बाल संरक्षणको सवाल र मनोरञ्जन तथा सत्कार व्यवसाय

तस्बिरः बिएल

काठमाडौं उपत्यका लगायत देशका महत्वपूर्ण र पर्यटकीय सहरहरुमा मनोरञ्जन तथा सत्कार व्यवसायको स्थापना र सञ्चालन बढ्दो छ। विशेषतः सन् २००० तिर नेपालमा सशस्त्र द्वन्द्वको प्रभाव गाउँ घरमा अत्यधिक रहेको अवस्थामा विस्थापित महिला, किशोरीहरुको सहज रोजगारीको क्षेत्रको रुपमा मनोरञ्जन तथा सत्कार व्यवसाय फस्टाउन पुग्यो। त्यसो त दोहोरी गीत र नेपाली मौलिक सांस्कृतिक गतिविधिको बढ्दो लोकप्रियता र त्यसलाई होटल व्यवसायीले दिएको व्यवसायिक स्थानसँगै पनि मनोरञ्जन तथा सत्कार व्यवसायको प्रवर्द्धनमा टेवा पुगेको पाइन्छ।

पछिल्ला दिनमा भने मनोरञ्जन तथा सत्कार व्यवसाय प्रति सामाजिक र कानुनी दृष्टिकोण सकारात्मक पाइदैन। यसको मुलकारण यस व्यवसायको आडमा भइरहेका अवाञ्छित गतिविधिहरु, श्रमिकहरुको यौन शोषण तथा उनीहरुको श्रम शोषण, साथै यस व्यवसायलाई आधारविन्दु बनाएर मौलाउँदै गरेको मानव बेचबिखन हो।

पेशागत र व्यवसायिक दृष्टिकोणबाट वयस्क लक्षित मनोरञ्जन तथा सत्कार व्यवसाय स्वीकार्य र मर्यादित बनाउन सकिने भए पनि यस क्षेत्रमा अनियन्त्रित ढंगले बढिरहेको अपराधिक, असामाजिक र गैरकानुनी गतिविधिले यस क्षेत्रका श्रमिक तथा व्यवसायीहरु मारमा परिरहेका छन्।

मनोरञ्जन तथा सत्कार व्यवसायलाई पर्यटकीय तथा पारिवारिक मनोरञ्जन स्थलका रुपमा विकास र संस्थागत गर्न व्यवसायिक नियमन, कानुनी व्यवस्था र अनुगमन, मर्यादित श्रमको प्रवर्द्धनको साथै बाल संरक्षणको सुनिश्चितता पनि गरिनु जरुरी छ।

यस लेखमा मनोरञ्जन तथा सत्कार व्यवसाय र बाल संरक्षणका सवाल र सम्भावित सम्बोधनका उपायहरुलाई उजागर गर्ने प्रयत्न गरिएको छ। मनोरञ्जन तथा सत्कार व्यवसायको व्यवस्थापन गरिरहँदा बाल संरक्षणका निम्न सवालहरुको सम्बोधन र व्यवस्थापन हुन जरुरी छ।

बालश्रम निषेध:

विभिन्न अध्ययनहरुले नेपालमा रहेका मनोरञ्जन तथा सत्कार व्यवसायमा झण्डै ६० हजार श्रमिकहरु रहेको बताइएको छ। जसमध्ये आधा भन्दा बढी १८ वर्षभन्दा कम उमेर समुहका छन्।

श्रमिकहरुको अनुसार रोजगारदाताले ग्राहकलाई आकर्षित गर्नका लागि विशेष गरि १३ देखि २५ वर्षका उमेर समुहकालाई प्राथमिकताका साथ रोजगारीमा राख्ने गर्दछन्। यस व्यवसायमा श्रमिकहरु विशेष गरि गायन, नृत्य, वेटर, भान्सा र सरसफाइका लागि लिइने गरिन्छ। व्यवसायको प्रकृतिका कारण ग्राहकहरुलाई रक्सी चुरोट जस्ता उत्पादनको बिक्रिवितरण गर्नुपर्ने, चर्को आवाज, ध्वनी, धेरै किसिमका व्यक्तिहरुको चमक र बन्द क्षेत्रभित्र कार्य गर्नुपर्ने हुँदा पेशागत स्वास्थ्य अत्यन्तै जोखिममा रहेको पाइन्छ।

