राष्ट्रियता भनेको व्यक्तिको आस्था एवं भावना हो जसको माध्यमबाट उसले आफूलाई आफ्नो राष्ट्रसँग गाँसेर हेर्छ, राष्ट्रप्रति स्नेह र लगाव प्रस्तुत गर्छ र आफूले पहिचान पाएको अनुभूति गर्दै आफ्नो पहिचान प्रस्तुत गर्छ।अर्को शब्दमा भन्ने हो भने यो एक प्रकारको आस्था र विश्वासको बन्धन हो जसले ब्यक्तिलाई आफ्नो राष्ट्र, भाषा, धर्म, इतिहास र मुल्य-मान्यतासँग जोड्ने काम गर्छ। राष्ट्रियता आफ्नो सभ्यता, संस्कृति र मौलिकपनप्रतिको अनुराग, प्रेम एवं सम्मोहन पनि हो। राष्ट्रियता ब्यक्तिको स्वाभिमान र गौरवसँग गाँसिएको हुन्छ जसको रक्षाको निमित्त ऊ मर्न र मार्न पनि तयार हुन्छ। राष्ट्रियताभित्र ब्यक्तिको पहिचान र पहिचानसँग जोडिएको अधिकार रहन्छ।
राष्ट्रियताको अवधारणा मानव जातिको बिकास क्रमसँगै गाँसिएर आएको भन्दा अयुक्ति नहोला। सामुहिक सुरक्षाको माग र आवश्यकता बड्दै गएपछि राज्यको निर्माण हुन पुग्यो। यससँगै ब्यक्तिले आफ्नो समूह र आफ्नो राज्यप्रति लगाव देखाउँन थाल्यो र आफू कुनै समुह विशेष र राज्य विशेषसँग गाँसिएको अनुभूति गर्नुका साथै उक्त समुहको हितमा आफुलाई उभ्याउन थाल्यो।यद्यपि राष्ट्रिय भावनाको चर्चा पश्चिमा जगतमा पुँजीवादको प्रभावसँगै अठारौं शताव्दितिरबाट सुरु भएको पाइन्छ।
राष्ट्रियता झट्ट हेर्दा स्थायी प्रकृतिको देखिएता पनि यो एक परिवर्तनशील अवधारणा हो किनकि राष्ट्रियता स्वदेशी पहिचानदेखि लिएर ब्यक्तिको स्वजातीय एवं भाषिक पहिचानसम्म गाँसिएको हुन्छ भने समयक्रमसँगै विभिन्न देशहरूको भौगोलिक स्वरुप र संरचना अनि त्यहाँको संस्कार संस्कृति पनि परिबर्तन हुने गर्दछ। कुरा यति हो कि हजारौं बर्षको अबधि एवं ठुलै आन्दोलन र उथलपुथलबाट मात्रै यसको परिवर्तन हुन सक्दछ।राष्ट्रियताको भावना बिकाससँगै पश्चिमा जगतमा टुक्राटुक्रामा बिभक्त जर्मनी र इटालीको एकीकरण गर्ने रचनात्मक अभियानदेखि उग्र राष्ट्रियताको नाममा नरसंहारक बिश्वयुद्दसम्मका बिध्वसंखात्मक गतिविधि पनि हुन पुगे।
दोस्रो बिश्वयुद्धपछि आफुलाई पुँजीवादी र साम्यवादी ध्रुबबाट अलग राख्न खोज्ने तेस्रो विश्वको रूपमा चिनिएका एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूले राष्ट्रवादलाई आफ्नो आदर्श मान्न थाले। राष्ट्रवादको अवधारणाले उनीहरुलाई पश्चिमा उपनिवेशिक शक्तिहरूबाट स्वतन्त्र हुन ठुलो भूमिका खेल्यो। यद्यपि यसले तेस्रो धुर्वको प्रतिनिधित्व गर्न भने सकेन किनकि राष्ट्रवाद आफैमा कुनै राजनीतिक सिद्धान्त थिएन।पुँजीवाद र समाजवादमा झै बस्तुको उत्पादन र वितरणका साथै देशको आर्थिक नीति र पुँजीको परिचालनको सन्दर्भमा यसको छुट्टै अवधारणा थिएन। राष्ट्रवादको नाउँमा एसियादेखि ल्याटिन अमेरिकासम्मका विविध सभ्यता, राजनीतिक व्यवस्था र आर्थिक अवस्था रहेका देशहरूबिच केवल उपनिवेशवादबिरोधी अवधारणा मात्रै साझा मुद्दा थियो।
