एनआरएनसँग 'गोरू बेचेको' साइनो नभएका गच्छेदार एनआरएन अमेरिकाका प्रमुख अतिथि !

गुगल सर्चमा विजय गच्छेदार खोज्यो भने यो कार्टुन भेटिन्छ । कार्टुनको पेटमा लेखिएको छ- भ्रष्टाचारीको मुखमा 'गुदपाक' परोस् । हामीले त्यसलाई छोपेर लाज बचाइदिने प्रयास गरेका हौं ।

गैरआवासीय नेपाली संघ अमेरिकाको यही जुलाई ६ र ७ मा शिकागोमा हुने आठौं वार्षिक साधारणसभाको प्रमुख अतिथिको नाम सुन्नुभयो भने जो कोहीलाई पनि 'अप्रिल फूल' लाग्न सक्छ। तर, यो सत्य हो कि विजयकुमार गच्छेदार यो साधारणसभाका प्रभुख अतिथि हुन् । 

उनको अहिलेको हैसियत भनेको नेपाली कांग्रेस संसदीय दलको उपनेता र मनोनित उपसभापति हो । यो हैसियत भएको मान्छे गैरआवासीय नेपाली संघ अमेरिकाको वार्षिक साधारणसभाको प्रमुख अतिथि भनेपछि योभन्दा ठूलो 'स्ड्याण्डअप कमेडी' के हुन सक्छ ? तर, यो कमेडी हैन, यथार्थ हो । गच्छेदार प्रमुख अतिथि हुने वार्षिक साधारणसभाको तयारी अहिले शिकागोमा जोडतोेडले चलिरहेको छ र त्यसको फ्रन्टलाइनर हर्ताकर्ता भएका छन्- वाला घिमिरे, टेकराज पौडेल अनि तिलक केसी । कुनै बेला फडिन्द्र तिमिल्सिनालाई सिध्याउने गच्छेदार त्यसैको चिनोस्वरूप एउटा आँखामा कृत्रिम दाना हालेर आँखासँगै सानो खोपिल्टो लिएर शिकागो आउँदैछन् । तर, यी घिमिरे, पौडेल र केसीले कुनै दिन 'शहिद फडिन्द्र- अमर रहुन्' ,'... हत्यारालाई- फाँसी दे' भनेर नारा लगाएका हुन सक्छन् । उनीहरूको पृष्ठभूमिबाट त्यति अनुमान लगाउन कुनै आइतबार पर्खनु पर्दैन । 

हुन त यी घिमिरे, पौडेल र केसीका नेताहरू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरैपटक उपप्रधानमन्त्रीसहित छानीछानी मन्त्रालय दिएर गच्छेदारलाई पहिलै पवित्र बनाइ सकेका छन् । अहिले शिकागोमा आउने गच्छेदार तिनै पवित्र भैसकेका उनीहरूका नेताका सहकर्मी हुन् उनको आँखामा बचेको निसानी त संजोग मात्र हो । 

नेपालीमा एउटा भनाइ छ- नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो । गच्छेदारको लागि पनि यही कुरा लागु हुन्छ । नेपालमा संसदीय व्यवस्थालाई सबैभन्दा बढी बेइज्जत गर्ने दुई पात्रको नाम लिँदा शीर्षस्थानमा कमल थापा र विजय गच्छेदारको नाम आउँछ । कमल थापाको त अभिष्ट नै त्यही हुन सक्छ। त्यसैले  उनको बारेमा कुरा गर्नुको कुनै अर्थ छैन । तर, गच्छेदारले त नेपाली कांग्रेसको क्याडरका रूपमा यो व्यवस्था ल्याउन योगदान दिएकै हुन् । शाही कालमा भ्रष्टाचारबाट बच्न उनले तत्कालिन राजालाई गतिलै चक्मा दिएर मुस्किलले बच्ने क्रमको कालखण्डलाई छोड्ने हो भने उनले गरेको योगदानलाई पूर्वाग्राही भएर दुत्कार्नुको अर्थ छैन । 

कुनै एउटा समय थियो, नेपालको सत्ताको चोरसाँचो नै उनको हातमा थियो । प्रधानमन्त्री जो होस्  निर्माण, यातायात तथा भौतिक व्यवस्था मन्त्रालयसहितको उपप्रधानमन्त्री उनको लागि पक्काजस्तै थियो । यो मन्त्रालयमा उनी विशेषज्ञ भएर गएका हैनन्, मन्त्रालयको नाम सुन्ने बित्तिकै सजिलै अनुमान लगाउन सकिन्छ- कमाउनकै लागि रोजेका हुन् । उनी जति भ्रष्ट र धनी मन्त्री त शायदै होलान् । नेपाली मिडियाका पुराना फाइल पल्टायो भने उनको रामकहानी सबै पढ्न पाइन्छ । यद्यपि, नौ दिनमा नौलो र बीस दिनमा बिर्स्यो हुने हामी नेपालीले त्यो सबै बिर्सी सक्यौ । 

