'तपाईं पत्रकार हैन ?'
'हजुर हो, १६ वर्ष टेलिभिजन पत्रकारिता गरे अनि समग्रमा मिडियामा यस्तै २२ वर्ष ।'
'यी पत्रकारहरूको काम छैन । पत्रकार हुँ भन्छन्, मागेर हैरान नदिऊ तथानाम लेख्छन्, दिऊ दिई साध्य छैन के काम छ यिनीहरूको ? मेरो वस चले त म यिनीहरूलाई मसम्म आउने बाटो नै बन्द गरिदिन्थेँ ।'
न्युयोर्कका एक नाम चलेका नेपाली वकिलसँगको पहिलो प्रतक्षय भेटघाटमा उनले मसँग गरेका कुराकानी यस्तो थियो ।
म छक्क अनि अचम्म परेँ । उनले त यसरी भने कि मानौं पत्रकार भनेका रछानका किरा हुन जसको नाम मात्र लिदा पनि घिनले पिच्च थुक्न मन लाग्छ । साँच्ची अजित भएका हुन् अथवा पत्रकारलाइ हेर्ने उनको दृष्टिकोण नै त्यस्तै हो मैले बुझ्न सकिँन।
तर, पत्रकार न परे किन चुप बस्न मन लाग्थ्यो ?, जवाफ फर्काइ हालेँ - 'वकिललाइ पनि त त्यस्तै भन्छन् नि । कालो कोट लगाएर लुट्न बसेका पीडितलाई झन पीडामा पार्ने जात । सबैलाई एउटै वास्केटमा हालेर नहेर्नुस वकिल साहेव ।'
अलिक नरम हुदै उनले भने - 'सबैलाई एउटै वास्केटमा हालेको हैन तर न्यूयोर्कमा पत्रकार हुँ भन्नेहरूले त मागेरै हैरान गरे ।'
के भन्नु/ के नभन्नु ?, यसै पनि वकिल तर्कमा के जित्न सकिन्थ्यो र ? त्यसमा पनि आफू नै स्पष्ट छैन साँच्ची माग्छन् वा माग्दैनन् । तर, उनको कुरा सुनेर जिन्दगीमा पहिलोपल्ट लाग्यो- 'पत्रकार हुँ भन्दा यस्तरी अपमानित पनि हुनुपर्दो रहेछ ।'
पत्रकारितामा के छ र त्यही नाम र सम्मान बाहेक ? यतिका वर्ष पत्रकारितामा लागेर कमाएको पनि त्यही नाम थियो/छ जस्तो लागेको थियो । नत्र त दुख र हैरानी बाहेक के छ यो २४ घण्टे खटाइमा ?
जे होस्, अलग्गै अनुभव भयो जीवनमा पहिलोपटक । किन मागेर हैरान गर्छन यहाँका पत्रकार हुँ भन्नेले ? मनमा प्रश्नले चिमोटी रह्यो। अरू दुई-चारजनाले पनि त्यस्तै टिप्पणी गरेको सुनेँ । देश नै छोडेर अमेरिका भासिइसकेपछि पनि मागी मागी किन पत्रकारिता गर्नुपर्ने ? पेशाप्रतिको मोह हो कि ठगी खाने भाँडो ? रनभुल्ल परेँ ।
पत्रकारका हुलमा यसबारेमा यसो कुरो उठाउँदा 'फलानो चाहिँ त्यस्तै हो, म चाहिँ हैन' भनेर सबै पानीमाथिको ओभानो हुने, कसलाई के भन्नु ? आफू त यो ठाउमा यसै पनि नयाँ ।
पत्रकार हुँ भनेर मागेर हैरान गर्छन भनेर सबैलाई एउटै डालोमा हालेर अपमान गर्ने ती वकिल साहेवसँग मात्र हैन, अरूसँग पनि गुनासो त छ नै । तर, त्यसो गर्न चलखेल गर्ने मौका दिने आफ्नै सहकर्मीहरूसँग पनि उत्तिकै चित्त दुखाइ छ । यसो सोचेँ- साँच्ची अजको दुनियामा सम्मान चाहिँ कोप्रति छ त ? अफ्ना देशका नेता सम्झिन्छु कुन चाहिँ नेताप्रति श्रद्धाले शिर निहुरिन्छ? अहिले बसिरहेको देश अमेरिका सम्झन्छु चुनावी अभियानदेखि राष्ट्रपति हुँदासम्म मिस्टर डोनाल्ड ट्रम्पलाई जति मजाक उडाइएको कसलाई होला र ? उनका पूर्ववर्ति राष्ट्रपति वराक अवामाले त उनलाई पागल/बौलाहाको समेत संज्ञा दिएका थिए । यस्ता वौलाहालाई सेनाको जिम्मा दियो भने यो पागलले संसार ध्वस्त पार्छसम्म भनेका थिए । अहिलेकी सभामुख न्यान्सी पेलोसी त कहिले मोका मिल्छ र ट्रम्पलाई महाअभियोग लगाउँ भनेर दाउ हेरेर बसेकी छिन् । एकपछि अर्का काण्डका नायक वा खलनायक ट्रम्पको मजाक उडाएर यहाका सञ्चार माध्यमको समय वित्छ ।
