प्रचण्ड अमेरिका आएर फर्केको पनि निक्कै दिन भैसक्यो। तैपनि यो प्रसंगको बिट अझै मरिसकेको छैन।जगजाहेर छ- श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका आएका थिए- प्रचण्ड। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षको यहाँ राम्रैसँग मानमर्दन गरियो।मानमर्दन गर्नुको कारण थियो- उनको नेतृत्वमा दुई दशकअघि सञ्चालन गरिएको सशस्त्र युद्ध।
तत्कालीन विद्रोहलाई राज्यले नियन्त्रण गर्न खोज्दा १७ हजारभन्दा बढीले ज्यान गुमाउनुका साथै हजारौं घाइते र अंगभंग भए। केही अझैं वेपत्ता छन्।
द्वन्दको मारमा परेकाको एउटा ठूलो संख्या विदेशिएको छ। त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष मारमा परेको र हाल अमेरिका रहेका नेपालीको एउटा पंक्तिले प्रचण्डलाई आतंककारी भन्दै आक्रोशित वन्यो।
केन्टकी राज्यमा रहेका तिलक श्रेष्ठले अमेरिकाको संघीय अनुसन्धान व्यूरोलाई एउटा ई-मेल लेखेर प्रचण्डलाई पक्रन अनुरोध गरे। त्यही ई-मेल प्रचण्डविरूद्ध खनिने आधार बन्यो। सामाजिक सन्जाल र मिडियामार्फत अमेरिकाहुदै यो विषय संसारभर फैलियो।
प्रचण्डप्रति आक्रोशित पक्षले उनलाई आतंककारीको व्यवहार गर्यो।प्रचण्डप्रति सदभाव राख्नेले यसलाई अमानवीय ब्यवहार भने।प्रचण्डको पक्षमा सरकारी संयन्त्र प्रयोगमा आयो नेपालबाटै आफ्नो भ्रमणलाई सुरक्षित वनाउदै प्रचण्ड यहाँ आइपुगेको सजिलै अनुमान गर्न सकिन्थ्यो।
अमेरिकामा आईसकेपछि विशेष गरी राजदूतावास र आफ्नै राजनीतिक पार्टीका व्यक्तिको सरसल्लाहमा नचल्नुको विकल्प देखेनन्।उनलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले रिसिभ गरे।ससम्मान स्वागत गर्नुको सट्टा विरोधको डरले गोप्य तरिकाले उनलाई दुतावास पुर्याइयो। नेपालीमाझ सार्वजनिक नगर्ने गरी प्रचण्डलाई व्रिफिड गरेको सजिलै बुझ्न सकिन्थ्यो।
यसैबीच अमेरिकाका लागी पूर्वराजदूत एच डि डेलिसीलाई भेटेको फोटो सार्वजनिक भयो।अमेरिकी उच्च अधिकारीलाई भेट्न गरिएका असफल प्रयासका समाचार पनि छिटपुट आईरहे। उपचारको विषयभन्दा प्रचण्डको औपचारिक भेटघाटका गतिविधि बढी बाहिरिरहेका थिए।यसबाट महोत्वाकांक्षी प्रचण्डको चरित्र बुझ्न गार्हो थिएन। नेपाल फर्किनुअघि अमेरिकी राजनीतिमा प्रवेश गरेका ह्यारी भण्डारीसँग भेट भएको पनि थाहा भयो। यसबाहेक उच्च अधिकारीलाई भेटेर आफूलाई भविष्यमा गरिने शंकाबाट मुक्त हुने प्रयास धेरै सफल भएनन। त्यसो त आतंककारीको सूचीबाटै हटाईसकेको अमेरिकाले उनलाई पक्रने खास आधार पनि थिएन। आफ्नै सत्ता भएको समयमा त्यो पनि प्रधानमन्त्री भैसकेको व्यक्तिलाई पक्राउ गर्ने वलियो आधार थिएन।उनीविरूद्धको आक्रोश पीडा पोख्ने आधार मात्र थियो ।
अमेरिकामा एउटा पक्ष छ- जुनपक्ष संसारभर हुन्छ।त्यो हो- तटस्थ विचार वोक्ने पक्ष। राजनीतिक विचार नभएको अर्थात् सवै पक्षको जायज कुराको समर्थन र नाजायज कुरोको विरोध गर्ने पक्ष जसलाई स्वयं प्रचण्डले महत्व दिन सकेनन्। उनी आफ्नै राजनीतिक विचारका पछि लागे। यो अधिकांश नेपाली नेताको समस्या हो। विचार मिलेकै भरमा राजदूतको व्रिफिडमा सीमित भए उनी। उनले राजदुतको महिमा र गरिमा यहाँको नेपाली समुदायमा के छ?, त्यतातिर केही ध्यान नै दिएनन्।विदेशिएको एउटा जमात फोहोरी राजनीतिभन्दा अलग छ भन्ने कुराको उनलाई हेक्का भएन। अमेरिकाका रहेको तटस्थ र विवेक प्रयोग गर्ने ठूलो पंक्तिले उनीबाट गरेको आशामा स्वयं प्रचण्डले तुसारापात गरिदिए।
