
तिम्रो काव्यिक धनीपुर्जाको
चारकिल्लामा कैद भएछ ।