अहो! कति रमाइलो जिरी

जिरी उपत्यका

समय मिल्यो कि, घुम्न मन लाग्छ। घुम्न जाँउ भन्नेहरूलाई मैले मिलेसम्म जान्नँ भन्ने गरेको छैन।

गत बिहीबार साँझ अचानक सुरेन्द्र राना दाइसँग भेट भयो। उहाँले रमाइलो पारामा स्वीजरल्याण्ड पुगेर आएको मान्छे दुई दिनका लागि ‘नेपालको स्वीजरल्याण्ड’ जिरी र आसपासको भम्रणमा घुम्न जाने प्रस्ताव गर्नुभो।

दशैं मनाएर काठमाडौं फर्किएको भर्खर दुई दिन मात्र भएको थियो।

यसअघि कामकै शिलशीलामा २ पटक जिरी गइसकेको मलाई त्यहाँ घुम्ने रहर मेटिएको थिएन।

सुरेन्द्र दाइको आग्रहपछि जिरी जाँउ कि, नजाउँ भन्ने अन्योल भयो। केहीबेर घोतलिएँ। यतिखेर काठमाडौंमा पनि अत्यावश्यक कामहरू खासै नभएकाले वहाको आग्रह सहजै स्वीकारेँ।

तेस्रो पटक जिरी घुम्ने मौका जुर्दा हर्षित भएँ।

भोलिपल्ट बिहानै साढे ६ बजे नयाँ बानेश्वरमा जम्मा भएर जिरी जाने पक्का भयो।

शुक्रबार बिहानै झिसमिसेमा नयाँ बानेश्वरमा भेला भयौं। जिरी यात्रा संयोजन गर्ने युवा उद्धमी तथा जिरी पर्यटनको अभियन्ता लीलाराज खड्कासँग सक्षिप्त भेटघाट गरेर सुरेन्द्र दाइ, म र चालक भाइसहित तीन जना लाग्यौं भक्तपुरतिर।

नयाँ ठिमीबाट पत्रकार अमृत भादगाँउलेलाई पिकअप गरेर हाम्रो जिरी यात्रा अगाडि बढ्यो।

बनेपा, धुलिखेल हुँदै जापान सरकारको सहयोगमा बनेको विपी राजमार्गको हाम्रो यात्रा रोमाञ्चक भइरहेको थियो। सफा र निकै व्यवस्थित सडकले ‘भिजिट नेपाल २०२०’ का लागि पाहुनालाई स्वागत गर्न आतुर जस्तो देखिन्थ्यो।

वातावरण रमाइलो थियो। सडक किनारमा लहलह झुलेका धान खेतले यात्रालाई थप रोमाञ्चक बनाइरहेको थियो।

भकुण्डेबेसी पुगेर चिया पियौं। सोही बेला आसपासको रमाणीय दृश्यहरू क्यामेरामा कैद हुन थाले।

सुनकोसी नदिको किनारै किनार रमणीय दृश्यमा रमाउँदै हामी मुल्कोटको नागबेली सडक पुग्यौं। त्यहाँ केही बेर रोकिएर सुनकोशीको त्रिवेणी हेर्दै केही बेर अल्मलियौं।

खुर्कोटबाट सुनकोसी तरेर गाडी मन्थली तिर मोडियो।

बेला बेला भादगाउँले सरले फोटो खिच्न गाडी रोकेको बेला म पनि मोबाइल तेर्स्याउँथेँ।

माछा मिठो तामाकोसीको

दिउँसोको करिब १२ बजे तामाकोसी पुगेका हामीले बिहानको खाना त्यहीँ खाने निर्णय गर्‍यौं।

तामाकोशी तिरमा रहेको सानो बजारमा केही होटलहरू थिए।

दोलखाको चरिकोट भएर जिरी जाने बाटो यही भेटिन्छ। काठमाडौंबाट चरिकोट हुँदै जान केही छोटो बाटो भए पनि सडक मर्मत भइरहेकाले पछिल्लो समय रामेछापकै बाटो भएर जिरी आउजाउ हुन्छ।

तामाकोसी विशेष गरी माछा र खानाको लागि निकै प्रख्यात ठाउँ रहेछ। लीला भाइको सुझाव अनुसार हामी स्थानीय ममता होटलमा खाना खाने निर्णय गर्‍यौं।

होटलको काउन्टर अगाडि लहरै झुण्डाईएका माछाको दृश्यहरु धेरैको ध्यान तानिरहेको थियो।

यो दृश्यले मुखबाट पानी रसायो।

तामाकोशीको पुल छेउमा रहेछ। ममता भोजनालय एण्ड लोकल फिस। बाहिरबाटै हेर्दा सफा र चिटिक्क परेको होटलमा परिकार पनि राम्रो र मिठो रहेछ।