नेपालमा पुगेर प्रचण्डले मानमर्दनको जवाफ मानमर्दनकै तरिकाले दिए।नेपाल ओर्लनेबित्तिकी विमानस्थलमै उनले अमेरिकाका नेपालीलाई होच्याउँन सुरू गरे। त्यहाँ बस्नेहरू आफूलाई रैथाने सम्झिन्छन् भन्दै रिस फेरे। राजदूत र अमेरिकीले बचाएको बरू नेपालीले नै जेल हाल्न खोजेको दुखेसो गरे। उनको जवाफी आक्रोश यहाँसम्म पुग्यो कि रिस पोख्ने वहानामा यहाँ बस्नेलाई 'झारपात'कै संज्ञा दिए। यसबाट उनले भविष्यमा थप आक्रोश बढ्ने सम्भावनाको कम आँकलन गरे।
आक्रोशबाटै जवाफ दिँदा उनले उठाएको एउटा कुरा नेपालका उच्च नेतृत्व जो आउँदा पनि विरोध गर्ने चलन रहेछ भन्ने गम्भीर विषय हो। अमेरिकाको औपचारिक भ्रमणमा यहाँ आएका उनीहरूलाई विरोध गर्ने परिपाटी घिनलाग्दो नै छ। त्यसमा बढी राजनीतिक आग्रह र पूर्वाग्रह मिसिएको हुन्छ। चाहे स्वर्गीय सुशील कोइराला आउँदा होस या पछिल्ल पटक केपी शर्मा वली आउँदा होस्- विपरित विचार राख्नेले विरोध गरेकै हुन्छन् । पछिल्लोपटक पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र प्रचण्ड विरोधको सिकार भए। विरोधको यो परिपाटीमा उनीहरू पनि शंका गर्ने ठाउँमा छन्।नेपाली कांग्रेसका नेताको भ्रमणमा अमेरिकामा रहेका उनीहरूका कार्यकता पनि विरोधमै उत्रेका भेटिन्छन्। यस्तो कार्य ठीक हैन भनेर त उनीहरूका कार्यकर्तालाई प्रशिक्षित गरिएको देखिएको छैन। यसैले आफू विरोधको निशामना पर्नमा उनीहरू अप्रत्यक्षरूपमा आफै पनि जिम्मेवार छन्।
यसपटक नेपाली कांग्रेस यहाँस्थित पार्टी सन्जालमार्फत प्रचण्डको विरोधमा लागेको भेटियो।यो कुरा स्वयं प्रचण्डले नेपालमा गएर एउटा कार्यक्रममा सँगै उपस्थित भएका पूर्वअर्थमन्त्री डा. रामशरण महतसँग दुखेसो पनि गरे। उनले आफुलाई आतंककारी भन्ने हो भने वृहत शान्ति सम्झौताको नेतृत्व गर्ने पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता गिरिजाप्रसाद कोईरालालाई पनि आतंककारीको आरोप लाग्न सक्ने अभिव्यक्ति दिए ।
प्रचण्डको एउटा पक्षमा एकहदसम्म धेरै मान्छे सकारात्मक हुनसक्छन्।हिंसामा फसेको मूलुकलाई विद्रोही नेतृत्वको पक्षबाट शान्ति-संझौता गर्दै द्वन्द विसर्जन गरिदिए। जसलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्यो। संसदीय अभ्यासमा लागिसकेपछि अमेरिकाले पनि उनी संलग्न तत्कालिन माओवादी पार्टी र त्यसका नेतालाई आतंककारी सूचीबाट हटाइ दियो। त्यो सूचीबाट हटाउन महत्वपूर्ण भूमिका खेल्ने त्यतिबेलाका नेपालका लागि अमेरिकी राजदूत डेलिसीले यसपटक पनि प्रचण्डलाई भेटेर उनको योगदानको सम्मान गरे।
यसै पनि आतंकारीको सूचीबाट हटाइसकेको अमेरिकामा प्रचण्डलाई पक्राउ गर्ने प्रयास त्यति सम्भव थिएन । त्यसमा पनि श्रीमतीको उपचारमा आएका प्रचण्डलाई मानवीय समवेदनाको सीमा नाघेर मानमर्दन गर्नुको पनि त्यति तुक नहुनसक्छ। तर, स्वयं प्रचण्ड पनि सशंकित हुन जरूरी थिएन, उनको सशंकित व्यवहारले पनि उनी बेफाइदामा परे। नेपालमा गएर प्रतिउत्तरमा आफूलेपनि मानमर्दनकै भाषामा देखिनु प्रधानमन्त्री भैसकेको व्यक्तिलाई सुहाउदैन कि ! बरू द्वन्दकालका अपराधलाई सत्यनिरूपण गर्दै द्वन्द विर्साउने गरी मूलुकको समृद्धिमा लाग्दा सवैको हित हुने देखिन्छ। र, सँगसँगै सरकारको प्रतिनिधित्व गरेर पठाउने सरकारी निकायमा राजनीतिक विचार बोकेका भन्दा प्रोफेसनललाई खटाउँदा प्रवासमा पछिल्लोपटक देखिएको राजनीतिको घीनलाग्दो फोहोरी खेल पनि रोकिन सक्छ कि? तत्पश्चात मात्र औपचारिक/अनौपचारिक भ्रमणमा आएकाको मानमर्दन रोकिनुका साथै स्वागत सम्मानको वातावरण बन्दै जाने विश्वास गर्न सकिन्छ। अन्यथा, काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भनेझै यता प्रचण्डहरू आउँदा एकाथरिले 'आतंककारी' भनिरहलान् अनि उता नेपाल पुगेर प्रचण्डहरूले जवाफमा 'झारपात' भनिरहलान् ।