विश्वविख्यात वैज्ञानिक स्टिफन हकिङ्सले केही वर्षअघि भनेका थिए, ‘चन्द्रमा र मंगल ग्रह हाम्रो बसोबासका लागि सर्वाधिक उत्तम स्थान हुन्। हामीले अब त्यहाँ बसाइँ सर्नुपर्छ।’
मेरो विचारमा उनको यो भनाइको भावार्थ के हो भने यो पृथ्वीलाई हामीले बस्न लायक बनाएका छैनौं। यसको दोहन मात्र गरेका छौं, यसको सम्वर्धन र संरक्षण गरेका छैनौं।
द अनइनह्याबिटेबल अर्थ लाइफ एफ्टर वार्मिंग (तापमान वृद्धिपछि पृथ्वी बस्न योग्य नहुने) नामक पुस्तक पढेपछि वारम्वार हकिंग मनमा आइरह्यो।किन उनले त्यसो भनेका होलान् भन्ने प्रश्नले घोचिरह्यो। यो पुस्तकले अबको ८० वर्षभित्र अर्थात् सन् २१०० सम्ममा पृथ्वीबाट मानव वस्ती उजाड हुने संकेत गरेको छ। अन्तरिक्षबाट अरु कुनै ग्रह वा पिण्ड आएर होइन, हामीले दैनिक जीवनमा गरेको कार्वन उत्सर्जन नै मानव जीवन लोपको संकेत हो। के यो कुरा साँचो हो?पृथ्वीमाथि मानिसले गरेको अतिक्रमण र अत्याचारलाई समयमै नरोक्ने हो भने यसले त्यस्तो भयावह स्थिति ल्याउने कुरामा पुस्तकले निष्कर्ष निकालेको छ।
न्यूयोर्क म्यागाजिन सह-सम्पादक दि पेरिस रिभ्युका पूर्व सहसम्पादक डेभिड वालेस वेल्सको दुई महिनाअघि मात्र प्रकाशित पुस्तकमा उनले पृथ्वी हामीले दिनानुदिन नष्ट गर्दै गएको कारण विस्तारै मानिसहरु लोप हुने त्रासद चित्रण गरेका छन्।
पुस्तक जति जति पढ्दै गयो, उति उति नै एउटा हरर चलचित्र हेरेको जस्तो त्रासद जीवनको चित्र नजिकै आउँछ। विभिन्न प्रमाणहरु प्रस्तुत गर्दा जीवन मोह पनि घट्दै गएको आभाष मात्र होइन, यसलाई आ-आफ्नो स्थानबाट बचाउन नसकेकोमा आफैलाइ आत्मग्लानि पनि हुन्छ। उनले दिनप्रतिदिन जटिलताका दिनहरु आउँदै गरेको संकेत दिएका छन्। उनले मोटामोटी अबको ३० वर्ष अर्थात् सन् २०५० सम्ममा पृथ्वीको तापक्रम दुई वा तीन डिग्री फरेनहाइटले बढ्ने र त्यसले भयावह स्थिति सृजना गर्ने ठोकुवा गरेका छन्।
उनले पृथ्वीको भयावह स्थितिको आँकलन विभिन्न कोणबाट गरेका छन्। अहिलेको वर्तमान स्थितिको उतार चढाव हुनुमा तापक्रम, भोकमरी, पानीको अभाव, जंगल आगलागी, प्राकृतिक विपद्, शुद्ध खानेपानीको अभाव, महासागरको मृत्यु, वायु प्रदूषण, प्लेग वा महामारीको चपेटा, आर्थिक संक्रमण र मौसमको विद्रोह वा युद्धलाई उनले पृथ्वीको विनासको कारक वा कारण उल्लेख गरेका छन्।
यी सबैलाई उनले बेग्लाबेग्लै उपशीर्षकमा समेटेका छन्। उनले सबै जसो कारणमा तथ्यांक उल्लेख गरेका छन्।