वर्तमान बिश्व राजनीतिक परिवेशमा राष्ट्रियता एवं राष्ट्रवादको अवधारणाले पुन: ठुलो महत्त्व पाएको देखिन्छ।विश्व जगतमा राष्ट्रियताको मुद्दा आत्मसात गरेका राजनीतिक दल एवं ब्यक्तिहरुको प्रभाव राष्ट्रिय राजनीतिमा मात्र नभै अन्तर्राष्ट्रिय राजनीतिमा पनि पर्दै गइरहेको देखिन्छ। अमेरिकामा ट्रम्पको बिजयदेखि बेलायतको युरोपियन युनियनबाट अलगिने निर्णयसम्म र भारतमा मोदीको उदयदेखि चीनमा सी जिन्पिङले अर्को कार्यकालको नेतृत्व प्राप्त गर्ने घटनासम्ममा त्यहाँका जनताको राष्ट्रियताको भावना प्रतिबिम्बित भएको पाइछ।
कुनै पनि देशको राष्ट्रियता, एकता, अखण्डता र सार्बभौमिकता शुन्यमा सिर्जना भएको हुदैन। प्रत्येक मुलुकका आ-आफ्नो भूगोल, इतिहास, संस्कृति र सभ्यता अनुरुपका राष्ट्रियताका आधारहरु हुने गर्छन्। बडामहाराज पृथ्वीनारायण शाहद्वारा एकीकरण अभियानको शुभारम्भ भएपश्चात आधुनिक नेपालको अबधिलाई बाहिरी रूपमा हेर्ने हो भने नेपाली राष्ट्रियतका तीनवटा आधार देख्न सकिन्छ: राजसंस्था, सनातन धर्म र एकात्मक राज्य प्रणाली। यिनै राष्ट्रियताका आधारले नेपालको विविध बिबिधतालाई कुन हदसम्म सम्बोधन गर्न सके बहसको विषय हुन सक्ला तर बिबिधतालाई एकतामा गाँसेर देशलाई विखण्डनर बिलय हुनबाट आजसम्म बचाउँने काम भने गरेका थिए।यिनै आधारद्वारा हामी सयौं थुङ्गा फूलरुपि विविध जातजाति र भाषाभाषीका नेपालीलाई एउटै मालारूपी एकतामा उन्ने एवं गाँस्ने काम भएको थियो।
यद्यपि विविध बिबिधता भएको मुलुकमा राष्ट्रियताको भावनालाई देशको राजनीतिक, भौगोलिक र बैधानिक पक्षसँग मात्रै जोडेर हेर्नु गलत हुन जान्छ किनकि राष्ट्रियता आफैमा परिभाषित गर्न एकदमै जटिल विषय हो। राष्ट्रियता कुनै पनी देशको राजनीतिक, प्रशासनिक र भौगोलिक दायराभित्र मात्रै बाँधिएको नहुन सक्छ किनकि यो स्वजातिय सभ्यतासम्म गाँसिएको हुन्छ भने एउटै सभ्यताभित्र पनि अनेकौं राज्य अस्तित्वमा रहन सक्छन्। हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधता भएको मुलुकमा यसमाथि छलफल र बहस हुनु नितान्त जरुरी छ। किनकि विविध बिबिधता भएको मुलुकमा राष्ट्रियतालाई बलियो बनाउन बिबिधताको सम्बोधन गर्नु त जरुरी हुन्छ नै त्योभन्दा बिबिधतालाई एकतामा गाँस्नु झनै अपरिहार्य हुन्छ।
