भर्खरै एनआरएन अस्ट्रेलियाको चुनाव संम्पन्न भएको छ । चुनावमा केशव कंडेलले 'मिराकल' गरेर आफ्नो समुहलाई बिजयी गराएको बहस छ । बहस हुँदै गर्छ तर परिणामले दुई कार्यकाल भिक्टोरिया राज्यको एनआरएनमा नेतृत्व गरेका कंडेललाई अबको दुई बर्ष सिंगो अस्ट्रेलियाकै एनआरएनको नेतृत्व गर्ने म्यान्डेट मिलेको छ । यो भने घाम जतिकै सत्य हो ।
चुनाव अघि र पछिका बहसलाई केन्द्रित गर्दा एनआरएन अभियानमा ध्यान दिनैपर्ने केही तथ्यहरु अघि देखापर्छन् । सार्क मुलुकबाहिर रहेका लाखौ प्रवासी नेपालीलाई संगठित गर्न र नेपालतिर आकर्षित गर्न निर्माण भएको एनआरएन अभियान मुलत: ठीकै अवस्थामा भएपनि केही कुरा भने सच्याउनुपर्ने देखिन्छ ।
बढ्दो संख्या घट्दो आकर्षण
सार्क बाहिर नेपालीको संख्या बढ्दो छ । स्वभाविक रुपमा अध्ययन , रोजगारी र बसाइ सराइका क्रममा नेपाली विदेशमा बढ्दैछन् । संख्या बढेसँगै समस्या पनि बढेका छन् । समाजको अपेक्षाअनुसार एनआरएन संस्था समस्याको सहयात्री बन्न सकेको छैन । त्यसैले संख्या बढे पनि आकर्षण भने घटेको छ । विश्वको सबैभन्दा ठुलो एनआरएन अस्ट्रेलिया हो । यसमा साढे एघार हजार सदस्य छन् । तर, अस्ट्रेलियामा रहेका अनुमानित एक लाखभन्दा बढी नेपालीको संख्याको यो दश प्रतिशत मात्रै हो । संस्थाप्रतिको आकर्षण कम छ भन्ने कुराको अर्को प्रमाण सञ्चारकर्मीका रुपमा भन्नुपर्दा एनआरएनसम्बन्धी समाचारका डिजिटल पाठक एक हजार हुँदा प्रवासको कुनै अर्को समाचारका डिजिटल पाठक दस हजार हुनु हो ।
अस्तित्त्व प्रदर्शनको प्लेटफर्म
एनआरएन अभियानमा जोडिन चाहनेको पहिलो ‘मोटिभेसन’ अस्तित्व वा पहिचान स्थापित गर्ने भएको छ । अस्ट्रेलियाको एनआएन चुनावलाई बिगत केही कार्यकालदेखि हेर्दै आउँदा एक्कासी चुनावताका देखिने सयौ समाजसेवी चुनावलगतै बेपत्ता हुन्छन् । अर्को चुनावमा फेरि त्यस्तै समाजसेवीको लश्कर देखिन्छ । यस्तो लाग्छ, यो सबै आफ्नो पहिचान वा अस्तित्त्व देखाउँन वा आफ्नो व्यापारिक बिज्ञापन बढाउन गरिने उन्मादी काम मात्र हो । धेरैका लागि यो एक किसिमको दुई वर्षमा फेरिने फेसनजस्तै पनि भएको छ ।
खर्चिलो र भड्किलो
एनआरएन अभियान नेपाल देश र नेपाली मूलसँग जोडिएर केही गर्ने अभिप्रायले सुरू भएको हो । तर, देश बाहिर रहदा पनि आफ्नो सामुदायिक नेतृत्त्व चयन वा निर्माण गर्ने कुरा निकै खर्चिलो भएको छ । उदाहरणको लागि एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदको चुनावी तयारी गर्नेले कम्तिमा पनि एक लाख अस्ट्रेलियन डलरको खर्च पहिले नै अनुमान गरेको हुन्छ र त्यो अनुसाररको तयारी गरेको देखिन्छ । अन्य पदका उम्मेद्वारको पनि खर्च पनि निकै भड्किलो छ । आफ्नो व्यवसाय र परिवारलाई समय दिन नसकेर हुने भौतिक/अभौतिक नोक्सानीको त कुनै हिसाब नै छैन । चुनावमा हजारौ डलर छुट्याउने व्यक्ति वास्तविक समाजसेवाका लागि भने एक सय डलर प्रदान गर्न पनि अप्ठेरो मानिरहेको हुन्छ । यो भड्किलो र खर्चिलो प्रवासी समुदायको चुनावी रोगको बेलैमा उपचार भएन भने यसले वास्तविक नेतृत्त्वभन्दा पनि खर्च गर्नेले नेतृत्त्व हत्याउने गलत परम्परा स्थापित हुन्छ । घरदेशको यो रोग परदेशमा पनि सर्नु किमार्थ राम्रो हैन ।