अध्ययनले भन्छ एक चौथाई श्रमिकहरु यौन हिंसाको शिकार भइरहेका छन्। उनीहरुलाई रोजगारी छनौटको स्वतन्त्रता नरहेको, अत्यन्तै न्युन तलब र सुविधामा काम गर्नुपर्ने बाध्यता रहेको देखिन्छ। साथै यो रात्रीकालिन व्यवसाय रहेकोले सामान्यतया आधारातसम्म काम गर्नुपर्ने अवस्था छ।

नेपाल, बाल अधिकार महासन्धी, महिला विरुद्ध हुने भेदभाव निर्मुल गर्ने महासन्धी, निकृष्ट बाल श्रम सम्बन्धी आइएलओ महासन्धी १८२ को पक्ष राष्ट्र हो।

नेपालको संविधानले बालबालिकालाई श्रम शोषण, हिंसा तथा दुर्व्यवहार एवं बेचबिखनबाट संरक्षण दिनुपर्ने कुरालाई मौलिक हकमा राखेको छ। नेपालमा बालश्रम निषेध र नियमित गर्ने ऐन (२०५६) तथा मान बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने ऐन (२०६४) र श्रम ऐन २०७४ लागु भएको अवस्था छ। यी सबै कानुनी व्यवस्थाहरुले १४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई श्रममा संलगन गराउन र १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण र निकृष्ट श्रममा लगाउन निषेध गरेको छ।

मनोरञ्जन तथा सत्कार व्यवसाय बालबालिकाको लागि जोखिमपूर्ण र निकृष्ट बालश्रम हो। बालबालिकाहरुले रातीको समयमा काम गर्नुपर्ने, ग्राहकहरुलाई मदिरा र चुरोट जस्ता पदार्थहरुको वितरण गर्ने, श्रमिकहरुमाथी यौन शोषण र दुर्व्यवहार हुने तथा कार्यथलोमा बजाइने गीत संगीत एवं नृत्यहरु वयस्कहरुका लागि मात्र उपयुक्त भएकोले यस क्षेत्रमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको रोजगारीलाई निषेधित गरिनुपर्दछ।

नेपालको प्रचलित कानुन अनुसार निकृष्ट वा जोखिमपूर्ण श्रममा बालबालिकालाई संलग्न गराउने रोजगारदातालाई १ वर्ष कैद तथा ५० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ। साथै फौजदारी अभियोजन सम्बन्धि कार्यविधिमा एकै व्यक्तिविरुद्ध बहुअपराध भएको अवस्थामा सबैभन्दा बढी सजाय हुने अपराधको गणना गरी त्यसको डेढी सजाय गर्ने व्यवस्था रहेको छ।

यसका लागि के गर्न सकिन्छ ?

व्यवसायीहरुले अनिवार्य रुपमा आफ्ना कामदारहरुको व्यक्तिगत विवरण अद्यावधिक राख्ने र नियमित रुपमा नजिकको श्रम कार्यालयमा बुझाउने।

श्रमिक भर्ती गरिरहँदा अनिवार्य रुपमा नेपाली नागरिकताको प्रतिलिपी राख्ने व्यवस्था गर्ने।

श्रम कार्यालय र तोकिएको निकायबाट नियमित श्रम अवस्था अनुगमन गर्ने र यस प्रकृयामा श्रमिकहरुको व्यक्तिगत विवरण रुजु गर्ने।

मजदुर संगठन तथा गैससहरुले श्रमिकहरुलाई १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुलाई कामदार नियुक्त भएमा वा गरेमा नजिककको श्रम कार्यालय, गैसस वा मजदुर संगठनमा जानकारी दिन प्रशिक्षित गर्ने।   

श्रमिकका बालबालिकाको संरक्षण र स्याहारको व्यवस्था:

मनोरञ्जन तथा सत्कार व्यवसायसँग सम्बन्धित भएर देखिने अर्को सवाल हो। यस क्षेत्रमा कार्यरत श्रमिकहरुका बालबालिकाको संरक्षण र स्याहारको व्यवस्थालाई गम्भीरताका साथ लिनुपर्छ।