बाहिर पट्टी झुण्डाएका माछाको दृश्यले हामीले अघिदेखि तानिरहेको थियो। त्यही खाना खाएर हामी अगाडि बढ्यौं।

करिब साढे दुई बजे हामी जिरी नजिकै पुगियो। जिरी प्रवेश गर्दै गर्दा हामी केहीबेर रोकियौं। हाट डाँडाबाट जिरीको रमणीय दृश्य मनमोहक देखियो। केहीबेर रोकिएर त्यँहाबाट सुन्दर जिरी उपत्यका र लिंकन बजारका तस्विरहरू लियौं।

त्यसपछि पुनः हाम्रो यात्रा लिंकन बजार तिर अगाडि बढ्यो।

हामी बजार प्रवेश गर्दै गर्दा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका सरकारी गाडीहरू फर्किँदै थिए।

हामी पुग्दा लिंकन बजार बेहुलीझैं सिंगारिएको थियो।

सडकमा विभिन्न खानाका परिकारहरूले सजिएका स्टलहरू थिए। स्टेजमा सांस्कृतिक कार्यक्रम धमाधम चलिरहेको थियो।

नेवार र जिरेल समुदायका कलाकारले आ-आफ्नो परम्परागत पोशाकमा झाँकी, नृत्यहरू प्रर्दशन गरिरहेका थिए। परम्परागत पोशाकमा सजिएका जिरेल समुदायका तन्नेरी र वृद्धहरू हातमा बिनायो, डम्फु, खैंजडी, झ्याली, ढ्याङ्ग्रो बोकेर सांस्कृतिक प्रदर्शन गरिरहेका थिए। अहो! कति रमाईलो वातावरण। म त मन्त्रमुग्ध भएँ।

विजया दशमी तथा दिपावलीको अवसर पारेर आन्तरिक र वाह्रय पर्यटकलाई जिरीमा आर्कषण गर्ने उद्धेश्यले स्थानीय युवाको संस्था युवा सन्जालद्धारा आयोजित ३ दिने जिरी स्ट्रीट फुड फेस्टिभल उद्घाटन गरेर संस्कृति, पर्यटन र नागरिक उडयन मन्त्री योगेश भट्टराई काठमाडौं फर्किसकेका रहेछन्।

सडकमा केहीबेर रोकिएर हामी सांस्कृतिक कार्यक्रमको नृत्य हेर्दै तस्विर खिच्न व्यस्त भयौं।

त्यसपछि हामी तेन्जिङ हिलारी पार्क तिर लाग्यौं।

पहिलो पटक सगरमाथाको सफल आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा आरोहणका लागि जाने क्रममा जिरीमा रात बिताएको स्थानमा स्मृति पार्क बनाइएको रहेछ।

पहिलो दिन हामी जिरीको लिंकन बजार, आसपासका विभिन्न ठाँउहरूको अवलोकन र फेस्टीवल धित मर्ने गरी अवलोकन गर्‍यौं।

हाम्रो लागि गाविला होटलमा बास बस्ने व्यवस्था गरेको रहेछ।

स्वीस परियोजनामा आवद्ध भएर चिज उत्पादनमा लामो समयसम्म चिज अफिसर भएर काम गरेका केशर बहादुर जिरेलले खोलेको होटल रहेछ। गाविला।

जिरेल दाइले तत्कालिन समयमा सगरमाथाको एक मात्र प्रवेशद्धार हुँदा जिरीको अवस्था, स्वीस योजनाको आवागमन र विकास सहायता, भूकम्प पछि जिरीमा परेको प्रभाव र भूकम्पपछिको पूनर्निमार्णका विषयमा लामो अनुभव सुनाए।

जिरीको चिज, आलु फापरको स्वादिष्ट रोटी र ढिँडोको स्वादमा आनन्द लिएर त्यो साँझ बितायौं।

दोस्रो दिन बिहान हामी यलुङतर्फ लाग्यौं। लिंकन बजारबाट करिब ७ किमिको दूरिमा रहेको यलुङ घुमाउन हामीलाई स्थानीय युवा उद्यमी पासाङ तेन्जी शेर्पा (पिटिएस) दाइले सहयोग गरे।

यात्रालाई थप रोमान्चक जिरेल थरका चालक दाइले बनाए। कामको शिलशीलामा मध्यपूर्व र युरोपका विभिन्न देशमा अनुभव संगालेका जिरेल दाइ निकै रसिक रहेछन्।

आफ्नो बाल्यकालमा सगरमाथा पवर्तारोहणका लागि जिरीमा लस्कर लाग्ने विदेशीहरू र हात्ती छाप चप्पलका भरमा सगरमाथाको आधार शिविरसम्म पुगेको अनुभव निकै रोचक थियो।