जब पृथ्वीको तापक्रम बढ्दै जान्छ, तब ज्यादा आगलागी हुन्छ। उनले यसलाई यसरी भनेका छन्। जंगलको आगलागीले रूखहरु नष्ट हुन्छन्। रूख नष्ट हुनु भनेको कम कार्वन सोस्नु हो र वातावरणमा धेरै कार्वन हुनु भनेको पृथ्वीको तापक्रम बढ्नु हो।
यसले हिमालको घर्षण पनि गराउँछ। हिमाली घर्षणबाट २००४ देखि २०१६ सम्ममा ५० हजार मानिसको मृत्युभएको तस्वीर देखाउँछ। जलवायु परिवर्तनको कारण तीव्र गतिमा हावाहुरी वा वतास चल्छ। त्यसले मान्छे मार्दैन तर त्यसले ढाल्ने घर, रुख, विजुलीको पोल खम्बा वा अरु त्यस्तै प्रकारको कृत्रिम वस्तुहरुले मानिसको जीवन विनाश गर्छ। विपद्का धेरैजसो समस्या गरीब मुलुकले बढी खेप्नुपर्ने उनको भनाइ छ। विगतको ४० वर्षमा हाड भएका आधाभन्दा बढी जनावरको मृत्यु भएको तथा २५ वर्षमा तीन चौथाइ उड्ने कीराहरु लोप हुनेछन्।
दक्षिण एसियामा मात्र ८० करोड मानिसको जीवन भयावह हुने आँकलन छ। जलवायु परिवर्तनले जीवनका हरेका क्षेत्रमा नकारात्मक प्रभाव पार्छ। कृषिको लागत धेरै हुने तर उत्पादन भने कम हुने हुन्छ।
अहिले वायु प्रदूषणबाट वार्षिक ७० लाख मानिसहरु मरेको तथ्यांक देखाउँदै उनले दुई डिग्री फरेनहाइट तापक्रम बढेको खण्डमा १५ करोड मानिसहरु वायु प्रदूषणका कारण मर्ने संकेत गरेका छन्। त्यस्तै पाँच प्रतिशत तापक्रम बढ्ने हो भने पृथ्वीको अधिकाँश मानिसहरु बाँच्न कठिन हुनेछ।
चीनको रफ्तारमा कोइला शक्तिको उपयोग गर्दै जाने हो भने २१०० सम्ममा लगभग आधाभन्दा बढी मानिसहरु मर्नेछन्। अहिले मात्र एक अर्व मानिसहरु जोखिममा रहेका छन्। यसको प्रमुख जिम्मेवार विश्वका १० ठूला देश हुन्।
केही दशकपछि ज्यादा गर्मीका कारण हज गर्न जान पनि नसकिने छ। सउदी अरेवियाले मात्र गर्मी याममा कोठामा वातानुकूलित गराउन दैनिक रुपमा सात लाख ब्यारेल तेल खर्च गर्छ। यो समस्या खाडी राष्ट्रका अधिकाँश देशमा रहेको छ।
वालेसले उत्सर्जन घटाउन तत्काल पाइला नचाल्ने हो भने दक्षिणी युरोप, इराक, इरान सिरिया, मध्यपूर्व, अष्ट्रेलियाको केही भूभाग, अफ्रिका र दक्षिणी अमेरिका र चीनका केही क्षेत्र सुख्खा बन्दरगाहका रुपमा परिणत हुने अनुमान गरेका छन्।
पुस्तकमा पानी अभावको कारण एल साल्भाडोरमा किड्नीका रोगीहरु बढ्ने छन्। हालको उत्पादन अपुग भएर भोकमरि लाग्नेछ। सन् २०५० सम्ममा अहिले उत्पादन भएको भन्दा ठीक दुई गुना खाद्य पदार्थ चाहिन्छ। तर तापक्रमका कारण उत्पादनमा व्यापक हस आइ आधा घटेपछि स्वतः नै मानिसहरु भोकमरिको शिकार हुन्छन्।