मनोरञ्जन तथा सत्कार व्यवसायले एकल महिला तथा घरेलु हिंसा पीडित वा विविध सामाजिक पारिवारिक लाञ्छानाबाट पीडित प्रभावित एवं गरिबीमा रहेका महिलाहरुलाई रोजगारीको अवसर प्रदान गरिरहेको छ। तर आफूसँग बालबालिकाको लालन पालनको जिम्मेवारी पनि रहेका महिला श्रमिकहरुको संवेदनशिलतामा भने यसले ध्यान दिन सकेको छैन। अधिकांश महिला श्रमिकहरुले कामको समयमा साना बालबालिकालाई घर कोठामा एक्लै छाड्ने, कोठामा राखेर बाहिरबाट ताल्चा लगाउने जस्ता संरक्षणका लागि गलत अभ्यासहरु भैरहेका छन्। यसले गर्दा श्रमिकका बालबालिकाहरु दुर्घटनामा पर्न सक्ने, कुपोषित हुने र अत्यन्तै जोखिमपूर्ण जीवन बिताउन बाध्य छन्। त्यसैले सम्बन्धित श्रमिकहरुको बालबालिकाको संरक्षणका लागि निम्न व्यवस्था व्यवसायीहरुबाट हुन जरुरी छ।

५ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि रोजगारदाताको लगानीमा रात्रीकालिन सामुहिक शिशु स्याहार केन्द्र सञ्चालन गर्ने। १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि रोजगारदाताको लगानीमा रात्रीकालिन सामुहिक अध्ययन, मनोरञ्जन तथा बाल संरक्षण केन्द्र सञ्चालन गर्ने। तथा श्रमिकका बालबालिकाहरुको जन्मदर्ता तथा विद्यालय भर्नाका लागि सहजीकरण गर्न सकेमा विद्यमान समस्या हल गर्न सकिन्छ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई ग्राहकको रुपमा प्रवेश निषेध गर्ने:

मनोरञ्जन तथा सत्कार व्यवसाय मुलत वयश्क ग्राहक केन्द्रित व्यवसाय हो। तसर्थ यस व्यवसायमा वयश्क लक्षित सेवा, उत्पादन र खाद्य तथा पेयपदार्थहरु बिक्रीवितरण हुन्छन्। मनोरञ्जन सेवाहरु पनि वयश्क लक्षित नै हुने गर्दछन्। तर अभ्यासमा भने १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरीहरु पनि यस व्यवसायका ग्राहकको रुपमा गइरहेका छन्।

कलेज तथा विद्यालयको पढाइ हुने समयमा नै किशोरकिशोरीहरु यस व्यवसायमा ग्राहकको रुपमा रहेको यस क्षेत्रका व्यवसायी तथा श्रमिकहरु बताउने गर्दछन्। किशोरकिशोरीहरु यस क्षेत्रको ग्राहक तथा उपभोक्ताको रुपमा सहभागी हुँदा उनीहरु मद्यपान, धुम्रपान, लागु औषध जस्ता कुलतमा फस्ने, यौन तथा उत्श्रृङ्खल व्यवहारको शिकार हुन सक्ने सम्भावना रहन्छ।

१८ वर्ष भन्दा कम उमेरकालाई मदिरा, सुर्ती तथा चुरोटको बिक्रीवितरण गर्न नेपालको प्रचलित कानुनले पूर्णतया निषेध र दण्डनीय गरेको छ। यस अर्थमा १८ वर्ष भन्दा कम उमेरका ग्राहकहरुको उपस्थितिले रोजगारादाता तथा व्यवसायीलाई कानुनी कारवाहीको दायारामा ल्याउन सक्दछ। त्यसैले यस व्यवसायमा बालबालिकाहरुको उपस्थिति पूर्ण निषेधित गरिनुपर्दछ ।

यसका लागि निम्न व्यवस्था लागु गरिनुपर्दछ:

१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई परिवारसँगै आएको अवस्थामा बाहेक व्यवसायस्थलमा प्रवेश निषेध गर्ने ।

