नेपालमा केही हुदैँछ- यो 'हल्ला' हो, 'समाचार' नहोस् !

तीन वर्षअघि 'आइएम वीथ के पी ओली' भनेर उनको लागि मर्न र मार्न तयार हुने त्यही जनता आज किन 'ओलीलाई गोली ठोक' भनिरहेका छन् ? तस्बिर : फाइल

मुलुकमा केही हुन सक्छ -घरदेशको हल्ला परदेशसम्म आइपुगेको छ । आखिर हुन नै के बाँकि छ र ? तै पनि सुन्दा मात्र पनि दु:ख लाग्दो रहेछ । हरियो पासपोर्ट देखाएरै १० वर्षे हरियो कार्डमा अमेरिका बसेको हो, देश त नेपाल नै हो नि । त्यो भन्दा धेरै भए देश फेरिएको होला, पासपोर्ट फेरिएको होला जन्मभूमि त फेरिएको हैन नि ?  त्यसैले परदेशमा रहेका हरेक सचेत नेपाली र नेपाली मूलका मानिसका लागि हल्लै सही, यसले पीडा दिँदोरहेछ ।

प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गरेर धारेहात लगाउँदै भन्छन्- 'हरियो हरेउ' देखियो । प्रधामन्त्रीले यो भनाई गुठी विधेयकको विरोधमा आन्दोलित काठमाडोैंबासीलाई इंगित गर्दै भनेका हुन् ।

उनले यसै सन्दर्भमा थप आक्रोशित हुदै भने-  'यसै देशमा मध्यरातमा क्रेन लिएर सिंगै मूर्ति भक्तपुरको चोकैमा मर्काएको पनि सम्झना आउँछ । यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नुपरेको थियो । ' नाम नलिई भने पनि यसको निशाना पूर्वराजा र राजपरिवारप्रति लक्षित हो भनेर जो कोहीले पनि बुझ्न सक्छ ।'

मुलुकको प्रधानमन्त्रीले समय र स्थानले बनाउने सन्दर्भको हेक्का नराखी बोलेको कुरा कतिलाई मन पर्यो, त्यो उनीहरू नै जानुन् । तर, घरदेशको राजनीतिबाट निरपेक्ष भएर हेर्दा यो भनाइको अन्तर्य नै अहिले मुलुकको चुरो समस्या हो । 

मुलुकको प्रधानमन्त्री यति धेरै 'अफेन्सिभ' हुन मिल्ने कि नमिल्ने भन्ने हो ? उनले आफू मुलुकको प्रधानमन्त्री हुँ, 'हरियो हरेउ' को पनि प्रधानमन्त्री हुँ, मूर्तिचोरका पनि हुँ भन्ने यथार्थ बिर्सेको साँचो हो । यो एउटा प्रतिनिधि घटना मात्र हो, प्रधानमन्त्री ओठेजवाफ लिएर वाकयुद्धका लागि जोसँग पनि भिड्नका लागि हमेशा तयार अवस्थामा रहेका हुन्छन् । उनी मात्र हैन, उनका प्रवक्ता सूचनामन्त्री त अझ एक कदममाथि उक्लेर जो कोहीलाई पनि लल्कारिरहेका हुन्छन् । उनीहरूसँग हरेक कुराको जवाफ छ, समस्याको समाधान हैन ।

समस्या यहीनेर छ । ओली र 'छोटे-ओली'ले बोलीमा मात्र लगाम लगाउँने हो भने पनि कम्तीमा एक चौथाई समस्या समाधान हुन्छ । अर्को एक चौथाई समस्या उनीहरूको 'बडी-ल्यांङ्वेज' र 'अटिट्युड'मा छ । उनीहरू जसरी 'हान्ने राँगो' जस्तो भावभंगीमा प्रस्तुत हुन्छन्, जो कोहीलाई देख्दा पनि रिस उठ्छ । कम्तिमा शालिन किसिमले, सौम्य मुद्रामा धेरै सुन्दै कम बोलेर प्रस्तुत भएमा जनताले उनीहरूको समस्या बुझिदिन्छन् । अर्को एक चौथाई समस्या ओलीलाई लागेपछि सकियो, उनलाई मन परेपछि कुनै तर्क, तथ्य केही पनि कामै लाग्दैनन् । उनको पालामा भएका नियुक्ति हेर्नुहोस् न, गलत मान्छेको नियुक्तिको कारण पनि सही डेलिभरी हुन सकेको छैन । उनीहरूको नालायकीपनका कारण अन्तत: समस्या बाउन्स भएर ओलीमै आइपुग्छ । अरू हेर्नै पर्दैन- पछिल्लो समय स्पेनको राजदूतमा नियुक्त भएकी दावाफुटी शेर्पालाई नै हेर्नुहोस् न । आङछिरिङकी भतिजी हुनु बाहेक उनीसँग के हैसियत छ र बनिन् महामहिम ? यो एउटा प्रतिनिधि नियुक्ति हो, अपवाद बाहेक सबै नियुक्त यस्तै छन् । 

ओलीको काम गर्ने जुन शैली छ, त्यो नै मुलुकको सबैभन्दा ठुलो समस्या हो । उनी आफ्ना एकदर्जन जति किचेन क्याविनेटका मानिस लिएर सिङ्गो देश हाँकिरहेका छन् । उनलाई यी 'जोजोम्यान'बाहेक न पार्टी चाहिएको छ, न विज्ञ; न मिडिया चाहिएको छ, न जनता  । उनको सोच र शैली हेर्ने हो भने राजा वीरेन्द्रसँग त तुलनै हुन सक्दैन, उनी अहिलेका जंगबहादुर नै हुन् भन्न सकिन्छ । उखानै छ- जंगेले बोेलेपछि बोल्यो बोल्यो । 

