समृद्ध नेपालको मेरो सपना

तस्बिरः बिएल

ए ! मेरो देशको शासक

अग्ला अग्ला गगनचुम्बी महलहरू

फराकिला सडक र त्यसमाथि गुड्ने महङ्गा गाडीहरू

मोनोरेल, भव्य सुपरमार्केट र स्मार्ट सिटी

सुविधा सम्पन्न अस्पताल अनि वातानुकुलित तारे होटलहरू

‌जादूको छडीले जिन्दगी बदलिदिने मीठा तर झूटा आश्वासनहरु

सायद यस्तै केही होलान् तिम्रो समृद्ध नेपालको परिकल्पना

तर अर्कै छ मेरो समृद्धिको परिभाषा

 

बालुवा र सिमेन्टमा आफ्नो रगतपसिना घोलेर

बडेमानको अत्याधुनिक महल ठड्याउनेहरुले

अभावको ओत लागेर जिन्दगी काट्नु नपरोस्

दिनरात आफ्नो जिन्दगी थोत्र्याउँदै

नयाँ सडक बनाउनेहरुको सानातिना सपना

ठालुहरुको विलासीको गाडीले किचिमिची नबनाओस्

 

रुघाखोकीको इलाजमा विदेश जाने

ए मेरो देशको मन्त्री ज्यू

डाक्टरले जाँचेको फिस बुझाउन

भएको एक टुक्रा लालपुर्जा नै बन्धकी राख्नुपर्ने

 चाहिदैन मेरो औकातले नभ्याउने अस्पताल पनि

सिटामोल नपाएर

अस्पतालको अनुहार नै नदेखेर

झाडापखालाको हुरीमा परेर

जिन्दगीको राजीनामापत्रमा कसैले ल्याप्चे ठोक्नु नपरोस्

 

मुटु कमाउने हिउँदे रातमा

केही मुठ्ठीभर मानिसहरु

गर्माउने मेसिन अगाडि बसेर मदिरामस्त भइरहेको बेला

शीतलहरको सिकार कोही हुनु नपरोस्

समाजसेवाको नाउँ कमाउन

कसैले कसैलाई भिखारी बनाएर

दयाको कम्बल बाँडेको देख्नु नपरोस्

 

जनताले तिरेको करले

तारे होटेलमा आयोजित बफे डिनरमा

कथित मान्यजनले फ्यालेको खाना देखेर

अनाथ बनाइएका बालबालिकाले घुटुघुटु थुक निल्नु नपरोस्

 

बेरोजगारीको कोर्रा सहन नसकेर

बाँझो छाडेर पुर्खाको सुन फल्ने जमीन

खाडीको मरुभूमि आँशुले भिजाउन

कुनै नेपालीको सन्तानले जानू नपरोस्

रगत बेचेर रहर किन्न नपाउँदै

रातो बाकसमा कफिन भएर फर्किनु नपरोस्

कहिल्यै नजन्मिऊन आफैंलाई बेच्न बाध्य हुने लाहुरेहरु

 

छोरी भएर जन्मिनु परेकोमा

कुनै निर्मलाहरुले पछुताउनु नपरोस्

अस्मिता लुटेर मारिएकी छोरीलाई न्याय माग्दै

कुनै बाउआमाले हुनु नपरोस् डिप्रेसनको शिकार

न्यायको घाँटी कदापि ननिचोरियोस्

समानताको नारा संविधानमा मात्रै घोक्नु नपरोस्

 

सबै नेपालीको मुहारमा फुलून्

खुशीका राताम्मे लालुपातेहरु

सधैंभरि गलामा खुलुन्

कहिल्यै नओइलाउने प्रेमका मखमली मालाहरु

हृदयको खेतका गह्रागह्रामा झूलुन

आत्मसन्तोषका अमूल्य सुनका बालाहरु

फगत सपना देखेर नट्टाउन आखाहरु

विपनाको बगैंचामा बयली खेलुन्

बतासको लयमा प्रत्येक नेपालीका स्वप्न सरगमहरु.....

प्रकाशित मिति: : 2019-05-07 09:04:05

प्रतिकृया दिनुहोस्