नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आम मानिसलाई हरेक दिन नुन-तेल/भुटुनकै चिन्ता हुन्छ। कसरी बिहान बेलुका त्यसको जोहो गर्ने? तर, अमेरिकामा भने ब्यक्तिलाई सुत्नुअघि अनि भोलिपल्ट बिहान उठ्ने बित्तिकै पिउँने कफीलाई तिर्ने डलर खल्तीमा छ कि छैन भन्ने चिन्ता हुँदोरहेछ।
कुनै समय सुनेको थिएँ- विश्वचर्चित सैनिक शासक नेपोलियन बोनापार्टले मृत्युशैय्यामा पनि एक चम्चा कफी मागेका थिए रे। झट्ट सुन्दा मलाई यो कुरा कत्ति पनि विश्वास लागेको थिएन। तर, अमेरिका आएपछि यहाँका मानसको कफीप्रेम देख्दा मैले त्यसमा कुनै शंकै गरिँन, सहजै पत्याईदिएँ।
अमेरिकी लाइफस्टाइलमा सबैभन्दा धेरै बन्ने गन्तव्य कफीसप नै हो।के युवा-युवती, के वृद्धवृद्धा, के किशोर किशारी कफीसपमा पसेकै हुन्छन्। अमेरिकामा धेरैजसो डेटिङ पनि कफिसपमै, सेटिङ पनि कफीसपमै हुन्छन् । भनिन्छ, कैयौं अमेरिकी रिलेशन कफीसपमा सुरू भएर कफीसपमै अन्त्य हुन्छन्।
खल्तीमा पैसा हुनेहरु त स्टारबक्स धाउँछन् र एककप कफीमै घण्टौसम्म सारा गफगाफ सिध्याउँछन्। डंकिन डोनट्स , म्याकडोनाल्ड र अमेरिकाको चर्चित खुद्रास्टोर सेभेन-इलेभेनमा पनि कफी खानेको घुइँचो लाग्छ।नमिठो नै किन नहोस् कफी भए पुग्छ।
मैले एकजना मानिसले फाटेको सट लगाएको देखर स्टोरबाट सट किनेर ल्याई दिएँ।तर उनले धन्यवाद दिनु त के उल्टै रिसाएर मसँग बोल्नै छोडे।केही दिनपछि मैले सोधें- तिमी कफी पिउन चाहन्छौ तर उनी तीनबित्ता उफ्रिएर हुन्छ, तिमी पैसा तिरिदिन्छेउ?, भने। मैले दुई डलर तिरेर कफी हातमा थमाई दिएपछि उनले सबैलाई त्यो कुरा भन्न भ्याए। हरेक दिनजसो उनी मलाई धन्यवाद भनिरहन्थे।
आफूले पिउँदै गरेको जुठो नै किन नहोस् उनीहरु कफी पिउन पाए दङ्ग पर्छन्। मैले भेटेका धेरै मानिस बिहानै लार्ज साइजको कप कफी पिएका छन् भने लन्चको लागि पनि त्यति वास्ता गर्दैनथे। मैले रक्सी खाएर रुने मानिस धेरैजना देखेकी थिएँ। तर, अमेरिकामा कफी खाएर रुने मान्छे पनि देखें।
कफीको चुस्कीसँगै याद गर्ने, सम्झना गर्ने, बहकिने वा जीवनप्रतिको गुनासो गर्ने वा गर्व गर्ने मानिस पनि प्रशस्तै हुँदारहेछन्।कफीको कप एक्लो जिन्दगीको बेस्टफ्रेण्ड हो भन्ने त भनाइ नै रहेछ यहाँ। कफी बिना त परिवार, साथी-संगीसँग संवाद गर्न पनि असम्भवजस्तै छ अमेरिकी लाइफस्टाइलमा।
कफी बनाउने र पिउँने तरिका पनि ब्यक्तिपिच्छे फरक फरक हुँदारहेछन्।कोही चकलेट मिसाएको कफी खाने, कोही दूधमा मात्रै खाने, कोही मेसिनमा बनाएको मात्रै खाने, कोही चम्चाले कफीको धुलो मात्रै खाने र पछि दूध मात्रै पिउँने र कफी र दूध पेटमै घुलियोस् भन्ठान्ने त कोही कफीको दाना नै किनेर ल्याएर आफैं प्रशोधन गर्ने, कोही सुगरफ़्री, कोही चिनीसहित आदि/इत्यादि।
मलाई कफीका फाइदा , बेफाइदा र सम्भावित स्वास्थ्य फाइदाबारे केही पनि जानकारी छैन।तर, बेला-बेला अमेरिका त्यसमाथि पनि न्युयोर्कको रमाईलो हेर्न मन लाग्छ। त्यो हेर्नका लागि एउटा लत चाँहिदो रहेछ- कफी या रक्सी।
म रक्सी लिन्न। त्यसैले पनि कफी मेरो लागि निर्बिकल्प जस्तै बनेको छ।त्यसैले राम्रा क्याफेमा गएर अमेरिका चिहाउन पनि कफी पिउने बानी बलजफ्ती बसाएकी छु। आखिर के हो त अमेरिका भनेर चिन्न टाइम्स-स्क्वार वा एम्पाएर स्टेट, स्टारबक्स वा क्याफे त छिर्नुपर्छ। क्याफे छिरेपछि ट्वाल्ल परेर बस्ने कुरो भएन। बहाना चाहिहाल्यो। त्यही बहानाले म पनि क्रमश: कफीप्रेममा फस्दै गएकी छु।
कफी पिउँनका मेरो अरू पनि दुईवटा कारण छन्। पहिलो, दिनभर काममा मुडलाई ठीक राख्न पनि म कफी पिउँछु। दोस्रो, बेला न कुबेला झुपुझुपु आईदिने निद्रा भगाउन पनि कफीलाई सहारा बनाउँने गरेकी छु।
कफी पिउँने यही आदतले घरमा पनि एक दर्जन जति कफी पिउने कप भेला भैसकेछन्।दिन दिनै फरक फरक कप बोक्न मन पराउँछु म।
गर्मीमा बाहिरैबाट आइस र फिँज दुबै देखिने पारदर्शी कपमा पाइप हाली हातमा बोकेर अफिसको आफैं खुल्ने र बन्द हुने ढोकामा छिर्नुको मज्जा नै बेग्लै लाग्छ मलाई। मैले यसलाई आफ्नो स्टाइल बनाइसकेकी छु। मेरो स्टाइल देखेर साथीहरू ईर्ष्या पनि गर्छन।जाडोमा बाफ उडाउँदै कफी सुरुप्प सुरुप्प पार्दै मानिसहरुको अगाडि उभिएर गफ गर्दा झनै लोभिन्छन्।
मलाई चिनी र दूध नहालेको कफी अत्यन्तै तितो लाग्छ र एक घुड्को पनि पिउँन सक्दिन। म चिनी र दूधकै कफी पिउँछु। मेरो कफी बनाउने तरिका भने निक्कै फरक ढंगको छ।यस्तो मिठो वासनादार कफी कहाँ किनेको हो भन्छन् साथी- संगीहरू।म पनि के कम? स्टारबक्सको हो भनिदिन्छु।
जय होस् कफीको।