राति राम्रोसँग निद्रा पुग्दैन। काखको छोरो छ। दुध खुवाउन उठिरहनुपर्छ।
आमासँग झुन्डिरहन मन पराउने बच्चा बोक्दा, कहिले काही ढाँड दुखेर भुतुक्कै हुन्छ। बच्चालाई ‘डे–केयर’ मा राखेर आठ–चारको काम गर्नै पर्यो। काम सकेर फर्कदा बच्चा स्याहार केन्द्रबाट ल्याएपछि कामको थकान चाहेर नचाहेर विर्सिनै पर्यो।
ठूलो स्वाँस फेर्यो। अनि लाग्यो– खाना बनाउन हतार हतार। दिउँसोभरि आमा नभेटेको भूरो जति खेर पनि लुगाको फेर समातेर हैरान पार्छ। कहिले बोक्दै, कहिले फकाउँदै खाना बल्लबल्ल पाक्छ। कहिले काही लाग्छ– यसो रेडिमेड खाना खुवाउँ। तर, मन मान्दैन।
सोच्छु– बच्चालाई चाहिने पौष्टिक तत्व पुक्दैन। बिचरा बच्चोलाई के थाहा? आमा थाकेकी छ। आजको साँझ र भोलि दिनको सुरुवात गर्ने चटारोमा छे।
उसलाई आमा चाहिएको छ। दिउँसोभरि छुटिएर बल्ल बल्ल भेटिएकी आमाले कस्तो मतलव नगरेकी, सोच्दो हो! कहिले यस्तै कल्पनाले कमजोर मनाइदिन्छ मन। तर फेरि सोच्छु, होइन मैले सके जति बल र बुद्धिले भ्याए सम्म गरेकै छु नि।
आफूलाई बिर्सिएर छोराछोरी कै आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेको छु। त्यही अनुसार मेरो दैनिकी चलेको छ। काममा विदा पाइन्छ। तर आमाको कामबाट कहिले बिदा मिल्दो रहेनछ। २४ सै घन्टा काम गरे पनि ओभरटाइम नहुने।
यस्तै परफेक्ट आमा बन्न सूत्र पनि कतै नपाइने। स्कुलमा कतै नपढाइने। फेरि छोराछोरी पनि ‘म्यानुयल’ लिएर जन्मदैनन्। सबै फरक–फरक। सन्तानै पिच्छे फरक फरक व्यवहार गर्नुपर्ने।
बच्चाका फोहर लुगा धुन, ठूली छोरीको ‘होमवर्क’ हेर्न। केटाकेटीलाई खुवाउने र समयमा सुताउन हम्मे–हम्मे पर्छ। कति काम बच्चा सुतेपछि गर्छु । आफू सुत्दा साढे एघार वा बाह्र त्यति कै बज्छ। राति सबै सुतेपछि विछ्यौनामा गए पनि बिहान उठ्दा म आमा नै सबैभन्दा अगाडि उठ्छु।
समयमा सुताउन जति प्रयास गरे पनि बेलामा नसुतेका केटाकेटी भोलि बिहान उठाउन सानोतिनो महाभारत नै सुरु हुन्छ। रूवाबासी घुर्की बीच बिहान सुरु हुन्छ–खाजा खुवाउने, खाजा प्याक गर्ने, लुगा लगाएर विद्यालय र ‘डे–केयर’ पुर्याउने काम।
बच्चालाई खुवाउँदै आफू पनि काममा जाने तयारी गर्नुपर्यो। चाबी, खाजा आदि सबै हेर्न कहिले त समय नै मिल्दैन। बाथरूम जाँदा पनि शान्ति छैन। सानो मान्छे भित्र आउन नपाएर बाथरुम ढक–ढकाउँदै रोइरहन्छ।
बाथरुममा भएमा ऐनामा आफ्नो अनुहार हेर्छु। निद्रा नपुगेर बच्चा जन्मिनु भन्दा केही महिना अघि देखि आँखाको डिल मुनि बसेको कालो अहिलेसम्म गएको छैन्।
सोच्छु– म नभएर कोही अर्कै हुन पुगेछु। छोराछोरी घर परिवारको ध्यान दिँदा आफूलाई दिने समय नै ओझेलमा पर्छ। दराजमा लुगा फाटो मिलाएर राखेजस्तै मनको कुनामा आफ्ना इच्छा चाहाना पट्याएर राखेको छु।
छोराछोरी नहुर्कीन्जेल जतनले त्यही किनारामा थकिन्छन्, चाहाना। यो मेरो मात्र होइन, अधिकांश आमाहरुको अनुभव हो।
यति गरे पनि आमालाई जस मिल्दैन। छोरा–छोरीका कमी कमजोरीलाई लिएर आमालाई नै दोष लगाइन्छ। मानौं की त्यो आमाको मात्र कमजोरी हो। सन्तान हुर्काउने ठेक्का उनको मात्रै हो।
