कास्की- २ उपचुनाव : खेमराज पौडेलको उम्मेद्वारीका सन्दर्भमा

कास्कीमा फेरि पनि रूख र सूर्य नै आम्नेसाम्ने । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाबाट निर्वाचित संघीय सांसद रवीन्द्र अधिकारीको निधनका कारण हुन लागेको कास्की जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पश्चिमाञ्चल क्षेत्रकै वरिष्ठ प्रजातन्त्रवादी नेतामध्ये एक खेमराज पौडेललाई पार्टीको आधिकारिक उमेदवार बनाएको छ । पौडेललाई कांग्रेसले सत्ताशीन नेकपाकी उमेदवार दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई अधिकारी विरुद्ध चुनावी मैदानमा उतारेको हो ।

गैरकांग्रेसी कस्केलीहरूले समेत खेमराज गुरु भनेर सम्मानका साथ नाम लिइने गरेका ७४ वर्षीय पेसाले शिक्षक, वरिष्ठ प्रजातन्त्रवादी नेता खेमराज पौडेलको सारा जीवन व्यैयक्तिक र राजनीतिक निष्ठा, लगन र कर्मठताको पर्याय जस्तै रहेको कुरामा कुनै विवाद छैन । पौडेललाई आफूले रोजेको राजनीतिको गोरेटोप्रति दर्‍हो आत्मविश्वास भएको अविचलित कर्मयोगी  पनि भन्न सकिन्छ । नेपाली कांग्रेसको जीवनमा विक्रमको २०१७ सालपछि आएका सबै प्रकारका परिस्थिति: घाम-छायाँ, उकाली-ओराली, मोड तथा बिसौनीहरूमा खेमराज पौडेल एउटा इमानदार कार्यकर्ताका रूपमा उच्च आत्मानुशासन र अप्रतिम निष्ठाभावका साथ सक्रिय रहँदै आएका छन् ।

वि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको प्रतिगामी कदमपछि देशभरिका कांग्रेसी कार्यकर्ताहरूमाथि गरिएको दमनका कारण देशका अरू जिल्लाका जस्तै कास्की जिल्लाका वरिष्ठ नेता कार्यकर्ताहरू पनि कि जेलमा कैद थिए कि प्रवासनमा जान बाध्य भएका थिए । कांग्रेसलाई अराष्ट्रिय तत्व भनेर देख्नेबित्तिकै तिनको नामनिशान मेटाइदिन खोजिने त्यस्तो अत्यन्त प्रतिकूल परिस्थितिमा नेपाली कांग्रेसको ४ तारे झण्डालाई राजनीतिक फलकबाट उखेलिन नदिन दृढताका साथ अगाडि आएका त्यस भेगका  नेता- कार्यकर्ताहरू: धीरबहादुर गुरुङ, प्रेमबहादुर कुँवर, सुन्दरप्रसाद मरासिनी, नारायणदत्त रानाभाट, करुणानिधि कोइराला, दयाशंकर पालिखे, रामबहादुर बडगामी आदिका पंक्तिमा त्यतिबेला किशोर वयमा हिंडिरहेका खेमराज पौडेल, तारानाथ रानाभाट, केशवराज पराजुली, तिलकमान गुभाजु, शुक्रराज शर्मा, कृष्णबहादुर गुरुङ, रामचन्द्र त्रिपाठी, तेजनाथ घिमिरे आदि पनि सामेल हुन आएका थिए । त्यसपछिको ३ दशकसम्म नेपाली कांग्रेसले बोकेको प्रजातन्त्रको दियाँलोलाई यिनै युवाहरूले निंभ्न नदिई जोगाएर राखेका थिए । प्रजातान्त्रिक आन्दोलनका त्यस्ता मशालवाहकहरूमध्ये  पनि खेमराज पौडेल अग्रणी थिए ।

खेमराजले अविचलित भएर कांग्रेसको बिउ जोगाइदिएकाले नै महादेव, देवराज, लक्ष्मी परियार, सोभियत, रवीन्द्र विजुक्छे, विमला भण्डारी, अशोक पालिखे, तीर्थ श्रेष्ठहरूको राजनीतिक व्यक्तित्व निर्माण हुन सकेको हो ।