काठमाडौंदेखि लुक्ला सिधा उडान सुरू भएसँगै विदेशी पर्यटकहरू यहाँ ठप्प भए। जिरी बजार सुनसान भयो।

चालक दाइले केही रमाइलो ठाँउ आउने बित्तिकै गाडी रोकिहाल्थे र ठूलो क्यामेरा भिरेका पत्रकार अमृत भादगाउँले र सुरेन्द्र दाइ फोटो खिच्न तम्सिन्थे।

माली डाँडामा केही बेर रोकेर यलुङ उपत्यका र आसपासका गाँउको दृश्यावलोकनपछि हामी सर्वखासा गाँउ पुग्यौं।

स्वीसले आफू खानाका लागि ल्याएको किवी फल अहिले दोलखामा लोकप्रिय नगदेवालीका रुपमा स्थापित छ।

दोलखामा पछिल्लो समय लोकप्रिय बनेको किवी खेती हेर्नकै लागि हामी त्यँहा पुगेका थियौं।

दोलखा चरिकोटको लोकप्रिय किवी किसान श्याम खड्का 'किवी बाजेको' रुपमा चिनिन्छन्। त्यहीँ फार्मबाट विरूवा ल्याएर २०७१ सालबाट पिटिएस दाइले किवि खेती सुरू गरेका थिए।

वैदेशिक रोजगारीको शिलशीलामा कुवेत, साउदी र युरोपका विभिन्न देशपुगेका उनले जिरी-२ सर्वखासामा ९५ रोपनी जग्गामा किवी खेती गरिरहेका छन्।

किवीलाई वाइन, जाम, जुस, सलाद, लसी, तितौरा, केण्डी बनाएर बजारमा पुर्‍याउन सकिन्छ।

जिरीमा घुम्ने अन्य ठाँउहरू

दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५६ किमी पूर्वमा रहेको जिरी उपत्यका सगरमाथाको प्रवेशद्धार र नेपालको स्वीजरल्याण्डका रुपमा परिचित छ।

समुन्द्र सतहबाट करिब १९०० मि को उचाईमा रहेको जिरी उपत्यका प्राकृतिक सौन्दर्यको दृष्टिकोणबाट पर्यटकीय स्थान हो।

काठमाडौंदेखि करिब दुई सय किमीको दुरीमा रहेको जिरी उपत्यका आन्तरिक र बाह्रय पर्यटकको लागि उत्कृष्ट गन्तब्य हो।

शहरको कोलाहाल र दिक्क लाग्दो दैनिकीलाई बिर्सेर शान्त रूपमा समय विताउने आर्कषक गन्तव्य हो।

परिवार र साथीभाइसहित जिरी पुगेर केही दिन बिताउन चाहनेका लागि लिंकन बजार, बुद्ध पार्कमा निर्मित बौद्ध स्तुपालगायत छन्।

स्वीस भूगर्वविद् एवम् नेपालमा स्वीस विकासका लागि महत्वपूर्ण भूमिका खेलेका बिद्धान टोनी हेगनको स्मृतिमा रमिते डाँडामा निमार्ण भएको पर्यावरण पार्क, बजारदेखि पूर्वतर्फ रहेको जिरेश्वर महादेवको मन्दिर, चिया बगान, चेर्दोङ डाँडा, चेर्दोङ चिज कारखाना, हनुमन्ते डाँडा, बुलबुल डाँडा, लौती झरना, हलेसी महादेवको मन्दिर, याक ग्यालरी, याक चिज उत्पादन केन्द्र, जिरेल बस्ती, सिक्रि गाउँको संस्कृति, व्यवसायिक पशुपालन फार्म, यलुङ उपत्यका आसपासका क्षेत्रहरु प्रमुख पर्यटकीय आर्कषणका केन्द्र छन्।

जिरेल जाति र संस्कृति 

प्राचिन समयदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका किँरात जातिभित्रको एक शाखाका रूपमा परिचित जाति हो जिरेल।

यहाँका रैथाने बासिन्दालाई जिरेल भनिन्छ। आफ्नै भाषा, रीतिरिवाज तथा संस्कार, संस्कृति बोकेको यस समुदायको उद्गम थलो जिरीलाई मानिन्छ।

साविकको जिरी गाविसमा बाहुल्यता रहेको जिरेल समुदायको जनसंख्या हाल नगरपालिकामा ३,३६० (२१.६६%) मात्र छ।

जिरीमा जिरेल समुदाय दोस्रो ठूलो समुदायका रूपमा छ।  जिरेलका सम्बन्धमा विभिन्न किंवदन्तीहरू पनि उल्लेख छन्।

