चितवनको भक्तिनीवगैचा गाँउ आफ्नो नामले भन्दा पनि मोतीप्रसाद बाले पालेको राँगोको कारण कुनै समय चर्चित थियो। मोतीप्रसाद बाले धेरै समयसम्म घर फेरेनन्, गोठ फेरेनन् तर राँगो फेरिरहे । उनी सानो राँगो ल्याएर पालनपोषण गर्थे।रातदिन नभनी दु:ख गर्थे, हरियो दुवो, भएसम्म डालेघाँस, चोकर, खान पाउथ्यो राँगाले।
यसो गर्नुको पछाडि मोतीप्रसाद बाको एउटै मात्र स्वार्थ थियो । ठुलो भएपछि घर व्यवहार यसैवाट चलाउनु पर्छ ।
मोतीप्रसाद बाले पालेको पालेको राँगो हुर्कदै जान्थ्यो । वयस्क भएपछि भैसी गनेर पैसा कमाउँथ्यो । भैसी 'वाली लगाउने' समय आएपछि वल्ल राँगोको महत्व हुन्थ्यो । अन्य समय कसैले राँगोको वारेमा सोधपुछसम्म पनि गर्दैनथे । भैसी 'वाली लगाउने' बेलामा राँगोको जात, मोटाई, उसको तत्परताको विषयले गाँउ-टोलमा चर्चा पाउँथ्यो ।
मोतीप्रसाद बा'को राँगोले जोत्ने, भारी वोक्ने काम केही गर्नु पर्दैनथ्यो । मात्र भैसी 'बाली' लगाए पुग्थ्यो । अन्यको तुलनामा भाग्यमानी थियो- मोतीबाको राँगो ।
कहिलेकाँही मलाई एनआरएनएको गतिविधि र मोतीप्रसादको राँगो उस्तै-उस्तै लाग्छ । यी दई विषय विषय वस्तुका हिसाबले नितान्त फरक हुन् । तर, प्रवृत्तिगत रुपमा हेर्ने हो भने खासै फरक पनि देखिदैन । अन्यथा अर्थ नलागोस् । निर्वाचन भएको करीव दुईवर्ष एनआरएनएको अत्तोपत्तो हुदैन । कहाँ छ भनी खोज्दै हिड्नु पर्छ । मेला-महोत्वसव, भेटघाट, शुभकामना आदान-प्रदान कार्यक्रम वा अझै भनौ एयरपोर्टमा नेताहरुलाई रातो, सुकिलो खादा ओढाउन यस्तै यस्तै अवसरमा मात्र एनआरएनए भेटिन्छ विदेशमा ।
केही वर्षदेखि पोर्चुगलमा रहेको एनआरएनएलाई नजिकवाट नियाल्ने मौका पाइरहेको छु । मलाई यत्ति थाहा छ- एनआरएनए पोर्चुगल यहाँका नेपालीको प्रतिनिधिमुलक संस्था हो । मेरो प्रिय कामना पनि यही बनोस् भन्ने नै हो ।
नेपालीको बाक्लो वसाई रहेको पोर्चुगलमा फेरि एकपटक दुईवर्षे चाड आएको छ । अर्थात् एनआरएन पोर्चुगलको निर्वाचन आएको छ । र, योसँगै एनआरएनको चहलपहल र चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ। तर, दु:खका साथ भन्नुपर्छ यो सरगमर्मी फेरि पनि नितान्त निर्वाचनकेन्द्रित छ । र, यसको नियत पनि साफ छ- साम, दाम, दण्ड भेद जे जे लगाएर भए पनि पद हडप्ने ।
सिधै भन्दा एनआरएन पोर्चुगलको चुनाव एजेण्डाविहीन छ । लिस्वनका गल्लीगल्लीमा दुई-चारजना एनआरएन नेपालीको समुह देख्न सकिन्छ । हातमा कापी कलम लिएका हुन्छन् र सोधी हाल्छन् - एनआरएनको सदस्यता लिनु भयो ? जब कसैको जवाफ 'छैन' हुन्छ । उनीहरू एक स्वरमा भन्छन्- 'ल सदस्य बनी हालौ, पैसा पछि दिए हुन्छ ।' जब कसैले हाताहाती वा उधारो सदस्यता लिन्छ । अनुरोधात्मक लयमा त्यही झुण्डवाट आवाज आउँछ- 'भोट हामीलाई दिनु है ।'
यो झुण्ड फरक फरक छ । पार्टीको, जातिको, भूगोलको अनेक आधारमा बाँडिएको छ । तैपनि उनीहरूको ध्येय एउटै छ- आफूलाई भोट दिने खालका बढीभन्दा बढी सदस्य बनाउँने र चुनाव जित्ने ।
