बूढानीलकण्ठको विष्णुद्वार र डाँडागाउँ पुगे जेसुम यात्रीहरू

बीएल

विहानको उज्यालो घर्किँदै थियो तर काठमाडौको मौसम फरासिलो थिएन। शिवपुरी जङ्गलको छेउमा अवस्थित बूढानीलकण्ठ उसै त शीतल ठाउँ, झन् बादलले ढाकेपछि त हप्प रिसाइरहेझैं देखिन्थ्यो पहाड।मौसमको धुमिलतालाई जेसुम यात्राका जाँगरिला तन्नेरीले चुनौति दिए सिर्जनामा र त मौसमले पानी पारेन।बरू सिर्जनाको रसले भिज्यो बूढानीलकण्ठको पहाड।

बिहानको धमिलो मौसममा पनि ७ः३० बजेदेखि नै बूढानीलकण्ठ, नारायण मन्दिरमा एक–एक गर्दै थपिँदै गए जेसुम यात्रीहरू। साथ र हौसला दिन आइपुगे सोही क्षेत्रका प्रदेशसभा सांसद दीपक निरौला, बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का अध्यक्ष बिजय तामाङ्ग र स्थानीय सामाजिक अभियन्ता तथा सनातन धर्म सेवा समाजका अध्यक्ष विकास तामाङ्ग। करिब दुई दर्जन चित्रकार तथा साहित्यकारको यो उत्साहित हुललाई यात्राको कामना गर्दै नारायणस्थान मन्दिर प्राङ्गणबाट बिदाई गरे प्रदेशसभा सदस्यसहित उपस्थित स्थानीयले ।

आजको यात्रा एैतिहासिक बूढानीलकण्ठ मन्दिरबाट जाम्छेन बिजया स्तुपा हुँदै विष्णुद्वार र डाँडागाउँसम्मको हुने संक्षिप्त जानकारी अभियानकी संयोजक कवि अनिता लामाले बताइन्। जाम्छेन स्तुपा बुद्धको शान्ति ध्वनि तरङ्गित गर्दै बूढानीलकण्ठको उत्तरतर्फ रहेको चिसिनी डाँडामा अवस्थित छ। बूढानीलकण्ठ नगरपालिका वडा नंं ५ का महिला सदस्य हेप्सिबा लामासहित स्थानीय महिला दिदीबहिनीले स्तूपाको प्राङ्गणमा सबै यात्रीलाई खादा लगाइदिएर स्वागत गरेका थिए।पाँच वर्षभन्दा बढी समय लगाएर बनाइएको यो स्तूपा केही महिनाअगाडि मात्रै निर्माण कार्य पूरा भई सर्वसाधारणका लागि खुल्ला गरिएको हो । स्तूपाका विषयमा स्थानीय अभियन्ता डेभिड लामा जेसुम यात्रीका जिज्ञासा मेटाइदिदै थिए।नगरपालिकाको वडा नं. ५ सँग सिमाना जोडिएको वडा नंं. ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ जेसुम यात्रीलाई स्वागत गर्न स्तूपामा आइपुगे ।

स्तूपाको सुन्दरता, चिसिनी डाँडाको स्पर्श गर्दै लालीगुराँसको जङ्गल, स्थानीय झरना हेर्दै विष्णुद्वारतर्फ लम्किए यात्रीहरू।विष्णुद्वारलाई विष्णुमतिको उद्गमस्थल पनि भनिन्छ। धार्मिक साँस्कृतिक हिसाबले विष्णुको शीर पनि भन्ने किंवदन्ति छ।प्रत्येक नयाँ वर्षमा बूढानीलकण्ठको उत्तरपूर्वीमा रहेको वागद्वारमा स्नान गरी विष्णुद्वारमा स्नान गरेपछि भोलिपल्ट नयाँ वर्षको बिहानीमा टोखास्थित सपनतीर्थमा स्नान गर्न तथा मेला भर्न जाने स्थानीय मौलिक परम्परा द्वन्द्वकालयता रोकिएको रहेछ।यसको खोजविन र पुनःजागृत गर्नुपर्ने छ। यतैकी स्थानीयसमेत रहेकी जेसुम अभियानकी संयोजक अनिता लामाले बताइन्।नजिकैको डाँडागाउँबाट मकै-भटमास र गुन्द्रुक लसुन साँधेको अचारसहितको खाजा लिएर स्वागत गर्न आइपुगेका रहेछन् धोर्जे तामाङ्ग विष्णुद्वारको प्रवेशद्वारमै ।