राष्ट्रियता आफ्नो राष्ट्रप्रतिको अबिचलित आस्था, निष्ठा र प्रेमभाव त हो नै त्यसको साथसाथै राष्ट्रियता आफ्नो इतिहास, जाति, भाषा, धर्म, समुदाय र आफ्नो मौलिकपन प्रतिको अनुराग र सम्मोहन पनि हो। त्यसैले मुलुकको राष्ट्रियता मजबुत हुन देशभित्रका सबै बिबिधताहरुको संरक्षण, सम्बर्द्धन र बिकास हुन जरुरी हुन्छ जसलाई आन्तरिक राष्ट्रियताको संरक्षण भन्न पनि सकिन्छ । पश्चिमा जगतले पहिचानको कुरा उठाउन थालेको केवल केही दशक मात्र भयो तर पृथ्वीनारायण शाहले आजभन्दा ढाई सय बर्षअगाडि देशको बिबिधताको पहिचान र यसको संरक्षणको अनुभूति मात्रै गरेका थिएनन् तदअनुरुपको नीति समेत तर्जुमा गरी नेपाललाई सबै जातको साझा फूलवारीको उपमा समेत दिएका थिए। जुन कुरा हामीले बुझ्न सकेनौ र पछिल्लो समय भौगोलिक एवं बाह्य राष्ट्रियताले मात्रै महत्व पायो तर आन्तरिक राष्ट्रियता मजबुत हुन पाएन। यसरी हेर्दा नेपालको विविध बिबिधता र बिबिधता लाई एकतामा जोड्ने सबै संयन्त्रहरु नेपाली राष्ट्रियताका आधार हुन्।
जुनसुकै राष्ट्रको अखण्डता र सार्वभौमिकता संरक्षणका लागि राष्ट्रियताको महत्त्व हुने गर्दछ। राष्ट्रियता राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमिकता बचाइ राख्ने महत्वपूर्ण औजार हो । राष्ट्रियताको मुख्य पक्ष भनेकै एकताको भावना हो जसमा मान्छेहरु राष्ट्रको लागि मर्न र मार्न तयार हुन्छन। एउटा ब्यक्तिलाई राष्ट्रियताले राष्ट्रिय संकटमा सामुहिक सामना र समाधान गर्न प्रेरित गर्दछ। हाम्रो जस्तो विविध आन्तरिक बिबिधतायुक्त र दुईतर्फ फरक बैचारिक मान्यता बोकिी बिश्वकै शक्तिकेन्द्रको रुपमा उदाउदै गरेका भौगोलिक, आर्थिक, सामरिक र जनसंख्यिक हिसाबले कयौं गुना ठुला राष्ट्रहरुको बिचमा भूपरिबेष्ठितरूपमा अवस्थित मुलुकको लागि त राष्ट्रको अस्तित्व रक्षार्थ राष्ट्रियताभन्दा ठुलो अर्को कुनै अश्र हुनै सक्दैन।
पृथ्वीनारायण शाहले दक्षिण एसियालाई ख्वापै निल्दै गरेको साम्राज्यवादी शक्तिबाट देशलाई बचाउन प्रजाहरुबिचको आपसी एकता र राष्ट्रभक्तिलाई प्रयोग गरेको कुरा भुल्न सकिदैन। नेपालीले राष्ट्रियतालाई उच्च प्रार्थमिकता दिएकै कारण दुई ढुङ्गाबीचको तरुलको रुपमा आजसम्म नेपालको स्वतन्त्र अस्तित्व कायम छ। जातीयता र साम्प्रदायिकताभन्दा माथि उठेर नेपाली हुनुमा गर्व गर्ने हाम्रो परम्पराको कारण यो सबै सम्भव भएको हो। नेपालका राजनीतिक दल र तिनका नेताहरूमार्फत नै जनताको भावना र देशको आवश्यकता बेगर परिवर्तनको नाउँमा जबर्जस्त देशको राष्ट्रियताका आधारहरु भत्काउने संगठित र योजनाबद्ध प्रयासहरु भैरहेको र अन्तर्राष्ट्रिय शक्तिहरु समेत नेपालमा जातीय, क्षेत्रीय, संकिणता र अन्धरुढतावाद फैल्याउन लागिपरेको वर्तमान परिवेशमा राष्ट्रियताको महत्त्व झनै बढेर गरेको छ हाम्रो देशमा।
