प्रधानमन्त्री ज्यू । आराम गर्नुस्, सल्लाह दिनुस्

तस्बिरः बिएल

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू! 

तपाईपछि प्रधानमन्त्री बन्नेको लाइनमा को छ ठ्याक्कै मलाई थाहा छैन। खैर जो भएपनि मेरो चासोको विषय पनि होइन। फेरी तपाई वा अर्काे कुनै कित्तावाट आउने नयाँ वा पुरानो अनुहारले देशको मुहार फेर्छ भन्नेमा कमसे कम म विश्वस्त छैन। तपार्ईप्रति मेरो कुनै आग्रह पूर्वाग्रह पनि छैन। तपाईको स्वास्थलाभको कामना। चाँडो निकोहोस्। 

देशको कार्यकारी प्रमुख पटक पटक विरामी हुँदा देशनै विरामी भएको अनुभूत हुँदोरहेछ। यो अवस्थामा पनि देश र जनताको लागि दौडधुप गर्ने तपाईको साहस र आत्मबललाई सलाम छ।

पञ्चरत्नले बनेको शरीर हो मानिसको। वालक,वयस्क,युवा हुँदै एकदिन शरीर वुढो हुन्छ। तपाईको अहिलेको उमेर वुढौली उमेर हो। एक त तपाईको उमेर बुढो भयो। त्यो भन्दा पनि आफै विरामी हुनुहुन्छ। पटक पटक विदेशमा उपचार गराइरहनु भएको छ। यो उमेर र तपाईको स्वास्थ अबस्था हेर्दा देश र जनताप्रति तपाईले दिएको योगदान उच्च रहेको छ।

तपाईको स्वास्थको बारेमा स्वयम् आफै स्पष्टीकरण दिइनै रहनुभएको छ। तपाईका केही सहकर्मीले तपाईको स्वास्थ स्थितीको विषयमा नकरात्मक टिप्पणी गरेको आफै सार्वजनिक कार्यक्रममा जानकारी गराइसक्नु भएको छ। फेरि पनि किन–किन तपाई विरामी हुँदा देशनै विरामी भएको जस्तो हुन्छ। कामना छ, तपाई चाँडै निको हुनुस्।

लामो समय जेल जीवन परिवर्तनको खातिर जीवनभर लडिरहनु भयो। राजनीति नै कर्म बन्यौ, पेशा बन्यौ वा भनौ जीवन बन्यौ। यो बाहेक तपाईले अरु सोच्दै सोच्नु भएन। त्यही कर्मले त्यही पेशाले दुईपल्ट देशको कार्यकारी प्रमुख बनायो। अहिले त बहुमतको सरकारको प्रमुख तपाई।

जीवनभरी गरेका तपाईको काम देश र जनताका लागि थिए।तर अब तपाई आराम गर्नुस्। मानिसको उमेरसँगै ग्याष्ट्रिक बढ्दै जान्छ। सुगर देखिन थाल्छ। प्रेसरको औषधी नियमित खानु पर्छ। मनतातो पानी खाइरहनु पर्छ। बेला–बेलामा अस्पताल गइरहनु पर्छ। आखिर बुढो शरीर न हो। अनेक कमजोरी देखिन थाल्छन्। अन्य मानिसभन्दा तपाईको आत्मबल बलियो छ। त्यसैले होला अझै पदको लागि राजनीति गरिरहनु भएको छ।

मलाई लाग्छ, तपाईले गर्नुपर्ने सबै काम गर्नु भयो। सबैभन्दा महत्वपूर्ण काम तपाईले सुतेर बसेका नेपाली आम जनमानसलाई विकाशरुपी सपनाको विजारोपण गरिदिनु भयो। हिन्द महासागरमा नेपाली पानीजहाज चलाउन सम्भव छ भन्दै काठमाडाै‌मा सम्पर्क कार्यालय खोलिदिनु भयो। समुन्द्र नदेखेका सामान्य नेपालीको पानी जहाज चढ्ने र पानी जहाजमा समान ओसारपसार गर्ने सुनौलो अवसररुपी सपना अरु केही हुन सक्ला र?

जाडो महिनामा नेपालको उत्तरी नाकामा गएर “हो त्यहि ठाँउबाट सरर‍ सरर चिनियाँ रेल गुड्ने भन्दै पहाडका डाँडामा विकासको हरियो सपना छर्नुभयो। पुरा होला नहोला तर सपना छरेर आउनु भयो।

भोक भोकै खाना नपाएर सडकमा सुतेका नेपालीलाई भोकै भए सरकारलाई खबर गर्नु अब नेपालमा भोक भोकै कोही मर्नु पर्दैन भन्दै तपाई माइकमा वोल्दा परर परर ताली पड्क्यो। तपाई मुसुमुसु हाँसिरहनु भयो।

