आईजी साहेव, रविलाई भेट्यौ, अस्मितालाई किन भेटेनौै ?

सत्य सेवा सुरक्षा : एउटै आरोपका रवि-युवराजलाई भेट्ने अस्मितालाई नभेट्ने - के सन्देश दिन्छ यसले ? तस्बिर : फाइल ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले चितवन पुगेर हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । प्रहरी कार्यालय निरीक्षण गर्ने वहानामा उनी रविलाई भेट्न त्यहाँ पुगेका थिए । उनले रविलाई मात्र हैन, उनका सहकर्मी युवराज कँडेललाई पनि भेटे । तर, त्यही आरोपमा हिरासतमै रहेकी रूकु भनिने अस्मिता कार्कीलाई भने भेटेनन् । 

आखिर किन उनी बहाना बनाएर रविलाई भेट्न पुगे ? किन रविलाई भेट्ने आईजी खनालले त्यही आरोपमा हिरासतमा रहेकी अस्मिता कार्कीलाई भेटेनन् ? के आईजीको काम हिरासतमा रहेका आरोपीलाई भेट्दै हिड्ने हो ? हिड्ने भए किन कसैलाई भेटिन्छ र कसैलाई भेटिदैन ? यी र यस्तै प्रश्नहरू यतिबेला फालिम लागेर उभिएका छन् । 

पहिलो प्रश्नतिर जाउँ, प्रहरीले फसाउन लागेको भनेर रविका समर्थकहरूले आईजी खनालमाथि सत्तोसराप मात्र गरिरहेका छैनन्, खनालका ठाउँमा रमेश खरेल आईजी भएको भए रविले न्याय पाउँने थिए भनेर 'कोकोहोलो' पनि मच्चाइरहेका छन् । यही बेला आईजी खनाल चितवन पुगेका छन् । के त्यही दबाब थेग्न नसकेर रविलाई आश्वस्त पार्न उनी चितवन पुगेका हुन् ? अथवा, रविमाथि भैरहेको अनुसन्धानको अवस्था बु्झ्न र आइतबार कस्तो मुद्दा तयार गरिदैछ भनेर स्थलगत रूपमै बुझ्नुपर्ने भएर उनी त्यहाँ पुगेका हुन् ? 

आईजी साहेव, रविलाई भेट्यौ, अस्मितालाई किन भेटेनौै ? यसकारणले कि रवि शक्तिशाली थिए र भेट्योै । अनि, अस्मितासँग कुनै शक्ति थिएन त्यसैले भेटेनौ । यो बाहेक के उत्तर हुन सक्छ ?

उनले प्रहरी कार्यालय निरीक्षण गर्न गएको बताए । तर, हिरासतमा रहेका रविसँग करिव १५ मिनेट संवाद गरे । के यही जिल्ला प्रहरी कार्यालयको निरीक्षण?

दोस्रो प्रश्न, आईजी खनालले एउटै मुद्दामा परेका तीनमध्ये दुईजनालाई भेटे तर तेस्रोलाई भेटेनन् । भेटेका दुई टेलिभिजन जर्नालिष्ट थिए, पुरूष थिए । तुलनात्मक रूपमा शक्तिशाली थिए । त्यसमा पनि रवि लामिछानेको शक्तिको त अन्दाज गर्नै सकिदैन । स्थलगतदेखि भर्चुअल 'रवि सेना'सम्म उनका लागि ज्यान दिन तयार छन् । नभेटेकी महिला शक्तिहिन नर्स थिइन्, महिला थिइन् । र, रविको प्रचण्ड समर्थनको सेपमा थलिएकी एक विचरा पात्र थिइन् । त्यसैले उनी आईजी खनालले भेटिनुपर्ने सूचीमा परिनन् ? 

यसले फेरि पनि के प्रष्ट भयो भने नेपालमा न्याय दुई किसिमको छ- बलियाका लागि एक किसिमको, निर्धाका लागि अर्कै किसिमको । रवि शक्तिशाली छन् त्यसैले आईजीलाई यतिबेलै निरीक्षण गर्नुपर्ने हुन्छ र त्यही बहानामा भेटवार्ता चल्छ । तर, अस्मिता निर्धो छिन्, त्यसैले आईजी खनाल त्यही पुग्दा पनि भेटन आवश्यक ठान्दैनन् । कुरा प्रष्ट छ, तर पनि सामाजिक न्यायको कुरा गर्ने 'रवि सेना' को बोल्ती बन्द छ ।

तेस्रो प्रश्न, सैद्धान्तिक रूपले गम्भीर छ । त्यो के भने के आईजीको काम हिरासतमा रहेका आरोपीलाई भेट्दै हिड्ने हो  ? कि शक्तिशाली बनाइएकालाई चाँहि भेट्नुपर्ने हो ? 

यसरी भींडका अघि सत्य सेवा सुरक्षा डग्ने मात्र हैन,  कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी डग्ने हो भने त्यसले के सन्देश दिन्छ ? 

त्यसैले प्रश्न गर्न मन लागेको छ- आईजी साहेव, रविलाई भेट्यौ, अस्मितालाई किन भेटेनौै ? यसकारणले कि रवि शक्तिशाली थिए र भेट्योै । अनि, अस्मितासँग कुनै शक्ति थिएन त्यसैले भेटेनौ । यो बाहेक के उत्तर हुन सक्छ ?

 

प्रकाशित मिति: : 2019-08-24 10:12:38

प्रतिकृया दिनुहोस्