२०५२ सालको फागुन महिनामा हामीले गाउँकै गणेश प्राथमिक विद्यालयबाट अक्षर चिन्न शुरु गर्यौ। त्यही समय देशमा जनयुद्ध सुरु भएको रहेछ।जनयुद्ध भैरहेकाे पृष्ठभूमि के थियो?, हामी भर्खर कखरा सिक्दै गरेका वालवालिकालाई थाहा हुने कुरै भएन।हामी मात्र होइन, हाम्रा गाउँका जान्नेबुझ्नेलाई समेत थाहा थिएन। त्यसैले त्यतिबेला जनयुद्ध र जनयुद्ध सञ्चालन गर्ने माओवादीका बारेमा गाउँमा धेरै प्रकारका अपुष्ट समाचार सुनिने गर्थे।
कोही भन्थे- 'अव माओवादी आउँदैछन्।माओवादीहरु त खत्रा हुन्छन्। एकजनाले १० जना प्रहरीलाई मारिदिन्छन्। प्रहरी त माओवादी देखेपछि भाग्छन् रे।जनतालाई केही पनि गर्दैनन् रे।' यस्तै यस्तै खबर दिनहुँ सुनिन्थे।हामीलाई भने न त प्रहरीको बारेमा थाहा थियो, नत माओवादीको बारेमा नै। अझ भन्ने हो भने जनताको बारेमा पनि थाहा थिएन। त्यसैले दिनहुँजसो सुनिने जनयुद्धका बारेमा सुनिने यस्ता खबरप्रति पनि कुनै चासो थिएन। बरु, शनिबार कहिले आउँला र स्कुल जानु नपर्ला भन्ने विषयमा चिन्ता हुन्थ्यो।
२०५६ साल वैशाख ११ गते संसदीय निर्वाचन हुँदै थियो।देशभर चुनावी गतीविधि भए।विभिन्न राजनैतिक दल गाउँगाउँमा चुनावी गतिविधि गर्न पसे। त्यतिबेला पनि माओवादीको बारेमा केही थाहा थिएन। गाउँमा सुनिने अपुष्ट खबरबाहेक। चुनावमा माओवादीले असर गर्न सक्छन् भन्ने सरकारलाई लागिरहेको थियो।कडा सुरक्षाका बीचमा संसदीय निर्वाचन भयो।एक निर्वाचन क्षेत्र भएको जुम्लामा तत्कालीन नेकपा एमालेबाट देविलाल थापा निर्वाचित भए।हाम्रो गाउँ एमालेमय भयो।
त्यसपछि माओवादीको बारेमा सुनिने खबर परिमार्जित भए। 'माओवादी र एमाले उस्ता-उस्तै हुन।कांग्रेस फरक हो।माओवादी र एमाले दुई भाइ छुट्टिएका जस्तै हुन्।दुवैको चिन्ह हँसिया र हथौडा नै हो। माओवादीले एमालेलाई केही गर्दैनन्, कांग्रेसलाई छोड्दैनन्' यस्तै यस्तै खबर गाउँभरी फैलियो।
गाउँमा काँग्रेस थाेरै थिए। उनीहरुका बालबालिका र हामीबीच विवाद हुथ्यो। हामी भन्थ्याैं 'सूर्य हाम्रो हो। यदि सूर्य नभएको भए घाम कसरी ताप्ने ? त्यसैले सूर्य ठुलो हो।' उनीहरु भन्थे- 'रुख नभएको भए दाउरा केका हुन्थे? खाना कसरी पकाउने? घर कसरी लगाउने ? त्यसैले रुख नै ठुलो हो।' उनीहरुले रुखका बारेमा यसरी ब्रिफिङ गरेको सुन्दा हामी तर्कबिहिन हुन्थ्यौं।अनि हामी जित्नलाई भन्थ्यौ- तिमीहरुलाई माओवादीहरुले खोजी खोजी मार्छन्, हामीलाई त केही गर्दैन।' यो सुनेपछि भने उनीहरु निराश हुन्थे। उनीहरूको अनुहारमा एक किसिमको भयजस्तो देखिन्थ्यो।
साँच्चै भन्नु हो भने कांग्रेस र एमाले दुवैका सिद्धान्त हामी कसैलाई थाहा थिएन। उनीहरुको चुनावचिन्हको बारेमा मात्र विबाद गर्थ्यौं। चुनाव सकिएपछि विवाद पनि सकियो।
२०५६ सालको कात्तिक महिनामा एक हुल माओवादी गाउँमा आए।बिहानै तपाईको गाउँमा नेकपा माओवादीको कर्णाली जनहातेमालो अभियान सञ्चालन हुँदैछ।सबैजना एकै ठाउँमा जम्मा हुनुहोस् भन्दै एउटा आवाज आयो। त्यो आवाज आएको केही बेरमै घरघरमा माओवादी आएर आज हाम्रो कार्यक्रम हुँदैछ। उता नजिकैको खेतमा जम्मा हुनुहोस् भन्दै सबैलाई खेतमा जम्मा गरेर साँस्कृतिक कार्यक्रमसहितको आमसभा गरे। आमसभामा बोल्ने अधिकांश वक्ताले आफ्नो मन्तव्य काग्रेस र एमालेलाई गाली गर्दै सकाए। सारमा उनीहरूको एउटै भनाइ थियो- 'हामी जनताको लागि लड्दैछौं। हाम्रो अभियानमा तपाईहरु पनि सामेल हुनुहोस्।' उनीहरुका साँस्कृतिक प्रस्तुतिले पनि काँग्रेस, एमालेलाइ नै व्यंग्य गरेका थिए।कार्यक्रममा माइन्युट गर्दा अधिकांश सहभागीले आफ्नो वास्तविक नाम नदिएर फरक नाम दिएछन्। हामीले आफ्नो वास्तविक नाम नै टिपायौ।