परिवारसँगै व्यवसयमा ग्राहकको रुपमा आएका १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्ती तथा चुरोटको बिक्रिवितरण नगर्ने व्यवस्था कडाइका साथ लागू गर्ने।

प्रत्येक व्यवसायले आफ्नो व्यवसायको प्रवेशद्धारमा वयस्कका लागि मात्र, १८ वर्ष भन्दा कम उमेरकालाई प्रवेश निषेध चिह्न ठूलो र बुझिने गरि राख्न लगाउने।

प्रत्येक व्यवसायीले आफ्नो व्यवसायको बारे तथा काउन्टर र मेनुमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्ती तथा चुरोटको बिक्रिवितरण गरिदैन र जबर्जस्ती गरेमा कानुनी कार्वाही गरिने सूचना उल्लेख गर्ने।

व्यवसायीहरुले सुरक्षाकर्मी तथा अन्य श्रमिकहरुलाई १८ वर्षभन्दा कम उमेरका बालबालिकाको परिवारबिना प्रवेशमा रोक लगाउन र परिवारसँग आएका बालबालिकालाई सोही अनुरुपको खाना तथा सेवा मात्र प्रदान गर्न प्रशिक्षित गर्ने।

बाल संवेदनशिल स्थलहरुमा यस्ता व्यवसायको सञ्चालन निषेध:

मनोरञ्जन तथा सत्कार व्यवसायहरु स्थापना र सञ्चालनका लागि हाल कुनै पनि मापदण्डहरु तोकिएको पाइदैन। परिणामत: यस्ता व्यवसायहरु निर्वाध रुपमा जहाँपनि खुलिरहेका छन्। अधिकांशत यस्ता व्यवसायहरु विद्यालय, अस्पताल, मनोरञ्जन पार्क तथा बालबालिकाले विद्यालय बस चढ्ने स्थल वरपर र मन्दिर जस्ता धार्मिक स्थल वरपर नै सञ्चालन भइरहेको पाइन्छ। तसर्थ स्थानीय सरकारहरुले स्थानीय तह सञ्चालन सम्बन्धि ऐनले व्यवस्था गरेबमोजिम स्थानीय बजार व्यवस्थापनको अधिकार प्रयोग गर्दै बाल संवेदनशिल क्षेत्रमा मनोरञ्जन तथा सत्कार व्यवसाय सञ्चालन गर्न नपाइने नियम लागु गर्नपर्दछ। यस्ता व्यवसायहरु सञ्चालनका लागि स्थान सम्बनिध निम्न मापदण्डहरु लागू गर्न सकिन्छ:

मानीसहरुको आवस क्षेत्र रहेको बस्ती भन्दा न्युनतम ५०० मिटर पर, विद्यालय रहेको क्षेत्रभन्दा न्युनतम १ किलोमिटरको टाढा, बालबालिकाको मनोरञ्जनस्थल, बस स्टेशन, पार्क, मन्दिर जस्ता धार्मिक स्थलभन्दा न्युनतम पनि ५०० मिटरको दूरीमा मात्र व्यवसाय सञ्चालन गर्न दिने।

अन्तमा,

कुनै पनि व्यवसाय आफैमा खराब, अनैतिक र असामाजिक हुँदैन। राष्ट्रिय कानुनका सिमाभित्र रहेर, सामाजिक सांस्कृतिक मुल्य मान्यताहरुको विपरीत नरहेका व्यवसायहरु सञ्चालन गर्नाले समुदायमा रोजगारी र आर्थिक समृद्धि हासिल हुन्छ। तर, व्यवसायीक अभ्यासहरुमा ध्यान दिन सकिएन भने श्रमिकहरु शोषणमा पर्ने, व्यवसायीहरु अपराधिको रुपमा चित्रित हुने मात्र नभई सिंगो व्यवसाय नै सामाजिक लाञ्छनाको शिकार हुन पर्दछ।

यस अर्थमा मनोरञ्जन तथा सत्कार व्यवसाय मर्यादित र सुरक्षित व्यवसायको रुपमा अघि बढ्न बाल संरक्षणका सवालहरुको पनि सम्बोधन गर्न उत्तिकै जरुरी हुन्छ।

प्रकाशित मिति: : 2019-09-30 08:17:52

प्रतिकृया दिनुहोस्