सानो छँदा राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमै जुनसुकै पेशामा पनि सम्मानले टाउको निहुर्याउन मन लाग्ने व्यक्तित्व थिए जस्तो लाग्छ । देशमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष भन्दा 'अहो, कस्ता विद्वान होलान्?', अर्कै लोकबाट आएका हुन् कि झै भान हुन्थ्यो । गायन/कलाकारितामा एक से एक श्रद्धा गर्न लायक व्यक्तित्व हुन्थे जात-धर्मबाट माथि उठेर कला क्षेत्रमा समर्पित ती श्रष्टा सम्झिँदा मन त्यसै भावविभोर हुन्छ । स्वरसम्राट नारायण गोपालको थर गुरूवाचार्य हो भनेर धेरैले उहाँको निधन भएपछि थाहा पाएका हुन् । तारादेवी, कोइलीदेवी, प्रेमध्वज, नातिकाजी, शिवशंकर, बच्चुकैलाश यिनका थर के हुन् ?, धेरैलाई थाहा नै थिएन र अहिले पनि छैन । थर, जात भजाएर भाग खोज्नु थिएन उहाँहरूलाई ? शायद त्यही भएर कालजयी संगीत सिर्जना हुन सक्यो ।
चलचित्रमा एउटा सानो भूमिकामा खेल्न त्यति बेलाका चर्चित व्यक्तित्व पनि लालायित हुन्थे । सम्मान थियो कलाकारको । चित्रकारिता र साहित्यका लैनसिंह वाङदेल, शशि शाह, किरण मानन्धर, रागिनी उपाध्याय- उनीहरूको नाम सुन्दा मातेर पनि अर्कै खालको सम्मानको अनुभूति हुन्थ्यो । खेलाडी त्यस्तै थिए , बैकुण्ठ मानन्धरको नाम कसैले लियो भने पनि 'अहो सार्कमा को छ र उनलाई हराउने ?' भनेर गर्वले छात्ति फुल्थ्यो । गीतकार त्यस्तै क-कसको मात्र नाम लिनु । हरेक क्षेत्रमा एकसेएक मूर्धन्य व्यक्तित्वहरू थिए ।
अलि अलि बुझ्ने हुँदा २०४६ सालको जनआन्दोलन भयो । टेलिभिजनमा विजयकुमार पाण्डेले नेपाली कांग्रेसका नेता योगप्रसाद उपाध्यायसँग अन्तर्वार्ता लिनु भएको थियो उहाँकै निवास कुपण्डोलमा । उहाँको कोठाको अवस्था अनि उहाँको शालिनता देखेर चकितै परेकी थिएँ । पछि तिनै योगप्रसाद उपाध्याय गृहमन्त्री बनेपछि त्यो शालिनता कता हरायो कता ? तत्कालीन राजा बीरेन्द्रसँग राजदरवारमा वार्ता गर्न पुगेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सहाना प्रधानलगायतका नेताको सादा अनुहार अनि तानाशाही भनिएका राजा वीरेन्द्रको शालीन र सौम्य व्यक्तित्व-त्यतिबेला मात्र हैन, आज पनि मनैदेखि श्रद्धा जाग्छ ।
तर, अहिले कसैप्रति श्रद्धा नै छैन- किन ? राजा ज्ञानेन्द्र 'ज्ञाने' हत्यारो भए, जनयुद्धका नायक भनिएका प्रचण्ड 'प्रचन्डे' भए, १४ वर्ष जेल वसेका केपी ओली 'उखाने काका' भए, वी पी कोइरालाको विरासत वोकेका गिरिजा 'हवल्दार' भए, मदन भण्डारीको राजनीतिक धरोहर सम्हालिन् भनेकी विद्या भण्डारी 'नवमहारानी' भइन्, किन ?
कुनैबेला भेनेजुएलाका मसिहा मानिएका ह्रयुगो चाभेज कति छिटै खलनायक बने ? मेरी भेनेजुएलाकी साथी भेलेन्टीनालाइ सही उच्चारण के हो ह्रयुगो चाभेज कि साभेज भनेर सोधेको त्यो 'सन अफ वीच'लाई जे भने पनि के फरक पर्छ र भनिन् । त्यसो भनिरहँदा उनको अनुहारमा उम्लेको घृणा हेर्न लायक थियो । कुनै बेला मार्टिन लुथर किंग, महात्मा गान्धी, नेल्शन मण्डेला, डेशमण्ड टुटुजस्ता विश्वप्रसिद्ध नेता थिए,श्रद्धा लाग्थ्यो। अहिले को छन् र खै जसलाई सम्झिदा मात्र पनि श्रद्धाले शिर निहुरिओस् । यसको मतलव त्यतिबेलाका सबै उधुमै राम्रा र असल अनि अहिलेका सबै नराम्रा र खतम् भन्न खोजेको कदापि हैन । तर, श्रद्धामा यो क्षयीकरण किन ? शायद समय नै पो उस्तो हो कि ? भगवान वुद्ध नै पनि अहिलेको समयमा हुन्थे भने शायद 'बुद्धे फटाहा' भनिन्थे कि ? अस्तु ।