हामी पाप कमाइरहेका छौ कि पुण्य ?

दशैको तीतो यथार्थ : एक प्रतिकात्मक तस्बिर । सौजन्य : कलाकार कृष्ण मल्लको फेसबुक ।

दशैंको छेको पारेर भेट्रन कलाकार कृष्ण मल्लले एउटा तस्बिर सार्वजनिक गरे । तस्विरमा एक वृद्ध आफ्नो कुकुरलाई दशैंको टीका लगाइ दिइरहेका थिए ।

त्यही तस्बिर सार्वजनिक गर्दै मल्लले फेसबुक स्टाटस लेखे-
'बिस्तारै देशमा बूढाबूढीहरु मात्र । छाेराछाेरीहरु बिदेशमा नै रमाउछन् । छाेराछाेरीकाे कर्तव्य कुकुरले निर्वाह गरेका छन् । आफ्नाे वा आफन्त भनेका यिनै हुन् । टीका लगाएर माया पाेख्दै एक ज्येष्ठ नागरिक ।'

तस्बिरको क्वालिटी कस्तो थियो, पृष्ठभूमि के थियो ? त्यो अर्कै कुरा हो । तर, तस्बिरको प्रतिकात्मक सन्देश भने बेजोड थियो । 

घरदेशमा हुनेलाई त त्यसले नछुन पनि सक्छ तर परदेशमा हुनेलाई भने त्यसले मर्ममै प्रहार गर्छ । 

यस्तो दृश्य देखेपछि स्वभावत: आफ्ना बृद्ध बाबुआमाको अनुहार र उनीहरूसँग बिताएका सम्झनाका तरेलीहरू वयली खेल्न थाल्छन्  । परदेशमा धेरैको अवस्था कस्मेटिक नै हुन्छ- फेसबुकमा बनिबनाउ गरेर अपलोड गरेको तस्बिर जस्तो जीवन कहाँ हुन्छ र ? 

यो पनि हेर्नहोस् 

पूर्व उपसचिव शान्तिप्रिया उपाध्यायको स्वास्थ्य अवस्था बिग्रर्दै । बिएल नेपाली सेवाको फलोअप

त्यो दृश्य देखेर मन खिन्न हुन्छ र आफैलाई प्रश्न गर्न थालिन्छ- आखिर वृद्ध बाबुआमालाई बुढेसकालमा एक्दै छोडेर जितियो चाँहि के त ?

राम्रो क्रेडिट स्कोर र त्यसले साटेको मोर्गेजको गाडी, मोर्गेजको घर । गतिलो क्रेडिट कार्ड अनि इन्सलमेन्टको आइफोन, म्याकुबक यही त हो । 

छोराछोरीको भविष्यका लागि भनेर बनाइएको बहाना पनि काम लाग्दैन । छोराछोरीसँग न भाषा बाँकि रहन्छ, न संस्कार न संस्कृति । यो घोप्टेयुगमा जहाँ पुगे पनि सबै स्मार्ट फोन, म्याकबुक, आइप्याड आदिमै घोप्टिने त हुन् । 

यता परदेशमा आफ्नो निधार खालि हुन्छ, उता  घरदेशमा बाबुआमाको हातले दशैंको टीका मुछिदैन । कति पीडादायी हुन्छ यो तीतो यथार्थ । 

आमाबाबुप्रति सम्मान हुनेले केही पैसा पठाइदिन्छन् दशै-तिहार खर्च भनेर । आमाबाबुले त्यही पैसाको मुखमा आफ्ना छोराछोरीको अनुहार साट्नुपर्छ । त्यो पैसाले केही गर्जो टारे पनि खुशी हैन, पीडा दिन्छ उनीहरूलाई । 

छोराछारी कहाँ छन् भनेर सोध्दा घरैपिच्छेको उत्तर हुन थालेको छ- अमेरिका, अस्ट्रेलिया र युरोप । कुनै समय त्यसो भन्दा गर्व हुने देशमा अब ग्लानी हुने दिन आउँदैछ ।

यता परदेशमा आफ्नो निधार खालि हुन्छ, उता  घरदेशमा बाबुआमाको हातले दशैंको टीका मुछिदैन । कति पीडादायी हुन्छ यो तीतो यथार्थ । 

यो क्रम बढ्दैछ । 

यो पनि हेर्नुहोस्
सेन्सरसिपबाट गुज्रेकी हजुरआमा कथाकी लेखिका अमृताका वृतान्त्त
यसको मूलकारण देशको अवस्था हो । देशमा न भरपर्दो राजनीतिक व्यवस्था स्थापित हुन सक्यो न त्यसलाई हाँक्ने राजनीतिक दल र राजनेता । सक्नेले लुट्ने राज्यव्यवस्था बनाएपछि त्यो प्रतिस्पर्धामा जान नचाहनेका लागि विदेशिनु नै विकल्प बच्यो । कम्तीमा विदेशमा बिना कुनै ह्यांकीप्यांकी काम गरेर बाँच्न त सकिन्छ । 

त्यही सजिलोका लागि विदेशिएका नेपाली छोराछोरीहरू जब चाडबाडमा यस्ता दृश्य देख्छन्, तब मन अमिलो हुन्छ र मनमनै आफैंलाई सोध्न थाल्छन् - 'के यही हो त प्रगति ? '

डाँडामाथिका घाम-जुनजस्ता बाबुआमालाई छोडेर हामी विदेशमा दिनरात नभनी खटिरहेका उनीहरूमध्ये धेरैको जीवन नेपालको भन्दा पनि कष्टकर छ । वन वे मा फसेका उनीहरू त्यो सत्य पनि भन्न कहाँ सक्छन् र ? देखेको सपना विपना बनाउने कुरा त धेरै टाढाको भयो ।'

यो प्रतिकात्मक तस्बिरले परदेशिएका धेरै छोराछोरीलाई सोच्न बाध्य बनाउँछ - हामी पाप कमाइरहेका छौं या पुण्य ? 

 

 

प्रकाशित मिति: : 2019-10-11 09:59:44

प्रतिकृया दिनुहोस्