खेमराज पौडेल नेपाली कांग्रेस पार्टीको नेतृत्वबाट उचित मूल्याङ्कन नगरिएका उपेक्षित नेताको लहरमा १ नम्बरमा पर्ने नेता हुन् । उनका निकट मित्र र सहकर्मी तारानाथ रानाभाटको पार्टीबाट उच्च मूल्याङ्कन भएको कुरा कसैबाट छिपेको छैन । शुक्रराज शर्मा पनि अनेक पटक पद र मानबाट पुरस्कृत भएका छन् । खेमराज भन्दा कनिष्ठ कृष्णबहादुर गुरुङ, महादेव गुरुङ, प्रकाश गुरुङ, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, देवराज चालिसे आदिलाई पनि पार्टीले बेला बेलामा अवसर दिएको हो जसमा कतिजना सफल भएका छन् कति असफल पनि । तर खेमराज पौडेलले भने न कहिल्यै संगठनको नेतृत्व सम्हाल्ने मौका पाए न त प्रतिनिधि  सभाको टिकट न माथिल्लो सदनको सदस्यता नै दिइयो उनलाई कहिल्यै । मेरो जानकारी अनुसार नेपालको कुनै पनि जिल्लाको खेमराजको स्तरको कुनै नेताले पनि पार्टी नेतृत्वबाट यस्तो उपेक्षा बेहोर्नु परेको छैन ।

निक्कै ढिलो गरेर भए पनि नेपाली कांग्रेसको वर्तमान नेतृत्वले खेमराज पौडेललाई संसदको टिकट दिएर देशभरिका हतमनोवल कार्यकर्ताहरूका बीच एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । यसबाट कास्की कांग्रेसका खेमराजका सवै समवयी, निकटवय अनुज र युवा नेता- कार्यकर्ताहरूलाई ती वरिष्ठ राजनीतिकर्मीले लगाएको गुन तिर्ने मौका प्राप्त भएको छ । खेमराजहरूले अविचलित भएर कांग्रेसको बिउ जोगाइदिएकाले नै महादेवहरू, देवराजहरू, लक्ष्मी परियारहरू, सोभियतहरू, रवीन्द्र विजुक्छेहरू, विमला भण्डारीहरू, अशोक पालिखेहरू, तीर्थ श्रेष्ठहरूको राजनीतिक व्यक्तित्व निर्माण हुन सकेको हो । साथै, आफूले अवसर नपाउने बित्तिकै पार्टीको उमेदवारको हार सुनिश्चित गर्ने खेलमा सामेल हुने अन्तर्घाती कांग्रेसीहरूलाई खेमराजको उमेदवारीले त्यस्तो अन्तर्ध्वंशी सोचलाई तिलाञ्जली दिई प्रयश्चित्त गर्ने एउटा मौका पनि उपलब्ध गराएको छ ।

नेकपा नेतृत्व आफू बलियो रहेको क्षेत्र हुँदाहुँदै पनि विद्यामार्फत सहानुभूतिको मत समेत समेटेर पार्टीको जीतलाई सुनिश्चित गर्न चाहन्छ । रणनीतिक रूपले नेकपाले लिएको यो निर्णयलाई ठिकै हो भन्न सकिन्छ ।

कांग्रेसले खेमराज पौडेललाई चुनावी मैदानमा उतारेपछि उम्मेद्वारको व्यक्तित्व र गुण-दोषका आधारमा आफ्नो भोट दिन चाहने त्यस क्षेत्रका प्रबुद्ध मतदाताहरूले पनि एउटा गतिलो विकल्प पाएका छन् । बिना कुनै भौतिक लाभ सामान्य पेसाकर्मीको स्वच्छ जीवन बिताउँदै प्रजातन्त्रका पक्षमा सारा उमेर खर्चिन तयार हुने व्यक्तिलाई मत दिने अवसर पाउनु भनेको आफ्नो मताधिकार सम्मानित गराउन पाउने अवसर उपयोग गर्नु पनि हो । पार्टी पक्षधरतालाई पन्छाएर हेर्ने हो भने यस चुनावमा उमेदवार भएका अरू सबै उमेदवारहरू खेमराज पौडेलको तुलनामा निक्कै होचा छन् । रवीन्द्र मिश्रको साझा पार्टीद्वारा टिकट दिइएकी रजनी केसी त अस्तिसम्म खेमराजकै कार्यकर्ता थिइन् । उनका लागि खेमराज गुरुको सट्टा आफूलाई भोट दिनु राम्रो हो भन्दै मतदाताहरू समक्ष जान निक्कै मुश्किल पर्ने देखिन्छ ।