हावामा कार्वनडाइअक्साइडको मात्रा बढी भएपछि मानिसको शरीरलाई आवश्यक पर्ने प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन सी एवं जिन्कको उत्पादनमा स्वतः कमी आउनेछ। बढ्दो तापमानका कारण भूमध्यसागरीय तट र भारतको अधिकाँश भागमा खाद्य उत्पादन शून्यमा झर्नेछ।
२०५० सम्ममा इण्डोनेसियाको जाकार्ताका १० लाख वासिन्दाहरु पानीको चपेटामा पर्नेछन् र अमेरिकामा २०४५ सम्ममा तीन लाख ११ हजार घर बाढीले बगाउने आँकलन गरिएको छ। उनले दिएको तथ्यांक अनुसार, दुई प्रतिशत फरेनहाइट तापक्रम बढ्दा हिउँ पग्लेर समुद्रको सतह छ मिटर मात्रै बढ्दा पनि २० वटा सहर सांघाई, हङकङ, मुम्बई, कोलकतालगायतका स्थानको चार लाख ४४ हजार स्क्वायर माइल क्षेत्रफल पानीले डुबाउने भएकोले करिब ३५ करोड मानिसको उठिबास लाग्ने छ।
अमेरिकाले एक वर्षमा सरदर १० हजार टन कार्वन उत्सर्जन गर्छ, जसले आर्कटिकमा जमेर बसेको हिउँ पगाल्छ र त्यो समुद्रमा मिसिन्छ र समुद्रको सतह बढ्ने गर्छ। २१०० सम्म आर्कटिकले १०० विलियन टन कार्वन उत्पादन गर्छ, यो परिणाम विश्व यान्त्रिक युगमा प्रवेश गरेदेखिको आधा हो।
पुस्तकमा ३ डिग्री फरेनहाइट तापक्रम बढ्दा समुद्रको सतह ५० मिटरले बढ्ने हुँदा अमेरिकाका समुद्री किनारामा रहेका थुप्रै सहरहरु डुब्ने आँकलन छ। त्यस्तै ब्युनर्स आयर्स, पाराग्वे, डब्लिन, व्रसेल्स, एम्सटरडम, कोपेनहेगन, स्टकहोम, रिगा, हेलसिन्की, सेन्टपिटर्सवर्ग, स्तानबुल, दोहा, दुवई, कराँची, कोलकता र मुम्बई पनि पानीमा डुब्नेछ।
हाल विश्वभर ६० करोड मानिसको आवादी समुद्री सतहबाट ३० फिटभन्दा कम उचाइँमा छ।
आगलागीबाट ब्राजिल, अमेरिका, रुस, फिनल्याण्ड र स्वीडेन बढी प्रभावित देश हुन्। यी देशमा बढी जनधनको क्षति हुने गरेको छ। प्रत्येक वर्ष आगलागीबाट मर्ने मानिसको संख्या कहालिलाग्दो छ। उनले दिएको तथ्यांक अनुसार, प्रतिवर्ष दुई लाख ६० हजारदेखि ६ लाख मानिसहरु आगलागीबाट मर्छन्।
आगलागीबाट अमेरिकाले मात्रै सन् २०१७ मा ५ गिगाटन, चीनले ९ गिगाटन प्रदूषण उत्सर्जन गरेको थियो।
प्राकृतिक विपद् संसारको अर्को कठिनाइ हो। २०१७ मा अमेरिकाका आएको फ्लोरेन्स नामक तीव्र वेगको बतासले ५० जना मानिस मार्यो। यसले गरेको नोक्सान मात्र १७ विलियन डलर रहेको छ।
फिलिपिन्समा २००६ देखि २०१३ सम्मको करिब आठ वर्षको अवधिमा ७५ पटक प्राकृतिक विपद् आएको जनाइएको छ। यस्ता विपद्बाट ३५ ट्रिलियन डलर नोक्सान भएको थियो।
