आधुनिक नेपालका निर्माताहरूमध्ये सम्भवतः श्रेष्ठतम् व्यक्तित्व वीपी कोइरालाको देहान्त भएको ३७ वर्ष भएको छ।
स्वासनलीको क्यान्सरबाट उत्पन्न जटिलताले कोइरालाको विक्रमको २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो।
धेरैलाई थाहा नहुन सक्छ, २००७ सालको राणा शासन विरोधी क्रान्तिका महानायक, देशको इतिहासकै पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री र उच्चकोटीका साहित्यकार वीपी अर्बुदको रोगबाट बित्नुभन्दा लगभग ३७ वर्ष पहिले नै झण्डै झण्डै मारिइसकेका थिए, त्यो पनि राणा प्रशासनको जेलमा।
विक्रमको २ सालको कुरो हो भारतबाट गोप्य रूपमा काठमाडौं आएका विद्रोही नेता वीपीलाई राणा प्रधानमन्त्री मोहन शमशेरको आदेशमा, उनको अन्तिम संस्कार गर्ने पूरा तयारीका गरेझैँ सदर जेलको यस्तो खराब कोठामा पशुको भन्दा पनि दयनीय अवस्थामा कैद गरिएको थियो जहाँबाट जीवित वा मानसिक रूपले सारसौँदो बाहिर निस्कन लगभग असम्भव थियो। जननायक वीपीले भोगेका अमानवीय यातनाका ती दिनहरूको इतिवृत्त यस्तो छः
राणा शासनको अन्त्यको लागि जनक्रान्ति गर्ने उद्देश्यले भारतमा खोलिएको नेपाली भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष वीपी कोइराला काठमाडौंका राणा शासन विरोधी वागी युवाहरूलाई भेटी क्रान्तिका पक्षमा जनमत जुटाउँन आएका बेलामा स्थानीय बाङ्गेमुढा टोलका त्रिरत्न मानन्धरका घरबाट पक्राउ परेका थिए।
त्यतिबेलासम्म वीपी कोइराला त्यति धेरै प्रख्यात त भइसकेका थिएनन् तर उनले आफ्ना विद्रोही स्वभावका पिताजी कृष्णप्रसाद कोइरालाको जुन विरासत पाएका थिए राणाहरूलाई तर्साउँन त्यो पर्याप्त थियो।
त्यसैले वीपीका सबै राजनीतिक गतिविधिहरूलाई रोक्न र उनलाई दण्डित गर्न जरूरी ठानेका राणाहरूले धुइँपत्ताल गरेर खोजी गरी उनलाई गिरफ्तार गरेका थिए।
म आफैँसँग वचनबद्ध छु
राणाहरूले हिरासतमा लिइएका वीपीसँग काठमाडौंमा आएर उनले कुन कुन व्यक्तिसँग सम्पर्क गरे अथवा यहाँ उनलाई नैतिक भौतिक सहयोग ककसले गरेका थिए भन्ने कुराको खुलासा गर्न ठूलो दबाव दिइएको थियो।
तर वीपीले राजधानीमा भएका आफ्ना सम्पर्क सूत्रहरू र आफूलाई मद्दत गर्नेहरूको नाम ठेगाना खुलाउँन प्रष्ट शब्दमा इन्कार गरिदिए।
उनीसँग बयान लिने त्यस समयका हजुरिया जर्नेल हरिशमशेर जबराद्वारा उनबाट कुरा खुस्काउँन गरिएका सबैखाले प्रयासहरूलाई असफल बनाइदिए थिए वीपीले।
उनले भारतबाट आफूसँग आएका कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका बारेमा मात्र होइन काठमाडौंमा सहयोग गर्ने त्रिपुरवरसिंह प्रधान, सुन्दरराज चालिसे र उनकी पत्नी सुशीला, नेपाल प्रजा परिषदका बन्दी नेता टंकप्रसाद आचार्यकी पत्नी रेवन्तकुमारी आचार्य, किलागलका तीर्थप्रसाद प्रधान आदि कसैका बारेमा एक शब्द पनि उच्चारण गरेनन्।