कार्यक्रम सकियो, माओवादीहरु गए।माओवादी कस्ता हुन्छन्? भन्ने कौतुहलता मेटियो।माओवादीका बारेमा सुनिएका सबै अपुष्ट समाचारहरु मिथ्या भए। एकजना माओवादीले १० जना प्रहरी मार्न सक्ने भन्ने पनि हल्लै रहेछ। त्यस्तै माओवादी र एमाले भाइ-भाइ हाेइन रहेछन् भन्ने लाग्याे।
केही समय उनीहरु फरक रहेछन् भन्ने धारणा बने पनि अहिले आएर वास्तवमा उनीहरु एउटै रहेछन् भन्ने लागेको छ।अहिले त एक नै भएका छन्।एक हुनुअघि पार्टी दुई भए पनि स्वार्थ र व्यक्तिगत फाइदाकाे बेला उनीहरु सँधै एक भए। त्यसैले एमाले र माओवादी मात्र हाेइन काँग्रेस समेत भाइ नै रहेछ। सिद्धान्त केवल ट्रेडमार्क मार्क मात्रै सावित भएकाे छ।
त्याे कार्यक्रमपछि हामी आफ्नो वास्तविक नाम लेखाएर फर्किनेको मनमा अर्को चिन्ता थपियो।कतै माओवादीबाट प्रहरीले त्यो कागज भेटायो भने हामी त बर्बाद हुन्छौं।माओवादी आएर कार्यक्रम गरेको एक सातापछि गाउँमा प्रहरीको गस्ती आयो।गाउँका केही मान्छेलाई सोधपुछ गर्यो। टोली फर्कनुअघि उनीहरूले भने- 'अबदेखि माओवादीलाई खाना दिनेलाई पनि कारबाही हुन्छ। त्यसैले माओवादीलाई खाना र बस्न नदिनुहोला।'
त्यसपछि पनि गाउँमा माओवादी आउँने जाने क्रम जारी रह्यो। तर, सधै र धेरै हैन, कहिलेकाँही र एक-दुईजना मात्र।प्रहरी पनि कहिलेकाहीं आउने जाने गर्थे। केही समयपछि माओवादीलाई सरकारले वार्तामा बोलायो। वार्ता सफल भएन, देशमा संकटकाल लागु भयो र माओवादीविरूद्ध सेना नै परिचालन भयो।
त्यतिबेला सरकारले सेना परिचालन गरेर माओवादी सिद्धाउने सोच राखेको थियो भने माओवादीले प्रहरीलाई झै सेनालाई पनि तह लगाउँछौं भन्ने सोचेका थिए।समय बित्दै जाँदा न सेनाले माओवादी सखाप पार्न सक्यो न त माओवादीले नै सेनालाई प्रहरीजस्तै तह लगाउन सके।दुबै पक्षको चेपुवामा जनता पर्थे।माओवादीको आवतजावत गाउँमा बढ्न थालेपछि पहिलेका कांग्रेस र एमाले राजनीतिबाट हराउँदै गए। उनीहरू नै माओवादीका कार्यक्रममा सहभागी हुन थाले।
गाउँमा माओवादीको कार्यक्रम भएको थाहा पाएसम्म राती सेना पुगिहाल्थ्यो। सेना पुग्दा गाउँबाट माओवादी भागीसक्थे। माओवादी नभेटाएपछी सेनाको निशानामा गाउँलेहरु नै पर्थे। त्यसैले सर्वसाधरणहरु सेनाको नाम सुन्दा नै डराउँथे। सेनाले युवाहरुलाई भेट्नै हुदैन थियो। भेटेेकी यातना दिइहाल्थ्यो। सेनाले माओवादीको विल्ला भिडाउदै सोझा गाउँलेलाई यातना दिएर जान्थ्यो। अनि माओवादी आएर तिनै सोझा जनतालाई सिआडीको विल्ला भिडाएर धम्की दिन्थे ।
यसरी दुबैपक्षको यातना सहन नसकेपछी युवाहरु गाउँ छोड्ने क्रम सुरु भयो। त्येतीबेला अहिलेको जस्तो वैदेशिक रोजगारीको पहुँच जुम्ला सम्म पुगेको थिएन। त्यसैले सबैको गन्तव्य इन्डिया नै हुन्थ्यो। गाउँका धेरै जना इण्डियाका विभिन्न सहरमा मजदुरी गर्न गए। गाउँमै बस्नेहरु सेना र माओवादी दुबैको दोहोरो चेपुवा परीरहे।