पृथ्वीको तापमान एक प्रतिशतले मात्र बढ्दा पनि ४ वा ५ क्याटागोरीको तीव्र वेगको बतास आउने र त्यसले मानवीय क्षतिको साथै मिलियन मिलियन डलर नोक्सान जनाइएको छ। विगतमा भन्दा हालका वर्षहरुमा अमेरिकामा पनि टोर्नेडो गएको र आउँदा वर्षमा यो संख्या ४० प्रतिशतले बढ्ने संकेत गरिएको छ। यसरी बढेको खण्डमा हालत के होला?प्रश्न ज्युँ का त्युँ छ।
अहिले पृथ्वीको ७१ प्रतिशत भाग पानीले ढाकिएको छ। योमध्ये दुई प्रतिशत मात्र स्वच्छ वा खानयोग्य छ र त्यसमध्ये पनि एक प्रतिशत मात्र पानी पहुँचमा छ। यही एक प्रतिशत पानी सात अर्व मानिसले पिउँछन्।
हिमनदी पग्लने क्रम जारी छ। सन् २१०० सम्ममा यो नदी पग्लेर ४० प्रतिशत मानिसहरु पानीको अभाव भोग्नेछन्। २०५० सम्ममा पाँच अर्व मानिस स्वस्थ खानेपानीबाट वञ्चित हुनेछन्।
हाल भारतमा मात्र स्वच्छ खानेपानीको अभावमा प्रत्येक वर्ष दुई लाख मानिसहरु मर्छन्। पानीको असुरक्षाको करण मध्यपूर्व, अफ्रिका, मध्य एसिया र पूर्वी एसियामा सरदर ११ प्रतिशतले उत्पादनमा ह्रास आउनेछ। पानीकै कारण झैझगडा हुने र सिरियाको युद्धलाई पनि यही रुपमा लेखकले लिएका छन्।
चट्टानहरुले बाढी र आँधी बेहरीलाई रोक्ने गर्दछन् तर यी चट्टानको खिइने र क्षय हुँदै गएको कारण इन्डोनेसिया, फिलिपिन्स मलेसिया, क्युवा र मेक्सिको आदि देशको वहुमूल्य सम्पति गुमाउने प्रक्षेपण गरिएको छ। तापक्रमका कारण समुद्रको पानीमा अक्सिजनको मात्रा घट्दै जाने र माछाहरुको संख्या पनि घट्दै जाने छ। यसले माछा व्यावसाय पनि चौपट बनाउनेछ। कतिपय समुद्रहरु हराउनेछन्।
धर्ति तातिने क्रम बढ्दै गएको छ। तातिने क्रमबाट ओजोन तह पनि बढ्दै जान्छ र २०५० सम्ममा पृथ्वीभर दुई अर्व मानिसले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा निकै कम स्तरको हावामा सास फेर्नेछन्। अस्वस्थकर हावाकै कारण अहिले प्रतिदिन पृथ्वीभर १० हजार मानिसको ज्यान जाने गरेको छ। नेपालको नाम यो पुस्तकमा कहीँ पनि उल्लेख छैन तथापि काठमाडौँका जनता लामो समयदेखि यो समस्याबाट ग्रसित छन्।
धूलो र धुँवाका कारण बच्चाहरुमा मानसिक बिरामी हुने र वयस्क मानिसहरुमा पनि मानसिक असन्तुलन र बिर्सने रोग लाग्ने बताएका छन्। दीर्घकालीन श्वास प्रश्वासमा समस्या अर्थात् धम्की हुने, मस्तिष्कघात, क्यान्सर, मुटुको रोग र कलेजोको रोग लाग्ने देखाइएको छ।
त्यस्तै गर्भवती महिलाहरुमा समय अगावै बच्चाको जन्म हुने, वच्चाको वजन कम हुने र अरु स्वास्थ्य समस्या पनि हुने बताइएको छ। भारतको दिल्लीमा सन् २०१७ मा यति धेरै प्रदूषण मापन गरिएको थियो कि त्यहाँको वायुमा एक जना व्यक्तिले दुई प्याकेट चुरोट खाएजत्तिकै प्रदूषण निलिरहेका थिए।
