सशस्त्र द्धन्दबाट प्रभावित व्यक्तिलाई न्याय दिलाउने सन्दर्भमा ‘न्यायको प्रतिक्षा’ नामक फोटो प्रदर्शनी चलिरहँदा हलको कुनामा बसेर रोइरहेकी एक महिलालाई छेउमै बसेकी अर्की महिला सान्त्वना दिँदै थिइन ।
यतिबेला उद्घाटन सत्रमा भाग लिन आएका प्रायः सवै आगन्तुकको ध्यान कार्यक्रममा प्रस्तुत गरिएको द्धन्दसँग सम्वन्धित नाटकमा थियो।
तर, मेरो ध्यान त्यो नाटकले भन्दा पनि कुनामा बसेर रोइरहेकी ती महिलातर्फ थियो। उनी बिलौना गरिरहेकी थिइन।
रुँदै बर्बाउँदा उनको भनाई त्यति स्पष्ट सुनिएको थिएन। तर, उनी नजिकै पुगेपछि मलाई यो बुझ्न गाह्रो भएन, उनी १२ वर्षदेखि आफ्नो श्रीमानको खोजीमा भौतारिरहेकी छिन्।
उनी यस अवधिमा कहाँ पुगिनन्? कुन सरकारलाई गुहारिनन्? तर, उनले अहिलेसम्म आफ्नो लोग्ने मारिएको हो कि? बेपत्ता पारिएको हो? राज्यबाट सूचना पाउन सकेकी छैनन्।
यसै साता राजधानी काठमाडौंमा द्धन्दकालमा राज्य र तत्कालिन नेकपा (माओवादी) बाट पीडित भएका सर्वसाधारण जम्मा भएका थिए।
कार्यक्रम आयोजकले ‘फोटो प्रदर्शनी’ मार्फत राज्यलाई थप दबाव दिने अपेक्षा राखेका थिए। तर, कार्यक्रममा न कुनै मन्त्री उपस्थित भए, न राज्यका जिम्मेवार प्रतिनिधि।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा केही समय निकालेर कार्यक्रममा उपस्थित त भए तर उनी पनि केही प्रतिक्रिया नदिई बाहिर निस्किए।
यति बेला मनमा ढुँगो राखेकी ती आमाले रुँदै भनिन्, ‘१२ वर्षदेखि हामी हरेक पल मरेर बाँचेका छौं। उत्ति टाढाबाट आइयो। प्रधानमन्त्री नभए गृहमन्त्री आउँलान र हाम्रो कुरा सुन्लान भनेको कोही आएनन्? अब हाम्रो कुरा कसलाई सुनाउँने?’
चन्द्रकला उप्रेती नेपालगञ्जकी बासिन्दा हुन्। उनको श्रीमान नेपालगञ्जको मुटुमा रहेको धम्बोजी चौकमा हार्डवेयरको व्यापार गर्थे। दुई छोरा र एक छोरीको यो परिवार निकै खुसी थियो। त्यति बेला चन्द्रकलाको दैनिकी नै थियो, श्रीमानलाई पसलमा खानेकुरा पुर्याउने र छोराछोरी हुर्काउने।
तर, एकदिन हार्डवेयर पसलमै कार्यरत रहँदा तत्कालीन शाही नेपाली सेनाले उनको श्रीमानलाई बोलाएर लगे। उनी त्यसको प्रत्यक्षदर्शी थिइन। उनले आर्मीलाई रोक्न प्रश्न पनि गरेकी थिइन, ‘कहाँ लैजान लाग्नुभयो? कसले के गर्यो?’
उनको प्रश्नमा उत्तर दिने जिम्मेवारी पनि ठानेन्, बर्दीमा आएका आर्मीहरूले। हेर्दा हेर्दै नेपाल आर्मीको गाडी उनको श्रीमानलाई लिएर अलप भयो।
यसपछि उनले अहिलेसम्म आफ्नो श्रीमानको कुनै जानकारी पाउन सकेकी छैनन्। ‘सरकाले तेरो बुढाको यहाँ यस्तो भयो भनेर प्रमाण देखाइदिए मात्र प िमन बुझाउँथे,’ उनले भनिन्।
न्यायको खोजीमा अनवरत धर्ना र जुलुसमा सहभागी हुँदा उनी आफै रोगले शिथिल बनिसकेकी छिन्।
चन्द्रकलाको श्रीमानलाई शाही सेनाले बेपत्ता पारेको वर्ष उनको ठूलो छोरा १० वर्षको थियो। अहिले २२ वर्ष पुगिसकेको छ।
छोरा आफ्नो आमालाई सान्त्वना दिँदै भन्ने गर्छन्, ‘आमा कति भौतारिनु हुन्छ। अब बुवा फर्किएर आउनु हुन्न।’
तर, श्रीमतिको मन न हो। उनी द्धन्द्ध पीडितको कुनै कार्यक्रम भयो कि दौडिहाल्छिन्। लोग्ने भेटिने आशमा।
न्याय पाउने आशमा उनी विश्वभरीका द्धन्द पीडितहरूको सम्मेलनमा भाग लिन बैङ्ककसम्म पुगेकी थिइन। तर जता भौतारिए पनि उनले न्याय पाउन सकेकी छैनन्।