जसअन्तर्गत परापूर्वकालमा किरातीहरू नेपालको पूर्वी पहाडहरूमा बसाइँ सर्दै आउने क्रममा सुन्दरवीरका पाँच भाइ छोरामध्ये माइला सुरसिंहका सन्तान हालको जिरीलगायतका क्षेत्रमा आएर बसोबास गर्न थाले भने केही भाइ भने हालको दोलखा जिल्लामा पर्ने साविक सुरी गाविसतर्फ गएर बसोबास गर्न थाले।

पछि यीनै किरातीका सन्तानलाई ठाउँ विशेषको नामले जिरीमा सेरोफेरो बसोवास गर्ने समुदायलाई जिरेल भन्न थालियो भन्ने विश्वास छ।

कुनै बेला सगरमाथा आधार शिविर होस या सगरमाथा आरोहण, यो एक मात्र बाटो भएको कारण अत्यन्त व्यस्त जिरी बजार विगतको तुलनामा हाल सुनसान जस्तो देखिन्छ।

भूकम्प पछि निमार्ण गरिएका सुविधा सम्पन्न होटलहरू, जिरी आसपासबाट देखिने विभिन्न ठाँउहरु र हिउँ पर्दाको बखत देखिने सूर्योदयको दृश्य, जिरेल संस्कृति, जिरीको

आतिथ्यता, सफा र सुन्दर र स्वच्छ वातावरणका कारण आन्तरिक र वाह्रय पर्यटकहरू दोहोर्‍याएर जिरी भम्रण गर्न अभिप्रेरित गर्छ।

क्लीन जिरी, ग्रीन जिरी र अर्गानिक जिरीको नाराका साथ स्थानीय सरकारले  पर्यटनका पूर्वाधारको निर्माणमा खेलेको सकारात्मक भूमिकाका कारण पनि जिरीमा पर्यटनको प्रशस्त सम्भावना रहेकोमा स्थानीय होटल व्यवसायीहरुको एकमत छ।

व्यापक सम्भावनाका बाबजुद काठमाडौंदेखि जिरीसम्म पुग्ने खराब मोटर बाटोका कारण जिरीको पर्यटनले अपेक्षित नतिजा दिन सकेको छैन।

जिरीको अवरूद्ध विमानस्थललाई सुचार गर्न सकेमा पनि आन्तरिक र बाह्रय पर्यटकको संख्यामा वृद्धि हुने विश्वास स्थानीय समुदायमा छ।

जिरीलाई स्वीजरल्याण्ड किन भनियो?

स्वीटजरल्याण्डको जुरिक सहर

जिरीलाई स्वीजरल्याण्डको जुरीक शहरसँग तुलना गर्ने गरिन्छ।

जिरीलाई नेपालको स्वीजरल्याण्ड भनेको सुनिरहँदा यो ठाँउलाई किन तुलना गरियो भन्ने उत्सुकता मलाई पहिले देखिनै लागेको थियो।

यसै वर्ष म एउटा कार्यक्रमको शिलशीलामा स्वीजरल्याण्ड गएको थिएँ। त्यहाँ जेनेभा, जुरीक र अन्य स्थानको समेत भम्रण गर्ने अवसर मिल्यो। त्यतिखेर मलाई नेपालको जिरीसँग यसको तुलना कसरी गरियो भन्ने मेरो मनमा खेलिरहेको थियो।

नेपाल र स्वीजरल्याण्ड बिचमा सन् १९५६ देखि कुटनीतिक सम्बन्ध स्थापित भयो। 

सन् १९७३ देखि विकास सहायताका लागि नेपाल स्वीजरल्याण्डको प्राथमिकतामा रहेको छ।

परियोजनाका लागि दोलखामा कार्यरत रहँदा समान  पहाडी भूगोल, पहाडी क्षेत्रमा फैलिएको वन जंगल, नेपाल र स्वीजरल्याण्डको भूपरिवेष्ठीत परिवेश, स्वच्छ, सफा र हरियाली वातावरणका कारण स्वीस नागरिकमा जुरीकको अनुभूति भएको पनि हुनसक्छ।

सहकर्मी नेपालीलाई खुसी बनाउनका लागि जिरीलाई पनि जुरिक जस्तै छ भनेको हो कि?

अन्यथा, जिरी र जुरीकमा खासै समानता मैले त्यति देखिनँ, सायद जिरी अझै गहन ढंगले घुम्न बाँकि छ होला, फेरि पनि जिरी आउनुपर्ला!

हेर्नुहोस् केही तस्बिरहरू

 

 

प्रकाशित मिति: : 2019-10-24 09:11:10

प्रतिकृया दिनुहोस्