आफूसँग बयान लिइरहेका, बात बातमा फोहोर गालीका शब्द मुखबाट निकाल्ने जर्नेल हरि शमशेर जबराको आँखामा सोझै हेर्दै वीपीले भनेका थिए ‘तपाइँको प्रश्नहरूको उत्तर दिन मेरो नैतिकताले दिँदैन। म जहाँ जहाँ बसेँ, जजसलाई भेटेँ, ती सबैसँग यी सब कुराहरू गोप्य राख्ने मैले प्रण गरेको छु। नेपाली राष्ट्रिय कांग्रेसको सभापतिका हैसियतले राणा शासन बिरोधी गतिविधि गर्न मैले स्वविवेक प्रयोग गरेको हुँ। यस क्रममा मलाई सहयोग गर्ने कसैको नाम कुनै पनि अवस्थामा उच्चारण नगर्न मैले आफैँसँग पनि शपथ खाएको छु, जसलाई म कुनै पनि हालतमा तोड्न सक्दिनँ।’
वीपी कोइरालाबाट कुनै पनि कुरा फुत्काउँन नसकेपछि क्रुद्ध भएका हरिशमशेरले प्रधानमन्त्री मोहनशमशेरको आज्ञा लिएर वीपीलाई सदर जेल काठमाडौंमा एउटा अत्यन्तै असुविधाजनक कोठरी तयार गर्न लगाई त्यसैमा थुनिदिए।
वीपीलाई थुनेको त्यो कोठरी यति खराब हालतमा थियो त्यहाँ मरोस् अथवा दिमागी सन्तुलन बिग्रिएर खेर जाओस् भनेर नै राखिएको थियो भन्ने कुरामा विश्वास भएको थियो उनलाई केही दिनमै।
तर वीपी थिए अदम्य साहस र दृढ इच्छाशक्ति भएका व्यक्ति जसले मातृभूमिलाई मध्ययुगीन सामन्ती शासनको पन्जाबाट बाहिर निकाल्ने महान् आन्दोलनको नेतृत्व गर्नुपर्ने थियो भविष्यमा गएर। त्यसैले उनी मृत्युको चीसो स्पर्शको एकदमै नजिक पुगेर पनि उम्कन सफल भए।
उनले त्यस बखत गरेको २९ दिन लामो भोक हडताल नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ध्येयनिष्ठा, धैर्य, साहस र जीजीविषाको अद्भूत दृष्टान्तका रूपमा स्वर्णक्षरमा अंकित छ।
वीपीले आफ्नो मुक्तिको अन्तिम प्रयासका रूपमा शुरू गरेको आमरण अनसनका बेलामा सारा संसारलाई आफ्नो दर्दनाक अवस्थाको जानकारी गराउँने हेतुले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई एउटा चिठी लेखेका थिए। बडो कष्टसाध्य प्रयत्नका साथ कागज र कलमको जोहो गरेर अंग्रेजी भाषामा लेखिएको त्यो चिठीको सम्पादित अंशको नेपाली रूपान्तरणः
म मर्छु मि बाँच्छु भन्न सक्दिँन
‘आदरणीय पण्डितजी, यो चिठी तपाइँसमक्ष पुग्छ कि पुग्दैन म भन्न सक्दिनँ। पुग्यो भने म अहिले कति खराब हालतमा राणाहरूको जेलमा कैद छु भन्ने कुरा तपाइँले थाहा पाउँनु हुनेछ। मलाई काठमाण्डूमा आश्रय दिने त्रिरत्न मानन्धरको घरबाट गिरफ्तार गरेर ल्याई केही दिनको केरकारपछि यहाँ सदर जेलको एउटा अत्यन्त खराब कोठाको एकान्तमा जसरी कैद गरिएको छ मलाई लाग्दछ, राणा प्रधानमन्त्रीले मेरो मानसिक सन्तुलन गुमोस् अथवा यही एकान्तमै मेरो प्राण जाओस् भन्ने सोच राखेको हुनु पर्दछ।