हामी कक्षा ६/७ मा पढ्दै थियौं। सानै उमेर भएकाले हामी इन्डिया जान सकेनौं। विद्यालय छोड्न पनि सकेनौं। त्यसैले दुवै पक्षको बीचमा रह्यौं। ७ कक्षामा पढ्दै गर्दा मेरै गाँउका तिन जना साथीहरु एकै दिन पुर्णकालीन माओवादी भए। उनीहरुका आफन्तहरुको रुवाबासीले गाउँमा सन्नाटा छायो। छोराहरुलाई फर्काउन आफ्न्तहरुले पहल गरेपछी एक जना अलि कम उमेरकाे एकजना भोलीपल्ट घर फर्के। बाँकी दुई जना हर प्रयास गर्दा पनी घर फर्केनन्।
त्यसपछी गाउँका अभिभावक आफ्ना छोराछोरी विद्यालय पठाउन र गाउँमै राख्न डराउनुपर्ने स्थिति आयाे।हामी कक्षा १ मा भर्ना हुनेबेला एउटै गाउँका १० जना सँगै विद्यालयमा भर्ना भएका थियौं।७ कक्षामा पुग्दा ५ जना मात्र बाँकि रह्यौ।पाँचजनाले बीचैमा पढाइ छाडे।तीनजना माओवादी भएपछि हामी २ जना दलित मात्र बाँकी रह्यौं। त्यसको एक महिनापछि अर्को एकजना पनि माओवादी भए।अनि त म मात्र बाँकी रहें।
त्यतिबेला दलित बस्तीमा शिक्षाको पहुँच पुगेको थिएन।शिक्षाको पहुँच नपुगे पनि जनयुद्धमा भने पहुँच पुगेकै थियो।करिव एकसय घर धुरी रहेको गाउँको दलित बस्तीबाट चारजना त जनयुद्धमै सामेल भए ।
गाउँको दलित विद्यार्थी म मात्रै रहेपछि मलाई पनि माओवादी हुन्छ भनेर सबैले अनुमान लगाउन थाले।सँगैका साथी सबै माओवादी भएपछि मलाई पनि हुन्छ भनी अड्कल काट्नु स्वभाविकै थियो। माओवादीको प्रभाव पनि सबैतिर थियो।त्यसैले त्यो प्रभावमा म नपरूँ भनेर मेरा आफन्तले सकेसम्मको उपाय लगाए।कसैले स्कुल छोड्नु सबैभन्दा उत्तम विकल्प देखे त कसैले गाउँ छोड्नु।जसको कारण मेरो स्कुले दिन निकै तनावमा विते। आफन्तको कडा दवावका बीच पनि मैले स्कुल छाड्न सकिन।
कक्षा ७ को परिक्षा दिएर ८ कक्षा पढ्न बजारनजिक बोहोरागाउँमा रहेकाे रत्नुचूडेश्वर माविमा गएँ। त्यही समयमा मेरै गाउँबाट माओवादी हुनेमध्ये दुईजना 'शहीद' भैसकेका थिए। म कक्षा १० मा पुग्दा नपुग्दै युद्धविराम भयो। सरकार र माओवादीका बीचमा शान्ति वार्ता भयो र भयो शान्ति सम्झौता पनि।
युद्धको अन्त्य भयो भनेर सबैले खुशियाली मनाए। त्यतिबेलासम्म मेराे अर्को एकजना सहपाठी पनि बेपत्ता भइसकेका रहेछन्। देश परिवर्तन गर्न भनेर युद्धमा होमिएका दलित बस्तीका तीन युवा जनयुद्धमा आफैँ हराए। दुई शहीद भए, एक बेपत्ता। बाँचेकामा पनि अधिकांशको अवस्था सन्तोषजनक छैन।युद्ध सकिएपछि नेता र टाठाबाठाले कहिले पछाडि फर्किनु परेकाे छैन। हिजाे जनताकाे बीचमा खाएका कसम भुलेका छन्।युद्ध लडेका साेझासाझाकाे अवस्था निकै चिन्ताजनक छ।फेरि उनीहरु आवेगमा आएर बन्दुक समाउँछन कि भन्ने भय जनतामा फेरि पलाएको छ।फेरि पनि युद्ध भैहाल्यो भने चेपुवामा पर्ने त सोझासाझा जनता नै त हुन्।
देशको पछिल्लो अवस्था हेर्दा निको चाल देखिएको छैन। हिजो युद्ध गर्ने सरकारमा छन्।तर, उनीहरूले किन र कसका लागि युद्ध लडिएको थियो भन्ने नै बिर्सीसके।फेरि अर्काथरि हामी जनताका लागि लड्छौं भनेर आइसकेका छन्। जनताका लागि भने पनि लड्न त आखिर आफ्नै लागि रहेछ। कहिलेसम्म चल्ने होला यो क्रम? आखिर चेपुवामा त सधैं जनता नै पर्ने रहेछ।