सदस्य बनाउन रात-दिन नभनी खटिएका हुन्छन् यी झुण्डहरू । दिनभर फोन, भेटघाट सदस्यता विस्तार हुन्छ । राति यतिजना सदस्य बनाएर ब्यापक संगठन बिस्तार गरियो भनी सामाजिक सञ्जालमा पोष्ट हुन्छ । फलानो पार्टीले यति बनायो हामीले यति बनायौ । जारी छ यो दैनिकी, प्रस्तुत भैरहेको छ- प्रगति विवरण ।
सदस्य कसले कत्ति बनाए ?, त्यसैमा निर्भर रहन्छ एनआरएनएको निर्वाचन । कम सदस्यता बनाएको पार्टी वा संगठनले निर्वाचन नगरौ सहमतिमै जाऔ भन्छ । अनि बढी सदस्य बनाएको पार्टी वा संगठनले निर्वाचनलाई प्रजातान्त्रिक पद्दतिको हवाला दिदै लोकतन्त्रमा निर्वाचनको महत्वका बारेमा दर्शन छाँट्छ । अन्तिममा कथमकदाचित सहमति नै भयो भने पनि कुन झुण्डले कति सदस्य बनायो, त्यसैको आधारमा हुन्छ । पूरापूर एजेण्डा विहीन।
यहाँ कसैले मैले निर्वाचन जिते भने यो गर्छु भन्नै पर्दैन । चुनाव जितेपछि एजेण्डाको फाइल वन्छ । भेटघाट, कार्यक्रम, नेताहरुको स्वागत आदि इत्यादिको चरण सुरू हुन्छ । प्राय: एनआरएनएको निवार्चनपूर्व हुने क्रियाकलाप यी र यस्तै यस्तै नै हुन् ।
हुन त विदेशिएका नेपालीरको साझा संस्थाहो एनआरएनए । तर, यो साझा संस्था बन्न सकेन । दुखेसो आम परबासी नेपालीको यही नै हो । जव निर्वाचन आउँछ, अनि बल्ल खोजिन्छन् नेपालीहरु । खोजी कार्यमा त्यो नेपाली पर्दैन जसले साँच्चीकैै एनआरएनबाट अभिभावकत्व खोजिरहेको छ । त्यो खोजिन्छ जो एनआरएनको सदस्यतालाई पार्टीको ह्विपअनुसार भोटमा बदल्न तयार हुन्छ, त्यसका लागि लालायित हुन्छ ।
विश्वभर रहरले, कहरले, भाग्यले, वाध्यताले वा नियतिले जे ले भने पनि छरिएर रहेका नेपालीलाई एउटै मालामा उन्ने जिम्मेवारी कसको हो ? राजनितिक दलको, एनआरएनए वा भौगोलिक, आधारमा जातियताको नाम दिदै समुह खोलेका ठेकेदारहरुको ? यो सामान्य विषय हुदै होइन ।
लिस्वनका गल्लीगल्लीमा दुई-चारजना एनआरएन नेपालीको समुह देख्न सकिन्छ । हातमा कापी कलम लिएका हुन्छन् र सोधी हाल्छन् - एनआरएनको सदस्यता लिनु भयो ? जब कसैको जवाफ 'छैन' हुन्छ । उनीहरू एक स्वरमा भन्छन्- 'ल सदस्य बनी हालौ, पैसा पछि दिए हुन्छ ।' जब कसैले हाताहाती वा उधारो सदस्यता लिन्छ । अनुरोधात्मक लयमा त्यही झुण्डवाट आवाज आउँछ- 'भोट हामीलाई दिनु है ।'
पोर्चुगलमा यही संस्कार बसेको छ । अन्यत्र पनि यही हो । सीमाको आधारमा, जातको आधारमा,आस्थाको आधारमा सदस्यता बनाउने र चुनाव गर्ने हो भने अवदेखि एनआरएनए होइन लायन्स, लियो क्लबजस्तै धनीहरुको क्लवमा एनआरएनलाई रुपान्तरण गरौ । हरेक महिना मोटो रकम उठाएर होटलमा डिनरको आयोजना गरौ । होइन भने एनआरएनमा राजनीतिको आडमा नेतृत्वको भाग लगाउने प्रवृत्तिको अन्त्य गरौ।
यहाँ नेपाली कतिको संख्यामा छन्, कसरी बसेका छन् त्यो चासोको विषय होला । तर, टाउको गनेर वा किनेर चुनाव जित्ने प्रवृतिले यो मूल विषय गौण बन्दै गएको छ । करिब २५ हजारको हाराहारीमा नेपाली रहेको शहनशीलताको प्रतीक लिस्वन शहरमा मुस्किलले तीन हजार मात्र सदस्य बन्नुले एनआरएनएप्रतिको वितृष्णा बढेको देखिन्छ । यो वितृ्ष्णाको चढ्दो ग्राफले एनआरएनको भविष्य के होला भन्ने बारेमा समेत जिम्मेवार भएर सोच्ने वेलाको संकेत गरेको छ । स्वभाविक प्रश्न उठेको छ- यसको औचित्य कसका लागि र किन?