मलाई सिंहदरबारबाट यस जेलमा लिएर आउँदा बिहानको करीव २ बजेको हुँदो हो। काठमाण्डूको विशाल सदर जेलको मुख्य ढोकाको छेउमा साना साना २ वटा कोठाहरू रहेछन् जुन उपचार गर्न नसकिने गरी मानसिक वा भौतिक रूपले बिरामी भएका र जनरल वार्डमा राख्नै नसकिने खालका मानिसहरूका लागि छुट्याइएका हुनु पर्दछ। ती मध्ये एउटा कोठा मेरालागि सफा गरियो। ती कोठाहरू यस्तो अवस्थामा थिए कि डाक्टरले त्यहाँ कोही पनि बस्न नसक्ने ठहर्याएका थिए र त्यसअघि ती दाउरा राख्न प्रयोग भइरहेका थिए। मेरो कोठा मर्मत गरिएको र ढलानको पक्की छाना लगाइएको भए तापनि असाध्यै होचो र पानी चुहिने थियो। त्यस कोठाको लम्बाइ चौडाइ केवल सात सात फीटको थियो र दिसा पिसाबका लागि बीचमा सानो प्वाल बनाइएको थियो।
मेरो भान्साको प्रयोजनका लागि कोठाको एउटा कुनामा तीन वटा इँटा राखिएका थिए। त्यहीँ राखिएको एउटा भिजेको काठको खाटमा सिपाहीहरूले मलाई यहाँ ल्याउँदा सँगै ल्याएको एउटा राडी ओछ्याइदिए।
कोठा यति अँध्यारो थियो कि मलाई त्यो कालकोठरी जस्तै लाग्यो। यहाँ घाम अलिकति छिर्ने ग्रिल हालेको एउटा सानो झ्याल त थियो तर त्यो खोल्नै नसकिने गरी बन्द गरिएकोलेकुनै काममा आउँन सक्दैनथ्यो।
मलाई ६ महिनासम्म त्यहाँ राखियो। त्यस अवधिमा मैले कहिल्यै कुनै मानिसको मुख देख्न पाइँन। तिथिमिति पनि बिर्सन थालेँ। शुरू शुरूमा आफूले त्यहाँ बिताएको दिन गन्न दिनदिनै भित्तामा एउटा अर्को धर्को तान्ने गर्दथेँ तर बारम्बार झुक्किन थालेकोले केही समयपछि त्यसो गर्न पनि छोडिदिएँ। मलाई नेल ठोकिएको थियो र एउटा हातमा हतकडी पनि लगाइएको थियो। मेरो कम्मरमा बाँधेको साङ्ग्लोलाई झ्यालको ग्रिलमा लगेर बाँधिएको थियो।
मलाई त्यस कोठामा हुलिदिएको दोस्रो दिन बिहानै जेलर आए।
उनले मलाई मेरो दैनिक रासनका रूपमा राम्ररी नकेलाइएको तीन पाउ चामल, एक पैसा, तीन वटा खोर्सानी, अलिकति नून र दाउरा दिने कुरा बताए। त्यस बाहेक दाल तरकारी जस्ता अरू खानेकुरा केही पनि दिने नियम नभएको पनि भने उनले।
त्यस दिन बिहान जेलर एक घण्टा जति बसे त्यहाँ। मैले खाएर बढी भएको चामल बेच्दा आउँने पैसाले अरू चीज किने हुन्छ पनि भने जेलरले। मैले तीन पाउ चामल सबै खान नसक्ने हुनाले आधा जति बेचेर त्यसबाट आएको पैसाले तरकारी किन्न सक्दथेँ। त्यस दिन यति कुरा बताएर गएका जेलर त्यसपछि ५ महिनासम्म फर्केर आएनन्।
मसँग भाँडाकुँडा नभएकोले कसरी, केमा खाना पकाउँने भनी सोधेँ मैले। उनले त्यसको व्यवस्था नभएकोले घरबाट झिकाउँनु पर्दछ भने उनले। मैले काठमाडौंमा मेरो घर छैन भनेँ। त्यसो भए साथीभाइहरूलाई भाँडाकुँडा ल्याउँन लगाउँनु भनी उनले सल्लाह दिए। मेरो साथी पनि कोही नभएको बताएपछि उनले केही भाँडाकुँडाको व्यवस्था गरिदिने आश्वासन दिए।