लाखौ रुपैयाँ सयकडा तीनका दरले व्याज खोजेर खाडी मुलुक हिडेको सामान्य एक युवालाई रोजगार देशमा पाईन्छ किन जाने विदेश भनेर ऋण लिन हिडेका वृद्द वा आमाको आशा जगाइदिनु भयो। राजधानीको पोल पोलमा र मुलधारका दैनिक पत्रिकाको फ्रन्ट पेजमा आफ्नो मुसुक्क हाँस्दै गरेको कलेवर फोटो राखेर सरकार यहाँ छ भनेर गज्जवको उपस्थिती देखाउनु भयो।

कुरै कुरामा नेपाल कहाँ पुगेन र विकासको चरम उत्कर्षमा पुग्यो। हिमालको पानी युरोप अमेरिका पुग्यो। मुस्ताङकाे स्याँउ रेल चढेर विदेश पुग्यो। नेपाल विश्वकै मिनी स्वीजरल्याण्ड बन्याे। मेलम्चीको खानेपानी धारा धारामा पुग्यो। ग्याँस, पेट्रोल उत्पादन नेपालमै भयो। कति कति। म र मेरो अघिल्लो पुस्ताले सुन्दै आएको यहि नेपाल हो। आशा गरौ मेरो पछिल्लो पुस्ताले उपभोग गर्न पाओस्।

सम्माननीय प्रधानमन्त्री ज्यू ।

कहिलेकाहीँ समय मिल्यो भने चुनावी घोषणापत्र हेर्नुहोला। कहिकतै तपाईको कार्यालयमा हुनसक्छ। झिजो नमानी हेर्नुहोला। चुनावताका तपाईले गरेको भाषणलाई एकपल्ट युट्युवमा हेर्नुहोला मेरो आग्रह छ। रेल,चारलाईनको सडक, विकास, दुई अँकको आर्थिक वृद्दिदर। यी त सामान्य थिए त्यति बेला जति बेला देशमा चुनावको सरगर्मी चढ्दो थियो।

मलाई थाहा छ, एकजना तपाईको पहल प्रयाप्त छैन तर केही त अवश्य हुन्छ। तपाईको निडर, साहसिक निणर्य, अठोटले नेपाल देशको कायापलट गर्न सक्ने बहुमत सरकारको पावर छ तपाईसँग। तर पनि खासै नभएको देखियो प्रधानमन्त्री ज्यू।

साम, दाम, दण्डभेद सवै प्रयोग गरेर देशको काचुँली फेर्न सम्भव छ। कुनै समय भोकमरीले ग्रस्त इथियोपियाको विकासले संसारलाई चकित बनाएको छ। चाहने हो भने विकास सम्भव छ भन्ने पुष्टी गरिदिएको छ। तर हामी भ्रष्टाचारकाे चँगुलबाट उम्कन सकेका छैनाैं। भ्रष्टाचारीकाे अनुहार पनि हेर्ने छैन भन्ने तपाई बालुवाटार छेउछाँउ तपाईको नजिक नजिक भएर हिड्ने भ्रष्टाचारीलाई पनि चिन्न सक्नु भएन।

माफ गर्नुहोला प्रधानमन्त्री ज्यू, व्यक्तिगत रुपमा तपाईलाई आरोप–प्रत्यारोप लगाउन खोजेको होइन। लोकतन्त्रमा यति त भन्न पाईन्छ होला। करौडौ भ्रष्टाचार गर्ने, कानुनी राज्यको उपहास गर्ने, गुण्डागर्दी गर्नेको जमातलाई खोज्न तपाईको आसपासबाट धेरै टाँडा जानुपर्छ जस्तो लाग्दैन। सिहंदरवार भित्र झुण्डीएका नेपालका प्रधानमन्त्रीको फोटोमा तपाईको फोटो पक्कै छ। फरक यत्ति थियो पछिल्ला प्रधानमन्त्री भन्दा तपाईबाट देश र जनताको आशा धेरै थियो। विकासको मुल फुटाउने बलियो जनआधार भएको सरकार प्राय असफल भयो यो अवधिको मुल्याड्कनमा।

नढाँटी भनौ हिजो आज तपाईले बाेलेका, भाषण गरेका र कहिकत्तै प्रसङवस भनेका कुरा पत्याउन गाह्रो हुन्छ तर पनि तपाईले देखाएको सपना पुराहोस् कामना छ।

गणतन्त्र नेपालको प्रमुख तपाईलाई झर्राे, साहित्यक, घुमाउरो, शव्दकोषमा खोज्नुपर्ने अप्ठेरा शव्दहरु प्रयोग नगरी सरल भाषामा मैले टाढाबाट देखेको कुरा लेखेको हो। अनर्थ नलागोस्। मेरो आग्रह छ, अब दौडधुप गर्ने समय होइन तपाईको। आराम गर्नुस, सल्लाह दिनुस्।

प्रकाशित मिति: : 2019-11-02 16:08:08

प्रतिकृया दिनुहोस्