— म मेरी छोरीको रिजल्टबाट सन्तुष्ट छैन। विद्यालय पठाएको एक महिना भइसक्यो अहिलेसम्म ‘ए’ लेख्न पनि आउँदैन।
— यसको अक्षर नै मलाई चित्त बुझेको छैन। राम्रो लेख भनेर अलि डर देखाइदिन पर्यो।
— फलानो बच्चा राम्रो पढ्दैन रे मेरो बच्चालाई त्यो बच्चासँग संगत गर्न नदिनू। फलानो नाम गरेको बच्चा को हो? हिजो मेरो बच्चालाई कोपरेछ।
— मेरो बच्चाले होमवर्क गर्नै मान्दैन अनि २/४ थप्पड हानेपछि बल्ल गर्छ।
— मेरो बच्चालाई ए देखि जेड सम्म खरर भन्न आउँछ अब प्ले ग्रुपमा नराखी सिधै नर्सरी राख्नुपर्यो।
२ देखि ५ बर्ष उमेर समूहका बालबालिकाका अधिकांश अभिभावकहरुको अभिव्यक्ति माथि भने जस्तै हुछन्।
पूर्वप्राथमिक विद्यालय उमेरका बालबालिकाको मनोविज्ञान र उनीहरुको सिकाइलाई एक सञ्चालकको रूपबाट करिब बाह्र वर्ष प्रत्यक्षरुपमा अनुभवले उनीहरूको रुची, क्षमता, सिकाइ एवं विकासको गतिलाई नजिकबाट नियाल्ने अवसर पाएको छु।
हुन त हातमा संसार बोकेर हिँडिरहेका आजका हामी अभिभावकलाई बालमनोविज्ञानबारे साधारण अध्ययन गर्न त्यति गाह्रो कुरा त छैन। तर पनि जानकारी प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु नितान्त फरक कुरा रहेछन्।
हाम्रो समयको कुरा गर्दा हामी पाँच पर्ष पूरा भएपछि विद्यालय जान शुरु गरेका थियौ। त्यो बेलाको परिवेश फरक थियो। हामी संयुक्त परिवारमा जन्मियौँ, हुर्कियौँ।
परिवारमा खेल्ने साथीको कमी हुँदैनथ्यो। घर वरिपरि खेल्ने आँगन एवं चौरको अभाव थिएन। स्वभावैले प्रकृतिप्रेमी बालकालिकाका लागि ढुंगा, माटो, पातपतिंगर जस्ता प्रकृतिका अनुपम खेलौना प्रशस्त हुन्थे। तर, अहिले समय बदलिएको छ।
विशेष गरी शहरी परिवेशमा जीवनयापन सहज बनाउन पनि अधिकांश महिलाले घर बाहिर काम गर्नुपर्ने बाध्यता छ। घर व्यवस्थापन मात्र गर्ने महिलाले पनि पाँच पर्ष पूरा नहुन्जेल बच्चा विद्यालय नपठाउन असम्भव जस्तै भइसकेको छ।
शहर बजारका अधिकांश घरहरुमा पर्याप्त खेल्ने ठाउँको अभावले बच्चालाई पूर्व प्राथमिक विद्यालयमा राख्नुपर्ने आजको आवश्यकता हो।
पर्याप्त खेल्ने ठाउँ र खेलौना उपलब्ध भए पनि एकल परिवारको प्रचलन बढ्दै गएको आजको समाजमा साना साना बालबालिकाहरुको हरेक जिज्ञासाहरुसहितको चौतर्फी विकासमा जोड दिएर सिकाइ क्रियाकलाप गराउन घरपरिवारबाट मात्र सम्भव छैन। यद्यपी घर पहिलो विद्यालय हो।
बालबालिका दुई वर्ष पुगेपछि पूर्व प्राथमिक विद्यालय पठाउनु आजको आवश्यकता र बाध्यता दुबै हो। तर, विद्यालय पठाउनुअघि अभिभावकहरु केही कुरामा प्रष्ट हुनुपर्छ।
आफ्नो बच्चाको उमेर अनुसारको मनोविज्ञानको बारेमा जानकारी लिनु असल अभिभावकको दायित्व हो। प्रायजसो दुई/तीन वर्ष उमेर समूहका बच्चाहरु नयाँ ठाउँ र अपरिचित व्यक्तिसँग आफूलाइ सुरक्षित महशुस गर्दैनन्।
जसको कारण उनीहरु एक हप्तादेखि एक महिनासम्म विद्यालय जान खुशी नहुन सक्छन्। तर, अभिभावकहरुमा विद्यालयले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेन कि भन्ने भ्रम पैदा हुनसक्छ।
यो उमेरका बच्चाहरुमा म र मेरो भावना बढी हुन्छ। ‘यो सबै खेलौना मेरो हो, यो सबै म खेल्छु, म मात्र म्यामको काखमा बस्छु।’ यस्ता खाले अभिव्यक्ति हुन्छन् यो उमेरका बच्चाको।
आफूले भनेको खेलौना नपाउनासाथ समूहका साथीसँग खोस्ने, खोस्न नसके रूने/कोपर्ने इत्यादि गर्न थाल्छन्।