मलाई थुनामा राखेको कोठा महिला जेलको ठिक अगाडिपट्टि थियो। त्यस महिला जेलकी चौकिदार्नीले दिसा बस्न जाँदा लाने गरेको आल्मोनियमको लोटा ल्याइदिइन् र त्यसलाई सफा गरी भात पकाउँन हुन्छ भनिन्। मैले लोटा लिएँ र त्यसलाई सफा गरेँ। त्यसमा रोग सर्ने खालका किटाणु भए पनि त्यसलाई आगोमा बसालेपछि मरिहाल्छन् भन्ने लाग्यो मलाई।
भित्तामा एउटा सानो प्वाल बनाइएको थियो, त्यसैबाट सधैँ बिहानीपख मेरो रासन र पानी भित्र छिराइदिन्थे। म एक प्रकारको खोले पकाउँने गर्दथेँ। यस्तै किसिमले ६ महिना बित्यो।
तोकेको त्यो रासन बाहेक उनीहरूले मलाई अरू केही पनि दिएनन्। फेर्ने लुगा पनि दिएनन्। लुगा धुने ठाउँ पनि थिएन। मैले लगाएको लुगा मैलोधैलो र झुत्रो हुँदै गयो। तर म भने लुगा र शरीर मैलो भएको भन्दा आफ्नो मानसिक सन्तुलन गुम्छ कि भन्ने कुरालाई लिएर सार्है चिन्तित रहन थालेँ। तर मैले ठूलो प्रयत्न गरेर मानसिक सन्तुलनलाई गुम्न दिइँन।
ती लामा ६ महिनाहरूमध्ये प्रत्येक दिन जसो म आफ्नो हालतका बारेमा बाहिरी दुनियाँलाई खबर पडाउँन सकिन्छ कि भन्ने जुगाड गरिरहेको थिएँ।
छ महिनापछि मैले बाहिरी दुनियाँसँग सम्पर्क साध्न सकिने एउटा सानो अवसर भेट्टाएँ।
एक दिन मेरो कोठरीको बाहिरपट्टि बसेर एउटा चौकिदारले प्रेमलहरी गाइरहेको सुनेँ र उसलाई बोलाएँ। ऊ बन्द कोठाको बाहिरपट्टि आएर उभियो। उसको स्वर सुमधुर छ भनेर अतिप्रशंसा गरिदिएँ। त्यो चौकिदार तामाङ थियो र मेरो प्रशंसा सुनेर दङ्ग पर्यो। मैले उसलाई के गरिरहेका छौ भनेर सोधेँ। उसले आफ्नी स्वास्नीले बुनेको हाते रुमाल धोइरहेको छु भन्यो। उसकी स्वास्नीले हाते रुमालमा फूलबुट्टा भरेको होला होइन ? भनेर पनि सोधेँ। उसले हो, कसरी थाहा पाउँनु भयो ? भन्यो।
किन सेनामा जागिर खायौ ? तलब कति छ ? भनेर सोधेँ मैले उसलाई। उसले ३० रूपैयाँ मासिक तलब छ भन्यो। मैले भारतीय सेनामा भर्ती हुन लाहौर किन नगएको भनेर सोधेँ। एकचोटी भागेर गएको त थिएँ तर भीमफेदीबाट समातेर ल्याए भन्यो उसले।
भारतमा त्यस तामाङलाई सहयोग गर्ने कोही थिएनन् र यहाँ पनि उसका चिनजानका मानिस कोही थिएनन्। ऊ भने भारतीय सेनामा काम गर्न इच्छुक थियो। मैले बाहिर बसेका मेरा मान्छेहरूसँग सम्पर्क गर्न पाएँ भने उसलाई भारतीय सेनामा भर्ती हुन मद्दत गर्न सक्छु भनेँ। मैले कसलाई सम्पर्क गर्न खोजेको भनी सोध्यो उसले।
म माष्टर पूर्णबहादुर भन्ने एक जना शिक्षकसँग सम्पर्क राख्न चाहन्थेँ जससँग म यहाँ भूमिगत रहँदा एक रात सँगै बसेको थिएँ। यदि उहाँलाई भेटी केही कागज र सिसाकलम ल्याइदिन सक्छौ भने म तिमीलाई भारतीय सेनामा भर्ना हुन मद्दत गरिदिन्थेँ भनेँ र पूर्णबहादुरको ठेगाना दिएँ।