सन २००३ अक्टोवर ११ मा नेपालीका लागि नेपाली भन्ने मुलनाराका साथमा एनआरएनएको स्थापना भएको थियो । संघ स्थापना भएको डेड दशक पूरा भएको छ । यो अवधलमा नेतृत्वको लागि खुट्टा तानातान नभएको होइन । कसैले धनको आधारमा, कसैले राजनीतिक पहुँचको आधारमा खुट्टा तान्ने खेल खेली नै रहे । स्थापनादेखि नै यो संघ शंकाको घेरामा पनि तानियो । दुई, चारवटा देखिने काम भए तर आम नेपालीले महशुस गर्ने खालको काम एनआरएनएको केन्द्रवाट भएन ।
अब त यो संस्था नाम र पदको भोकले स्थापना गरिएको होइन भनी प्रमाणीत गर्न पनि मुश्किल हुदैगएको छ । हरेक दुई वर्षमा हुने अधिवेशनले नयाँ अनुहार त ल्याउला । तर, खाडीमा पसिना बगाइरहेको नेपालीको दु:खमा साथ दिन सक्दैन । मानव तस्करको डोरी समाएर युरोप आउँदै गरेका युवालाई फर्काउन सक्दैन । केही करोड लगानी भित्राएको भरमा एनआरएनको महत्व बढ्दैन ।
एनआरएनको महत्व बढाउनका लागि त त्रिभुवन विमानस्थलमा विदाई गर्न आएका बृद्द आमाबाबुलाई छोरो सकुशल स्वदेश फर्कने आधार तयार पार्नसक्नु पर्छ एनआरएनले । नेपालको भूमि छोडेका हजारौ युवायुवतीको अभिभावक बन्न सक्नु पर्छ एनआरएन । तर, दु:खका साथ भन्नुपर्छ एनआरएनएले त्यो गर्न सकेको छैन । मात्र भाषण, आसन र खादा-
मालामामात्र सीमित छ एनआरएनए । विधानमा प्रस्ट उल्लेख गरिएको छ गैर-नाफामुलक, गैर-राजनीतिक, विदेशमा छरिएका नेपाल र नेपालीहरुको हकहितमा काम गर्ने । तर, यो विधानलाई मान्न भन्दा पनि नमान्न प्रतिस्पर्धा छ । संघको विधानलाई अटेर गरी व्यक्तिगत र दलगत स्वार्थका लागि संघको प्रयोग हुने क्रम बढ्दो छ । इतिहास साक्षी छ एनआरएन युकेमा पदको लागि कुर्ची भाँचियो, अमेरिकामा मुद्दामामिला भयो, डेनमार्क,कतारमा चुनाब रोकियो । के यो र यस्तो गतिविधि नेपालीको हितमा थियो ?
र, अन्त्यमा समाजसेवीहरुको ढोगी अभिनयका लागि सजिएको मञ्च एनआरएनए नबनोस् । मोतीबाले पालेको राँगोजस्तो 'वाली लगाउने' बेलामा मात्र उसको अतित्व नखोजियोस् ।