नेपालको सन्दर्भलाई हेर्ने हो भने नेपालका अधिकांश राजनीतिक दल र तिनका नेताहरुले राष्ट्रियताको सन्दर्भमा स्पष्ट अडान लिएको भेटिदैन। देशका प्राय सबै ठुला दल र तिनका नेताहरूको पृष्ठभुमि कुनै न कुनै रूपमा भारतसँग गाँसिएको छ। नेपालका २००७ साल देखि २०६२/०६३ साल सम्मका हरेक आन्दोलन र राजनीतिक परिवर्तनहरुमा प्रत्यक्ष वा परोक्ष रूपमा भारतको भूमिका देखिन्छ। २००७ सालको प्रजातन्त्रसँगै क्याबिनेटसम्म पुगेको भारतीय हस्तक्षेपको शृङ्खला र सुरक्षा संबेदनशिलताको नाउँमा नेहरु डक्टरिनलाई आधार बनाई हिमालको काखसम्म बजारिन थालेका भारतीय सैनिकका बुटहरु हटाउनेसम्मको कार्य गरी पहिलोपटक राजा महेन्द्रले राष्ट्रियताको मुद्दा गम्भीररूपमा उठाएको देखिन्छ। यसरी पञ्चायत कालमा केही हदसम्म कमजोर बन्न पुगेको भारतीय हस्तक्षेप २०४६ सालको परिवर्तन हुदै २०६२/०६३ सालको १२ बुँदेसम्म आइपुग्दा क्लाइमेक्समा पुगेको छ।
तत्कालीन भारतीय संस्थापनपक्षको प्रत्येक्ष प्रायोजन र सकृय सहभागितामा भारतीय भूमिमा दुई बिपरित राजनीतिक ध्रुवमा हिडिरहेका सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सम्झौता गराउन सफल भइ छट्के किनारामा साछी बसेको भारतले १२ बुदेको पृष्ठभुमिमा अगाडि बढेको वर्तमान नेपालको राजनीतिक व्यवस्थाको एउटा स्टेकहोल्डरको रूपमा आफूलाई हेरिरहेको छ। यता नेपालमा भने राजनीतिक दल र तिनका नेताहरूको लागि राष्ट्रियता जोगीको मागिखाने कमण्डलुजस्तै बनेको छ। अर्को राष्ट्रलाई गाली गर्नु र दक्षिणतर्फ इङ्गित गर्नु नै राष्ट्रियता हो भन्ने मानसिकता हावी भएको छ। कतिपय नेताहरू त जनतासामु राष्ट्रियताको सवाल र प्रसङ्गमा यसरी भावुक भएको अभिनय गर्छन् कि बोल्दाबोल्दै उनीहरुको आँखा रसाउँछ र गला अबरुद्ध हुन्छ।
२०४६ सालको परिवर्तनपछि सबैभन्दा धेरै अवधि सत्ता सञ्चालन गरेको र १२ बुँदेमा सात राजनीतिक दलको तर्फबाट हस्ताक्षरकर्ता नेपाली काङ्ग्रेसले राष्ट्रियतालाई आफ्नो ब्यानरमा नारा बनाएको भए तापनि उसका कतिपय पछिल्ला गतिविधिहरु राष्ट्रियताको सवालमा अत्यन्तै कमजोर र फितलो रहेको आम बुझाइ रहेको छ। कम्युनिस्टहरु त सैद्धान्तिकरुपमै राष्ट्रियताभन्दा वर्गसंघर्षलाई महत्त्व दिन्छन्।
राज्यबिहीन समाजको परिकल्पना गर्ने र धर्म-संस्कृतिलाई समाजमा आफ्नो प्रभुत्व कायम राख्न सामन्तीहरुद्वारा प्रयोग गरिने सफ्ट हतियार एवं औजारको रूपमा चित्रण गर्ने कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद हो जहाँ न राज्य को अस्तित्व रहन्छ न त धर्म र वर्ग नै। अर्थात् मानव इतिहास चक्रको अन्त्य एवं इन्ड अफ हिस्ट्री।तर, नेपालमा भने कम्युनिस्टहरु नै आफूलाई राष्ट्रियताको सच्चा पहरेदार भएको ठान्दछन। कतिपय वर्गीय राजनीति गर्ने कम्युनिस्टहरुले नेपालमा जातीय राजनीति मात्रै गरेनन्, भारतकै प्रत्यक्ष/परोक्ष संरक्षणमा राष्ट्रिय स्वाधिनता र जनताको मुक्तिको लागि भन्दै जनयुद्ध नै सञ्चालन गरे जसवाट हजारौं सर्वसाधारण नेपालीले ज्यान गुमाउन पर्यो।