समस्या ओलीमै छ । तर, त्योभन्दा पनि ठूलो समस्या उनी त्यो स्वीकार्न तयार नहुनु हो । बरू उल्टै जे हुन्छ- त्यसमा उनी पूर्वराजा र दरवारियाको दोष देख्छन्, उनीहरूको चलखेल देख्छन् । र, यसको जिम्मेवार उनीहरू नै हुनुपर्ने भनेर चुनौति दिन्छन् । आखिर त्यो हो नै भने पनि त्यसका लागि स्पेस कसले दियो ? कसले गरेका गलत कार्यले त्यसका लागि मार्गप्रशस्त गर्यो  ? यस बारेमा सोच्नु पर्दैन । उदाहरणका लागि नेपालमा अहिले राष्ट्रपति भन्ने पद र संस्थाप्रति नै नेपाली जनतामा वितृष्णा पैदा भएको छ । कारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको तौरतरिका, विलासिता आदि नै हो । यो कसले बनायो- यही सरकारले हैन ?

जनताले यो कुरा राम्ररी बुझिसके । अब ओलीबाट केही हुनेवाला छैन भन्ने उनीहरूलाई लागिसक्यो । झण्डै दुई वर्षअघि सुशासन, स्थिरता र सामाजिक न्यायजस्ता निश्चित प्रयोजनका लागि जनताले उनलाई प्रचण्ड बहुमत दिएका हुन्, तर त्यसको बदलामा जनताले के पाए त ? उनीहरू त्यसको हिसाब-किताब गर्न थालेका छन् । नेपाली जनतासँग धेर्य कम छ किनकि उनीहरूले सबैलाई देखिसके । प्रचण्ड बहुमतको कम्युनिष्ट सरकारले त केही गर्ला कि भन्ने ठुलो आशा थियो, त्यही आशाका लागि गरेको अर्को एउटा प्रयोग पनि असफल हुदै गएको उनीहरूलाई लागिसक्यो । 

आखिर यो किन सबै भैरहेको छ? जनता किन यति धेरै बिच्किरहेका छन्  ? प्रधानमन्त्री ओलीले भनेजस्तै 'हरियो हरेउ' जन्मेकै हो भने पनि त्यो जन्मायो कसले ? 

तीन वर्षअघि 'आइएम वीथ के पी ओली' भनेर उनको लागि मर्न र मार्न तयार हुने त्यही जनता हैन ? आज किन 'ओलीलाई गोली ठोक' भनिरहेका छन् ? त्यसयता त ओली नै सर्वेसवा छन् । त्यसैले यी प्रश्नको उत्तर ओलीसँग मात्र छ । अब पनि अरूतिरबाट उत्तर खोज भनेर जनतालाई भन्छन् भने उनी त गोर्भाचोभ हुन्छन् नै, पार्टीलाई पनि रसातलमा पुर्याउँछन्  यसैपनि नेपाली जनताले चुनावलाई कम जनमत र बढी बदला लिने मौकाका रूपमा लिने गरेको इतिहास सबैका सामु छर्लंङ्गै छ । भनाइ छ- 'कम्युनिष्टलाई अरूले सक्नै पर्दैन,  एकपटक सत्तामा चढाइ दिनुपर्छ, त्यसको मातले ढिलो चाँडो आफैं सकिन्छन् ।'  ओलीको शासन शैलीले त्यही सत्यलाई नजिक ल्याइरहेको जस्तो देखाउँछ ।

यसै प्रसंगमा विचारले वामपन्थी चिकित्सक डा. सरोज धितालको पछिल्लो भनाइ निक्कै सारगर्भित छ । उनी लेख्छन्- 'जनता'को अर्थ नबुझ्ने सरकारको गति जे हुनुपर्ने हो त्यही भइरहेको छ । दम्भ, अदूरदर्शिता, लोभ, अपारदर्शिता, भ्रष्टसंरक्षण... यी सबले जहाँ पुऱ्याउने हो, त्यहीँ पुग्दैछ । यथार्थबाट टाढिएको राजनीतिक क्लबहरुको जे हाल हुनु पर्ने हो, त्यही हुन्छ, भइरहेको छ । दु:ख त फेरि पनि जनतालाई नै हो ¡'

डा. धितालको यो भनाइले पनि समस्या सरकारतिरै छ भन्ने स्पष्ट हुन्छ । ओली सरकार प्रमुख भएकाले समस्याको चुरो उनै हुन् । जतिसक्दो चाँडो आफ्नो काम गर्ने एकलकाँटे सोच र शैलीमा परिवर्तन ल्याउँछन्, त्यति नै छिटो समस्याले समाधान पाउँनेछ । ढिलो हुँदै गयो भने उनले भनेको 'हरियो हरेउ'ले स्पेस पाउँने छ र अहिले हल्ला चलेजस्तै मुलुकमा केही हुन सक्छ र त्यो साँचो समाचार पनि बन्न सक्छ । 

त्यस्तो नहोस्, त्यही प्रिय कामना गरौं । 

प्रकाशित मिति: : 2019-06-20 04:40:58

प्रतिकृया दिनुहोस्