एक रात मात्र सँगै बसेको भए पनि मलाई पूर्णबहादुर मास्टरका बारेमा हल्का सम्झना थियो। उनकहाँ जाने बाटो मलाई मोटामोटी रूपमा थाहा थियो त्यही नै मैले त्यस तामाङ चौकिदारलाई बताइदिएँ। तर, त्यो तामाङ जतिपटक त्यहाँ गए पनि भेट्नु पर्ने मानिसको नाम बिर्सदो रहेछ। कहिले के कहिले के बहादुर भन्ने तर पूर्णबहादुर कहिल्यै नभन्ने। त्यसपछि मैले उसलाई एउटा तरिका सिकाएँ। नेपालीमा आइमाईको गुप्ताङ्गको पहिलो अक्षर ‘पु’ हुन्छ। मैले उसलाई त्यही अक्षर सम्झन भनेँ।
यसरी त्यस चौकिदार केटाले मेरो सम्पर्कको नाम सम्झियो, उनलाई भेट्यो र उनीबाट कापी र सिसाकलम उपलब्ध गरी भित्ताको प्वालबाट कोठामा छिराइदियो। पूर्णबहादुरलाई भेट्नुअघि त्यस तामाङले मलाई साबुनको खोल र सिसाकलमको एउटा सानो टुक्रो दिएको थियो। यो चिठीको पहिलो अंश मैले त्यस खोलमा लेख्न शुरू गरेको थिएँ।
जेलको नारकीय जीवनबाट म वाक्कदिक्क भइसकेको थिएँ। त्यसपछि मैले आमरण अनशन बस्ने निर्णय गरेँ। त्यतिबेला सदर जेलमा भट्टराई बन्धुहरूमध्ये सबैभन्दा जेठा बटुकप्रसाद पनि अर्कै काण्डका राजबन्दीका रूपमा कैद थिए। उनी अत्यन्तै धार्मिक प्रवृत्तिका र ज्योतिषशास्त्रमा पनि दखल राख्ने विद्वान मानिस थिए।
संयोगले भेट भएका बेलामा मैले आफू आमरण अनशनमा बस्न आँटेको कुरा बताउँदा उनले आउँदो अक्षयतृतीयाको दिन शुभ भएकाले त्यसै दिनबाट शुरू गर्दा राम्रो हुने सल्लाह दिए।
मेरा मित्र कृष्णप्रसाद भट्टराईका जेठा दाइ बटुकप्रसादले बताएको अक्षय तृतीयाको दिनबाट मैले भोक हडताल शुरू गरेँ। आठ दिनसम्म दिनदिनै मेरो रासन ल्याइयो। तर मैले त्यसलाई छुँदै छोइन। आठौँ दिनमा अलिकति नूनपानी खाएको थिएँ, दिसामा रगत देखियो र रगतमासी परेर दिनमै अठार बीस पटकसम्म दिसा जानुपर्ने भयो। जेलका अधिकारीहरूले बाहिरबाट यो सब देखिरहेका थिए।
त्यसैले उनीहरूले डाक्टर बोलाउँन पठाए। डाक्टरले आएर जाँचेपछि खानेकुरा र औषधि खाने सुझाव दिए तर मैले ती दुवै चीज नखाने निर्णय सुनाइदिएँ। मेरो स्थिति दिन प्रतिदिन बिग्रिँदै गयो।’
वीपीले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखेको यो चिठी त्यतिबेला आजन्म काराबासको सजाय भोगिरहेका नेपाल प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्यकी पत्नी रेवन्तकुमारी आचार्यले बडो सावधानीका साथ लुकाएर बनारसमा रहेका कृष्णप्रसाद भट्टराईसम्म पुर्याइदिएकी थिइन्।
भट्टराई सो चिठी पाएकै दिन नेपाली राष्ट्रिय कांग्रेसका महामन्त्री बालचन्द्र शर्मालाई साथ लिएर दिल्ली प्रस्थान गरेका थिए। भनिन्छ वीपीको त्यो चिठी पढेर अत्यन्त उद्विग्न र विचलित भएका स्वतन्त्र भारतका शक्तिशाली प्रधानमन्त्री पण्डित नेहरूले त्वरित् कुटनीतिक कदम चालेपछि वीपी कोइरालाको प्राणरक्षा र रिहाइ सम्भव भएको थियो। यो पनि हेर्नुहोस्