खेल्न, नाच्नु, गाउनु नै यिनीहरुको लागी ठूलो काम हो। आफ्ना आमाबाबुसँग टाढा रहेर विद्यालयमा खुशीसाथ २/४ घण्टा विताउनु उनीहरुको लागि ठूलो चुनौती हो। यसलाइ हरेक अभिभावकले ठूलो उपलब्धि मान्नुपर्छ।
तर, नयाँ वातावरणमा बच्चाले आफू घुलमिल नहुँदै अभिभावकले अक्षर के-के चिन्यो, लेख्न के-के जान्यो भनेर जिज्ञासा राख्नु वास्तवमै वालमनोविज्ञानलाई नजरअन्दाज गर्नु हो।
बच्चा सम्बन्धि विभिन्न अनुसन्धानले देखाए अनुसार चार वर्ष नपुगी बच्चालाई धेरै अक्षर लेख्न दबाब दिनु उनीहरूलाई सजाय दिए बराबर हो। तर, हामीले हाम्रो आफ्नो रहरको निम्ति आफ्नो बच्चाको अधिकार खोसिरहेका छौ भन्ने कुरामा अनभिज्ञ छौ, अथवा बुझेर पनि नबुझे जस्तो गरिरहेका छौ।
तीन वर्ष पूरा भएपछि बालबालिकामा शब्दभण्डारको विकास धेरै हुन्छ। उनीहरुको शब्दभण्डारमा भएको विकासको आधारमा अभिभावकलाई कक्षा चढाउन र लेखाउन हतार हुन्छ। जति बढी हामी बच्चालाइ उसको इच्छा विपरित पढ्न, लेख्न दबाव दिन्छौं त्यति नै उसको दिमाग साँघुरिँदै जान्छ।
साना साना बालबालिकाहरु अत्याधिक सृजनात्मक हुन्छन्। त्यो सृजनशीलतालाई बढी भन्दा बढी उपयोग गराएर उनीहरुको ज्ञानको घेरा बढाउनु हामी अभिभावक र शिक्षक/शिक्षिकाको दायित्व हो। तर, हामीमध्ये अधिकांश अभिभावक चाहन्छौं कि, आफ्नो बच्चाले धेरै समय लेखेर र पढेर बिताओस्। जबकी हामीले दबाब र डर बिना सिकाइको वातावरण बनायौं भने पढ्न लेख्न बच्चा आफैं अभिप्रेरित हुन्छ र आफैं भित्रबाट चाहेर सिकेको सिकाइ नै दीर्घकालीन हुन्छ।
हामी अभिभावकले के बुझ्नु जरूरि छ भने प्री-स्कूल औपचारिक रुपमा शिक्षा दिने विद्यालय नभई औपचारिक शिक्षा दिने विद्यालय र घरबिचको सुरक्षित पुलसमेत हो। जहाँ साना साना बालबालिकाले रमाइलो वातावरणमा खेल्दै, गाउँदै, नाच्दै, रमाउँदै असल व्यवहार, असल संस्कार, नैतिकता, विनम्रता, सरसफाइ, खानपान, आदर, सत्कार, माया, ममता, परोपकार, धर्म संस्कृति राष्ट्रियता जस्ता सफल र सन्तुष्ट जीवनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्छन्।
मण्टेश्वरी शिक्षाकी प्रवर्तक डा. मारिया मण्टेश्वरी भन्छिन्, ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण समय भनेको गर्भावस्थादेखि ६ वर्षको उमेर समय हो न कि विश्वविद्यालय जाने उमेर।’ हामी सबैलाई थाहा भएको कुरा हो, नर्सरीमा साना साना बिरूवाको लागि मेहेनतका साथ उचित मात्रामा मलजलको व्यवस्था मिलाइन्छ। यदि सानो बिरुवा हुँदा उचित स्याहार पाएन भने त्यो विरुवा बढेपछि राम्रो फल/फूलको आशा गर्न सकिँदैन।
६ वर्षसम्मका बच्चाहरु पनि त्यहिँ नर्सरीका विरूवा जस्तै हुन्। भविष्यमा आफ्नो बच्चालाई समयमा मलजल नपाएर जिन्निएको विरुवा जस्तो बनाउने कि, फलफूल लटरम्म भएको हराभरा रुख बनाउने त्यो हामीमा नै निर्भर हुन्छ।
यस्तो अमूल्य समयमा अभिभावकले आफ्ना बच्चासँग राम्रो व्यवहार गर्ने, उनीहरुको रूची र क्षमता अनुसारको सिकाइ गतिविधिमा सहयोग गर्नुपर्छ। यसका साथै पढ्न र लेख्न बच्चा स्वयम् अभिप्रेरित हुने वातावरणको सृजना गरी आफ्ना बच्चाको जीवनको जग बलियो बनाउन आजैबाट शुरु गर्ने कि!
लेखक त्रिपाठी बाल संसार मण्टेश्वरी गोंगबु/बनस्थलीकी प्रिन्सिपल हुन्।