'कस्तो बाक्लो कार्पेट ओच्छ्याएजस्तो, शायद हाम्रै स्वागतमै होला।बाक्लो गरी झरेको सल्लाको पात र पतझडले गलैंचा ओच्छ्याएजस्तो' सिँढीको यात्रामा कवि फूलमान बलले भने। विष्णुद्वारको अनुपमतामा कलाकारहरू दिपेन्द्रमान बनेपाली, प्रकाश मानन्धर, बाबु साहिँला, कान्छाकाजी भासिमा, बिक्रम प्रजापतिको क्यानभास ठाउँ ठाउँमा रमाउन शुरु भएपछि छरपष्ट कवि, लेखक एकैछिनमा जङ्गलतिर गुप्तवास भए।करिब डेढ घण्टाको सिर्जनापछि यात्रीहरूको गन्तव्य थियो डाँडागाउँ।

डाँडागाउँ प्रवेश हुँदाहुँदै स्थानीय आमाको टोली घडाभरिको पानी, कोको म्हेन्दो (टोटला फूल) को टीका र खादाले भव्य स्वागत गर्न आइपुग्यो। जेसुम यात्रीहरू आफैमा आश्चर्य र दङ्गदास थिए स्थानीयको स्वागत र सत्कारले। स्वागतमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल र यात्राको शुरुमा स्वागत गर्न आइपुगेका प्रदेशसभा सांसद दीपक निरौलाको उपस्थितिले माहौल अरु थप उत्साहवद्र्धक बनाइदियो।त्यत्तिकैमा एउटा डोली आइपुग्यो र अभियानका संयोजकले यसमा बसेर प्रतिनिधित्व गरिदिनुस् भन्ने आग्रह बमोजिम कवि अनिता लामालाई डोलीमा राखियो। डम्फु बजाएर तामाङ ह्वाईले गरेको यो सामूहिक स्वागत साँच्चिकै महत्वपूर्ण र मौलिक स्वादको थियो। डम्फुको तालले तानेपछि कवि विना थिङ चुप लाग्न सकिनन् र नृत्य गर्न थालिन् । कलाकार दिपेन्द्र बनेपाली, बाबु साहिँला, कवि नवराज खतिवडा नाँच्न तम्सिए। सामाजिक/सांस्कृतिक अभियन्ता धोर्जे तामाङ्गले स्वागत कार्यक्रमको आयोजना ‘स्थानीय पेन्देल आमा समूह’ ले आयोजना गरेको र केही समय अगाडि मात्रै यही समूहले होमस्टे सेवा सुचारु गरेको जानकारी गराए।

सिर्जना प्रस्तुतिमा कविहरू फूलमान बल, सुरेश हाचेकाली, नवराज खतिवडा, जिछेन स्याङ्तान, जगत तामाङ्ग, विना थिङ्ग तामाङ्ग र अनिता लामाले कविता प्रस्तुत गरे भने प्रमुख अतिथिका रूपमा उपस्थित बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले नगरक्षेत्रका सबै भूगोल तथा सांस्कृतिक, धार्मिक महत्वका क्षेत्र समेटेर तयार गरिएको कविता प्रस्तुत गर्न भ्याए । स्थानीय डाँडागाउँका सामाजिक/सांस्कृतिक अभियन्ता धोर्जे तामाङ्गले अहिले सात घरबाट सुरु गरेको पेन्देल डाँडागाउँ होमस्टे निकट भविष्यमा बढाउँदै लैजाने र यसमा नगरपालिकालेसमेत सहयोग गरिरहेको जानकारी गराए।मेयर खरेलले बूढानीलकण्ठको सांस्कृतिक सम्पदा र ऐतिहासिक, धार्मिक महत्वको विशेषतालाई प्राथमिकतामा राखी जेसुम यात्रा आयोजना गरेकोमा खुशी व्यक्त गरे र अभियान सुचारु होस् भन्दै सफलताका लागि शुभकामना दिए। चित्रकारहरूले सिर्जना गरेका विष्णुद्वारका सुन्दर स्केचहरू प्रदर्शनी गरिए। फोटोग्राफर गणेश पाण्डे सकेसम्म प्रत्येक सेसनलाई क्यामेरामा कैद गर्न व्यस्त भइरहे।

‘जेसुम यात्रा गत भाद्र महिनादेखि केही कवि, रङ्गकर्मी तथा कलाकारहरूको उत्साहित समूहले तय गरेको कलासाहित्य र सांस्कृतिक यात्रा हो। हाम्रो एतिहासिक, सांस्कृतिक वैभवहरू, मौलिक सभ्यता र चालचलनको संरक्षण, सम्वर्द्धन, उत्खनन् गर्नु त्यसमाथि छलफल, बहस गर्नु, सिर्जनामा उतार्नु यो अभियानको मूल चेष्टा हो । साथै कर्ममा नरमाउने, अरुलाई गाली, दोष दिइरहने अहिलेको समयको यो गाली संस्कृति र नकरात्मक प्रभावका विरूद्ध सिर्जनामार्फत सकरात्मक सत्कर्मका लागि अभिप्रेरित गर्ने अभियान पनि हो जेसुम यात्रा’- अभियानकी संयोजक अनिता लामाले बताइन् ।  

प्रकाशित मिति: : 2019-04-02 09:52:46

प्रतिकृया दिनुहोस्