जिम्मा नलिने बाबुको त कुरा छोडौं। घर परिवारलाई माया गर्ने बाबु पनि पैसा कमाएर घरमा बस्ने बित्तिकै आफ्नो जिम्मेवारी सकिएको ठानिन्छ। एक जना आफन्तकोमा खाना खाने निम्तो मान्न गएका थियौं। मेरो श्रीमानले बच्चा हेरेको देखेर अचम्मित हुनुभयो।
साथी–भाईको जमघटमा यसो जम्मा भएको बेला पनि महिलाहरु भान्सातिर, पुरूषहरु सोफातिर बसेर गफ गर्ने गरेको दृश्य त सधै नै देखिन्छ।
सयम धेरै परिवर्तन भैसक्यो। तुलनात्मक रुपमा पहिले भन्दा महिलाहरू शिक्षित भएका छन्। घर बाहिर काम गर्न थालेका छन्। आत्मनिर्भर छन्। तर, अझै पनि बच्चा हेर्ने र घरको काम चाही महिलाको मात्रै ठेक्का हो भन्ने सोच गएको छैन।
ठूलो छोरीको दाँत हल्लिएको धेरै भयो। निकाल्न मद्धत गरौं भन्यो, मुख खोल्नै दिदिन्। यतिकैमा दाजुले भन्नुभयो– ‘छोरी दारे भै भने कस्ति आमा रहिछिन्, भन्लान् नि।’
कपडाको न्यापकिन बनाएर लगाउँदा राति धेरै चोटी उठ्नुपर्ने र उठेपछि बच्चा सजिलै फेरि नसुत्ने भएपछि मैले बजारी ‘डायपर’ लगाएको थिए।
थाहा पाएको केही दिनमा एक जना आन्टीले भन्नु’भो–‘आजकालका आमा अल्छे।’
बच्चाले भनेको टेरेन। केही बदमासी गर्यो। आमाले असल संस्कार सिकाएको रहेनछ भन्निछ। मानौं की बच्चाको ठेक्का आमाले मात्र लिएकी छिन्।
बच्चाको हुर्किने समाज, उसको घर परिवार, साथी भाईले पनि त अह्म भूमिका खेलेको हुन्छ। तर, दोष जति सबै आमाको।
एउटा अफ्रिकन भनाइ छ– ‘इट टेक्स् ए भिलेज, टु रेज अ चाइल्ड।’ बच्चा स्वस्थ्य हुनुमा पुरै समाजले भूमिका खेलेको हुन्छ।
हिजो अस्ति जस्तो लाग्छ। कामकाजी मेरी आमालाई पनि तीन सन्तान स्कुल पठाएर काममा जान यस्तै चटारो थियो। त्यति खेर घुर्काउँदै मेलै लगाएको वचन सम्झेर ग्लानी लाग्छ।
अहिल केही खुल्ला समाज हुँदा त बच्चा हुर्काउने र घरायसी कामको भार एक्लै उठाउनु परे जस्तो लाग्छ।
आजभन्दा ३० वर्ष अगाडि आमालाई झन् गाह्रो हुँदो हो। पहाडबाट आफन्त आउँदा भान्साको ढोका लगाएर बुबाले धन्दा गरेको आँखामा झलझली आउँछ। काम नगरौ, श्रीमतीलाई समयमा अफिस जान ढिलो। गरौं, आफन्तले भान्साको काम गर्नै जोही टिंग्रे भएको उपमा पाइने। अझ हजुर आमाको पालामा कस्तो होला सोच्छु।
सुनेकी थिए–महिलाको खाना खाने आफ्नो छुट्टै थाल पनि हुँदैन थियो। श्रीमानले खान खाएपछि त्यहि थाल कुरेर खानुपर्ने। त्यो समयका आमाहरूले कस्तो स्याहार पाए होला? माया गर्ने श्रीमान छन्, केही जुठोपुरो थाल मै छोडी दिने चलन थियो।
यो होइन कि– आमा हुँदा मलाई अन्य महिलालाई बोझ भयो। आमा भएको हर पलमा आन्नद महसुस गर्छु। तर आमा पनि मानिस नै भएकाले उसका पनि शारीरिक–मानसिक आवश्यकता हुन्छ। उनका मानसिक शारीरिक स्वास्थ्यको ख्याल गरिनुपर्छ।
परिवारलाई अघि बढाउदा बढाउँदै आमा पछि नपरुन्। आमाले आफ्नो लागि पनि समय छुट्याउनु पर्छ। परिवारका सदस्य तथा आफन्त साथीभाई जस्तै आमालाई पनि अन्य मानिस सरह आरामको आवश्यता पर्छ। आफ्ना सन्तानसँग बिताएका हरपल रमाइँला लाग्छन् । तरपनि कहिले काही आफ्नो उमेरका साथीभाईसँग बसेर मनभरी जम्मा भएका कुरा खोल्न मन लाग्छ।
राति ढिलो सुत्ने गरेको थाहा पाएपछि आमाले मलाई गाली गर्दै समयमा सुत्न भन्नुहुन्छ। तर मलाई त्यो शान्त मन। केही छिनको एकान्त पन खुबै मन पर्छ। हतार विनाको त्यो पलले थकान मेट्छ। मलाई आफ्नो लागि पनि केही समय चाहिएको छ।