समसामयिक राजनीतिको कुरा गर्ने हो भने तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताकै नारा लगाएर गएको निर्वाचनमा एमालेलाई देशको सबैभन्दा ठुलो दल बनाए। प्रतिकात्मक कुरा त यो छ कि हिजो जो जसलाई अराष्ट्रवादी इङ्गित गरेर उनलेे चुनाव जिते, आज तिनैसँग गला गाँसेर आफू प्रधानमन्त्रीको कुर्सीमा बिराजमान छन।यसका अतिरिक्त काङ्ग्रेस र कम्युनिस्टबाहेक आफूलाई सैद्धान्तिक र बैचारिकरुपमै राष्ट्रवादी भएको र उदार परम्परावादी ब्यक्ति र शक्तिको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीको स्थापना कालदेखि नै फुट्दै र जुट्दै कमजोर बन्न पुगेको छ।
सम्बर्द्धनवादलाई आफ्नो सिद्धान्त मान्ने हिन्दू राष्ट्रको एजेन्डा बोकेको राप्रपाको तर्फबाट झन्डै पन्चानब्बे प्रतिशत ॐकार समुदायको उपस्थिति रहेको देशको संघीय संसदमा एकमात्र सदस्यका रूपमा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गरिरहेका छन्। नाकाबन्दीको समयमा सरकारको नेतृत्व गरेको केपी ओलीको दल एमाले देशको सबैभन्दा ठुलो पार्टी बन्दै गर्दा सोही सरकारका उपप्रधानमन्त्री कमल थापा जसले नाकाबन्दी खुलाउनेदेखि यस विषयलाई अन्तर्राष्ट्रियकरण र चीनसँग पारवहनलगायत दीर्घकालीन महत्त्वका सम्झौता गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए उनले नेतृत्व गरेको दल चुनावको मुखमा तीन टुक्रामा फुटेको कारण च्याउ खुम्चिएझै खुम्चिन पुगेको छ ।
आन्तरिक बिबिधतायुक्त र बिश्व राजनीतिक रंगमंचमा कमजोर भूमिका भएका मुलुकहरूको राष्ट्रियताका अनेकन चुनौतिहरु हुने गर्छन्। नेपालको सन्दर्भलाई नजिकबाट नियाल्ने हो भने मुलुकको भौगोलिक अवस्थिति, भुपरिवेष्ठितता, आन्तरिक बिबिधता, आर्थिक परनिर्भरता, परिचालित नेतृत्व, परिवर्तनको नाउँमा राष्ट्रियतामाथि हुने गरेका श्रृङ्खलावद्द प्रहारका साथै सूचना प्रविधि र बिश्वब्यापिकरण एवं भुमन्डलीयकरणको प्रभाव आदि नेपाली राष्ट्रियताको चुनौतिका रूपमा देख्न सकिन्छ। भिन्न बैचारिक आस्था बोकेका ठुला राष्ट्रहरुको बिचमा अबस्थित नेपाली भूगोलको रणनीतिक र सामरिक महत्त्व छ। छिमेकी मुलुकहरूले हामीलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोज्ने सम्भावना त छँदैछ, नेपालको भूमि प्रयोग गरेर समग्र एसिया प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न तेस्रो मुलुकले नेपालको राष्ट्रियतामाथि प्रहार गर्न सक्ने र नेपाल शक्तिकेन्द्रहरुको प्रतिस्पर्धा र क्रिडास्थल बन्न सक्ने सम्भावना पनि उत्तिकै छ।
यसैगरी नेपालको भूपरिबेष्ठितता पनि हाम्रो राष्ट्रियताको चुनौतिको रूपमा रहेको छ। भूपरिबेष्ठितताको फाइदा उठाउँदै दक्षिणको छिमेकी भारतबाट नेपालमा आफ्नो स्वार्थअनुरुपको नीति निर्णयमा दबाबस्वरुप दुईपटक नाकाबन्दीको सामना गरिसक्यौ हामी नेपालीले।यसको साथै हाम्रो बिबिधताको यथोचित सम्बोधन हुन नसकेमा आन्तरिक बिबिधता नै नेपाली राष्ट्रियताको चुनौति बन्ने देखिन्छ।