यसका कारण अस्पतालहरुमा २० प्रतिशतले रोगीहरु बढेको, दृश्यमा समस्या भइ दुर्घटनामा बढोत्तरी आएको र संसारभर सन् २०१७ मा वायु प्रदूषणबाट मर्नेहरुको संख्या ९० लाख पुगेको कुरा पुस्तकमा चर्चा छ। १० लाख चीनमा मरेका थिए। अहिले विश्वका ९५ प्रतिशत मानिसहरुले प्रदूषणयुक्त हावामा सास लिइरहेका छन्।
तापक्रम बढेपछि हिंसा र द्धन्द्ध पनि बढ्छ। शताब्दीयौँदेखि जमेर रहेको हिउँ पग्लनेक्रम सुरु हुन्छ। हजारौँ वर्षदेखि हिउँमा जमेर रहेका विशाक्त जीवाणु तथा व्याक्टेरियाहरु बाहिर निस्कन्छन् र तिनले धेरै मानिसको जीवन समाप्त हुनसक्ने अनुमान लेखकले गरेका छन्।
उनले यसलाई युरोपमा ब्ल्याक डेथले मारेको ६० प्रतिशत मानिससँग तुलना पनि गरेका छन्। विश्व बैकको अनुमान अनुसार, २०३० सम्ममा मलेरिया वा अन्य त्यस्तै किसिमका रोगबाट ३६ करोड मानिसहरु प्रभावित हुनेछन्।
यस अवधिसम्ममा नयाँ नयाँ रोगहरु आउनेछन्। वैज्ञानिकहरुले हाम्रो शरीरमा मौजुदा व्याक्टेरियामध्ये ९९ प्रतिशत व्याक्टेरियाका बारेमा केही थाहा नभएको र जलवायु परिवर्तनपछि तिनीहरुले कस्तो प्रतिक्रिया देखाउँछन् त्यो पनि एक रहस्य रहेको कुरा पुस्तकमा छ।
जलवायुका कारण विश्वका एक अर्व मानिस शरणार्थीका रुपमा अन्यत्र जानेछन् भने आत्महत्याको दर पनि बढ्नेछ। तापक्रम बढे सँगसँगै हिंसा र हत्याको क्रम बढ्ने छ। अपराध, चोरी, वलात्कार र घरेलु हिंसा पनि बढ्छ।
युद्धका कारण २०३० सम्ममा तीन लाख ९३ हजार मानिस मर्ने उनको अनुमान छ। लेखक वेल्सले आधा डिग्री तापक्रम बढ्दा मात्र १० देखि २० प्रतिशत सशस्त्र द्धन्द्ध बढ्नेछ।
के त्यसो भए हाम्रो नाति पुस्ताले यो संसार देख्न र भोग्न पाउँदैनन् त?यो प्रश्न पनि उनले उठाएका छन् र भनेका छन् हामीले यही र यस्तै रुपले पृथ्वीको दोहन गरिरहेको खण्डमा त्यो कुरा सम्भव देखिन्छ। उनले के सुझाव दिएका छन् भने विश्वका धनी देशले १० प्रतिशत उत्सर्जन घटाएको खण्डमा एक तिहाइ घट्छ। उनले मासु र मासुजन्य परिकारका साथै दुग्धपदार्थको उपभोग घटाएको खण्डमा धेरै समस्या समाधान हुने देखेका छन्।
हुनत चीनले उत्पादन बढाउन कृषिमा क्रान्ति गर्ने योजना बनाएको, चीन, वेलायत र अमेरिकाले तहैतह बनाएर कृषि उत्पादन गर्ने योजना बनाए पनि त्यो प्रभावकारी नहुने उनको भनाइ छ।
अब हामीले गर्ने कार्यव्यवहारले नै हाम्रो मात्र होइन, पृथ्वीकै भविष्यको निर्धारण गर्छ। त्यसैले हामीले चाँडै नै कार्यान्वयनको दिशामा जानुपर्छ अन्यथा पश्चात्ताप मात्र हुनेछ। उनको निष्कर्ष छ।