परम्परागत रूपमा वामपन्थीहरूको घनीभूत प्रभावमा रहँदै आएको कास्की क्षेत्र नम्बर २ मा सत्ताशीन नेकपाले दिवङ्गत नेता र मन्त्री रवीन्द्रकी पत्नी विद्या भट्टराई अधिकारीलाई टिकट दिएको छ । जाहेर छ, नेकपा नेतृत्व आफू बलियो रहेको क्षेत्र हुँदाहुँदै पनि विद्यामार्फत सहानुभूतिको मत समेत समेटेर पार्टीको जीतलाई सुनिश्चित गर्न चाहन्छ । रणनीतिक रूपले नेकपाले लिएको यो निर्णयलाई ठिकै हो भन्न सकिन्छ । नेकपाका कार्यकर्ता र प्रतिबद्ध मतदाताहरूका दृष्टिमा पनि विद्या भट्टराईको उमेदवारी सही नै मानिएला । तर, तटस्थ पर्यवेक्षकका दृष्टिले हेर्दा विद्याको उमेदवारीसँग केही प्रश्न पनि जोडिएर आएको देखिन्छ, जस्तो:

१. विद्यालाई स्व. पतिको उत्तराधिकारमा टिकट दिइएको हो भने उनका पति रवीन्द्र अधिकारीमाथि नेपाल वायुसेवा निगमका लागि २ वटा वाइड बडी हवाइजहाज खरीद गर्दा ४ अर्ब भन्दा बढी रकम घोटाला भएको छ भनी संसदीय समितिले लगाएको आरोपबाट उनले सफाइ लिन सक्नु पर्दछ किनभने जसको नाममा उमेद्वारी पाएको हो उसको नेकी-बदीको जिम्मा लिनु उमेदवारी पाउनेको नैतिक दायित्वको विषय हो  ।

२. रवीन्द्रमाथि कमिसनखोरीको गम्भीर आरोप लगाएको  संसदीय छानबिनको त्यो प्रतिवेदनलाई ओली सरकारले दबाइदिएको छ । तर आवश्यक न्यायिक निरूपण भई तामेलीमा नगएसम्म त्यो प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिको अभिलेखमा रहिरहनेछ । मेरो विचारमा विद्याको ध्यान त्यो प्रतिवेदनमाथि न्यायिक स्तरमा अध्ययन, बहस र व्याख्या गराएर रवीन्द्रलाई सफाइ दिलाउनमा केन्द्रित हुनुपर्ने हो । त्यो प्रतिवेदन काँचो रहुञ्जेल विद्याले राजनीतिको क्षेत्रमा प्राप्त गर्ने कुनै पनि उपलब्धिको प्रसन्न मनले आनन्द लिन सक्ने छैनन् ।

३. कुनै बेला, कसै गरी त्यो संसदीय छानबिन प्रतिवेदनमाथि न्यायिक निर्क्यौल भयो र रवीन्द्र अधिकारी भ्रष्टाचारी ठहरिए भने त्यसले रवीन्द्रको लिगेसी मात्र होइन विद्या भट्टराई अधिकारीको राजनीतिक धरातललाई पनि ध्वस्त पार्नेछ । त्यो स्थिति विद्या भट्टराईलाई भोट दिने कस्केली जनताका निम्ति पनि शायद त्यति सुखद रहने छैन ।

आगे यहाँहरू सबै स्वयम् जानिफ्कार हुनुहुन्छ ।

प्रकाशित मिति: : 2019-11-07 06:38:37

प्रतिकृया दिनुहोस्