राष्ट्रियता ब्यक्तीको आफ्नो जातिय साम्प्रदायिक पहिचानदेखि लिएर उसको सभ्यतासम्म जोडिएको हुन्छ। वास्तवमा राष्ट्रियता त्यस्तो आस्था एवं भावनाहो जसलाई रबरजस्तै तन्क्याउन र खुम्च्याउन सकिन्छ।राष्ट्रियताका विभिन्न श्रेणीगत तहहरु हुन्छन् र ब्यक्तिले आफूलाई तिनै तहसँग गाँसिएको अनुभूति गर्ने गर्दछ।कुनै पनि नेपाली नागरिकका लागि समग्र पुर्वीय सभ्यतादेखि लिएर उसको जातीय एवं थरगत पहिचानसम्म उसको राष्ट्रियताका तहहरु हुने गर्दछन। उसले उसको नेपाली राष्ट्रियतालाई दक्षिण एसियायी सभ्यता हुँदै समग्र पुर्वीया सभ्यतासम्म तन्क्याउन मात्रै होइन निश्चित जाति हुँदै उसको थरगत पहिचानसम्म खुम्च्याउन पनि सक्दछ । यसरी नागरिकले राष्ट्रियताको भावनालाई खुम्च्याएर आफ्नो जातीय, भाषिक र साम्प्रदायिक पहिचानलाई महत्त्व दिन थाल्यो भने समग्र राष्ट्रिय पहिचान खतरामा पर्न जान्छ।आज यिनै आन्तरिक बिबिधताभित्रको संबेदनशीलतालाई प्रयोग गरी मुलुकको समग्र राष्ट्रिय पहिचान र राष्ट्रियताको भावना कमजोर गराउँदै देशमा जातीय, क्षेत्रीय संकिर्णताको बिजारोपण गर्न तल्लीन छन् कतिपय दातृनिकाय र वैदेशिक शक्तिहरु।
यसको साथसाथै हाम्रो आर्थिक परनिर्भरता पनि नेपाली राष्ट्रियताको चुनौति बनेको छ। देश संघीय संरचनामा गएपछि यसलाई धान्नलाई वैदेशिक ऋण र अनुदान एकमात्र विकल्प रहेको भनिरहेको छ सरकार।तीन तहको सरकार निर्माण भएसगै सरकारको आकार बढेर जानुको साथै फजुल खर्चमा वृद्धि भएको छ। पछिल्लो समय वैदेशिक ऋणको भार यसरी बढेकोछ कि नेपालमा जन्मिदै गरेको कुनैपनि बच्चाले उसका पुर्खाले लिएको तीस हजारभन्दा बढी वैदेशिक ऋणको भारी टाउकोमा बोकरै जन्मिनुपर्ने अवस्था छ।
देशका नव युवाहरू को नियति नै बिदेशमा गएर पराइको माटोमा रगत पसिना चुहाउनुपर्ने बनेको छ।आर्थिक परनिर्भरताकै कारण एकातिर नेपाली युवाहरूको नेपाली हुनुको गौरव गरीब हुनुको हीनताबोधमा परिवर्तन हुने मात्रै नभएर वैदेशिक आर्थिक चलखेलका कारण देशको संस्कार,संस्कृति समुल नष्ट हुने जोखिम बढेर गएको छ जुन कुरा नेपाली राष्ट्रियताको ठूलो चुनौति बन्ने निश्चितप्राय: छ। पछिल्लो समय राजनीतिक दलका प्राय शीर्षस्त नेताहरु विभिन्न वैदेशिक शक्तिद्वारा परिचालित हुनेगरेको र बिदेशी अनुकुलका नीति निर्णय गरेर देशको राष्ट्रियतामाथि प्रहार गर्ने गरेको टिकाटिप्पणी हुने गरेको छ।
गणतन्त्र स्थापनापछिको अवधिमा मात्रै पचासौं लाख बिदेशीले नागरिकता लिएको भन्ने चर्चा छ। एउटा बिदेशीले यो देशको नागरिकता प्राप्त गर्नु भनेको यो देशको सम्पूर्ण प्राकृतिक श्रोत-साधनमाथिको एक कित्ता सेयर प्राप्त गर्नु हो भने पचासौं लाख बिदेशीले यदि नागरिकता पाएका हुन् भने यो देशको सम्पूर्ण साधन-श्रोतमाथिको पचासौं लाख कित्ता बेचिएको ठहर्छ। यसप्रकार मुलुकमा भरोसायोग्य राजनीतिक नेतृत्वको अभाव त छदैँछ त्यसमा पनि परिचालित नेतृत्वले जतिबेला पनि देशको हितबिपरित बिदेशीहरुको पक्षमा निर्णय गर्न सक्दछ।यसर्थ परिचालित नेतृत्व हुनु पनि नेपाली राष्ट्रियताको अर्को चुनौति रहेको देखिन्छ।