नेपालका दलको छाता र छाँया
प्रवासका नेपाली सस्थामा अर्को जबर्जस्त रोग छ, त्यो हो नेपालका राजनीतिक दलको छाता ओड्नु र छाँया बन्नु । केही साताअघि अमेरिकामा र अघिल्लो हप्ता अस्ट्रेलियामा भएको एनआरएन चुनावमा उम्मेदवारको हार वा जित भएन, त्यहाँ त बाम र गैर-बामको हार वा जीत भयो । अस्ट्रेलियामा त नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल आएर यहाँ नमिलेका कांग्रेसलाई मिलाएर र परिणाम उनीहरूको पक्षमा पारे । बामपन्थी र उपेन्द्र यादवको समाजबादीवाला मिलेर समाबेशी समुह बनाए तर पनि उनीहरुको केही सिप चलेन, हारे । प्रवासमा नेपालको माटोमा जन्मेको वा प्रयोग भएको राजनीतिक बिचारको बहस गर्नु वा समर्थन र बिरोध गर्नु स्वभाविक हो । तर, दलहरुको छाँया बनेर सामाजिक संस्थामा राजनीति गर्नु राम्रो होइन । त्यसो गर्दा प्रवासमा यहाँको आवश्यकता र क्षमताको ‘अर्गानिक' नेतृत्त्व बिकास हुदैन । नेपालका दल र तिनका प्रवासी भातृसंस्थाले एनआरएन कब्जा गर्ने रणनीति बनाउनु प्रवासको नेपाली समाजलाई विभाजित गर्ने दुर्भाग्य शिवाय केही होइन ।
'बिग-बोस'को छाँया
एनआरएनमा अर्को चिन्ताजनक कुरा ‘बिग बोस’ को बोलवाला हुनु पनि हो । 'बिग बोस' भन्नाले एनआरएनको ग्लोबल नेतृत्त्व गर्न चाहने केही व्यक्तिलाई भन्न खोजिएको हो । केही बर्ष अघि एनआरएनभित्र रसियाको बोलवालाको कुरा हुन्थ्यो अब त्यो जापान र अस्ट्रेलिया वा रसिया बाहिरको युरोपको बोलवालाको चर्चा हुन थालेको छ । हरेक दुई बर्षमा दशैँताका नेपालमा जमघट हुने र राज्यबाट समेत निकै सम्मान प्राप्त हुने ग्लोबल कन्फ्रेन्समा विश्व नेतृत्व छान्न अहिलेदेखि नै बिभिन्न देशका एनआरएन चुनावमा 'बिग बोस'ले आ-आफ्ना पक्षधरलाई जिताउन लबिङ गरिरहेका हुन्छन् । यसले पनि सम्बन्धित देशको नेपाली डायस्पोराले 'अर्गानिक नेतृ्त्व' हुर्काउन पाइरहेको छैन । नेपालमा आयोजना हुने विश्व सम्मेलनमा पनि अन्तमा नेपालकै राजनीतिक दलको आशिर्बाद थाप्न 'बिग-बोस'को दौडधुप हुने गर्छ ।
निस्कर्ष
एनआरएन अभियान डायस्पोराको नेपाली समाजलाई संगठित गर्ने, प्रबासमा नेपाली समुदायको नेतृत्त्व बिकास गर्ने, प्रबासमा नेपाली सस्कृति, भाषा, भेषभूषा संरक्षण गर्ने, दक्ष जनशक्ति र पूँजीलाई नेपाल भित्र्याउन प्रेरित गर्ने एक महत्वपूर्ण
अभियान हो । यसलाई केही ब्यापारीको बिजनेस क्लब वा प्रवाशमा पनि नेपालको फोहोरी राजनीतिक मनोरोगको क्रिडास्थल बनाउनु हुदैन र बन्न दिनु पनि हुदैन । अनि मात्र यो अभियानले 'अर्गानिक नेतृ्त्व' जन्माउने छ र डायस्पोराको नेपाली समाजको सही नेतृत्व निर्माण हुनेछ ।