एनआरएन अमेरिकामा नर्मल साधारण सदस्यले सोध्नु पर्यो - एनआरएनसँग गोरू बेचेको साइनो पनि नभएका गच्छेदार प्रमुख अतिथि भएको साधारणसभामा किन जाने ? यसै पनि कोरम नपुग्ने बढ्दो सम्भावनाका कारण प्रोक्सी प्रतिनिधिको फर्म भरेर पठाउन बाबुराम लामाले चिठी पठाकोपठाइ छन् । यदि एनआरएन नेतृत्वले जबर्जस्ती गच्छेदारलाई नै प्रमुख अतिथि बनाउने निर्णय लाद्छ भने यो साधारणसभा बहिस्कार गरेर कोरम नपुर्याउनेतिर प्रयास गर्ने कि ? त्यसो भयो भने लाजका भाडाहरूसम्म छोप्न सकिने सम्भावना रहन्छ । 

यो उनको पृष्ठभूमि हो । 

न पृष्ठभूमि न वर्तमान सुहाउँदो हैसियत- यस्तो अवस्थामा विजयकुमार गच्छेदार गैरआवासीय नेपाली संघ अमेरिकाको वार्षिक साधारणसभाको प्रमुख अतिथि हुनुपर्ने के कारण छ ? कारण केही देखिदैन । अकारणका रूपमा चाँहि उनी अहिले कांग्रेस हुन्, त्यही हुन सक्छ । के यतिकै आधारमा कांग्रेसी एनआरएनले  उनलाई ल्याउनु उचित  हो त ? एब्नर्मल हो भने त केही भन्नु छैन, तर जो कोही नर्मल कांग्रेसले पनि यस्तो भन्न त के सोच्न पनि सक्दैन । किनकि, यसबाट ऊ सर्वाङ्ग नांगो हुन्छ र जानी जानी कोही पनि सार्वजनिकस्थलमा नांगिन सक्दैन । 

पहिलो त एनआरएन अमेरिका नेपाली कांग्रेसको भातृसंस्था हैन, त्यसैले यसमा अहिले सरकारमा नभएको कांग्रेस पार्टीका नेतालाई प्रमुख अतिथि बनाउनु नै गलत कुरा हो । मन नलागे पनि परराष्ट्र मन्त्रालयअन्तर्गत दर्ता भएको संस्था भएकाले नेपालबाट प्रमुख अतिथि ल्याउने भए परराष्ट्रमन्त्री नै उपयुक्त पात्रका रूपमा छानिनु पर्थ्यो । ल यसमा त गति छाडियो नै, कांग्रेस नै ल्याउँदा पनि नेपाली कांग्रेसको शासनकालमा परराष्ट्रमन्त्री भएका ल्याएको भए हुन्थ्यो,  विदेश विभाग हेर्ने वा त्यसका जनाकारहरू विकल्पमा रूपमा हुन सक्थे । त्यो पनि छायाँ परराष्ट्रमन्त्री हुन सक्थे । ल ठीक छ, एनआरएन अमेरिकाका मधेसी मूलका सुनील साह अध्यक्षमा जितेका छन्, त्यसैले मधेसी नेता नै चाहिएको हो भने पनि नेपाली कांग्रेसका सांसद विनोद चौधरी उचित पात्र हुन सक्थे ।

एउटा भनाइ छ, बाँच्नु मात्र पर्छ, धेरै चिज देखिन्छ । एनआरएन अमेरिकाको वार्षिक साधारणसभामा गच्छेदार प्रमुख अतिथि भएर आए भने त्यो पनि त्यस्तै एउटा बाँचे मात्र देखिने परिघटना हुने छ। अझै पनि समय बितिसकेको छैन, लोकलाजकै लागि भए पनि पृष्ठभूमि र वर्तमान पदीय हैसियत भएको प्रमुख अतिथि ल्याउँनेतिर लागौैं । गच्छेदारलाई लाजको पसारोे हुने भयो- देशको राजनीतिक परिस्थितिका कारण निम्तो मान्न सकिएन भन्न लगाएर फेस सेभिङ गरौं । 

नत्र, एनआरएन अमेरिकामा नर्मल साधारण सदस्यले सोध्नु पर्यो - एनआरएनसँग गोरू बेचेको साइनो पनि नभएका गच्छेदार प्रमुख अतिथि भएको साधारणसभामा किन जाने ? यसै पनि कोरम नपुग्ने बढ्दो सम्भावनाका कारण प्रोक्सी प्रतिनिधिको फर्म भरेर पठाउन बाबुराम लामाले चिठी पठाकोपठाइ छन् । यदि एनआरएन नेतृत्वले जबर्जस्ती गच्छेदारलाई नै प्रमुख अतिथि बनाउने निर्णय लाद्छ भने यो साधारणसभा बहिस्कार गरेर कोरम नपुर्याउनेतिर प्रयास गर्ने कि ? त्यसो भयो भने लाजका भाडाहरूसम्म छोप्न सकिने सम्भावना रहन्छ । 

आगे यहाँहरूकै मर्जी । 

 

प्रकाशित मिति: : 2019-06-19 08:45:55

प्रतिकृया दिनुहोस्