त्यसैगरी पछिल्लो समय आमुल परिवर्तनको नाउँमा देशको आवस्यकता र जनताको चाहनाबिपरित मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमिकतामाथि गम्भीर प्रभाव पार्ने प्रकृतिका निर्णयहरु हुनेगरेका छन्। हिजो पर्याप्त बहस र छलफलबिना जनताको प्रत्यक्ष अभिमत एवं जनमत संग्रह नगरिकन भित्र्याइएका एजेन्डाहरुमाथि हाल आएर जनमानसमा व्यापक असन्तुष्टि देखिन थालेको छ।
पछिल्लो समय थपिएको करको बोझसँगै जनताले संघीय व्यवस्थाप्रति नै व्यापक असन्तुष्टि जाहेर गरिरहेका छन्। यसरी परिवर्तनको नाउँमा जबर्जस्त स्थापित एजेन्डाहरुकै कारण भोलि मुलुक विखण्डन र बिभाजनको दलदलमा फस्न सक्ने र देशको राष्ट्रियता कमजोर बन्ने संभावना पनि देखिन्छ। यसको साथसाथै सूचना प्रविधिको बिकाससँगै आएको बिश्वब्यापीकरणको मान्यता पनि नेपाली राष्ट्रियताको अर्को चुनौति बन्ने देखिन्छ।आधुनिक सूचना प्रविधिले संस्कार, संस्कृति र जीबनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। यसबाट हाम्रो मौलिकता ओझेलमा पर्ने मात्रै नभएर आयातित सामाजिक मान्यता र हाम्रो मौलिक संस्कृतिबीच द्वन्द्व सिर्जना भै एकता खल्बलिने संभावना रहेको छ।
भुमण्डलीकरणको वर्तमान समयमा राज्यको भुमिका कम हुदै गरेको मात्रै छैन, साना राष्ट्रहरुले आफ्नो निर्णय शक्ति पनि गुमाउँदै गैरहेका छन। अर्को शब्दमा भन्ने हो भने साना र कमजोर मुलुकहरु केवल शक्ति राष्ट्रहरुका आर्थिक, राजनीतिक र सामाजिक मान्यता उपभोग गर्ने उपभोक्ता बन्न थालेका छ्न जसबाट नेपाल पनि अलग रहन सक्ने अवस्था देखिदैन।
यसरी हेर्दा नेपालजस्तो आन्तरिकरुपले बिबिधतायुक्त, भौगोलिक रूपमा संबेदनशील र आर्थिकरूपमा परनिर्भर मुलुकको राष्ट्रियता उसको सुरक्षा कवज मात्रै होइन, उसको दीर्घकालीन अस्तित्वको आधारशीला पनि हो। नेपाली राष्ट्रियता बलियो बनाउन आन्तरिक बिबिधताको यथोचित व्यवस्थापन गर्नु त आवश्यक छ नै बिबिधतालाई एकतामा गाँस्ने संरचनाहरुको संरक्षण गर्नु पनि त्यति नै जरुरी छ। तत्कालिन फाइदाको लागि राजनीतिकरुपले प्रतिशोध राखेर होइन, मुलुकको एकता, अखण्डता, सार्बभौमिकता र दीर्घकालीन अस्तित्वलाई केन्द्रमा राखेर नेपाली राष्ट्रियतामाथि नयाँ ढंगले बहस, विश्लेषण र तद्अनुरूपको मान्यता स्थापित गर्न लागिपर्नु आजको आवश्यकता बनेको छ।
(प्रस्तुत आलेख लेखक न्यौपानेको निजी विचार हो। ramananda.neupane@gmail.com मार्फत् लेखकसम्म पुग्न सकिन्छ।)