उमेरले बीस वर्षमा पाईला टेक्दै गर्दा सुड्केसभरी अलिकति खुसी र अलिकति मिठा सपना प्याक गरेर जहाज चढी आकाशको बाटोहुँदै 'युएई'को राजधानी (आवुधावी) अवतरण गरेको आठ वर्ष पुरा भएछ।
सुरूका दिनमा दुई वर्षको भिसा दुई दशक जस्तो लाग्ने मलाई आफ्नो जीवनको आठ वर्ष खाडीमा कसरी यति रफ्तारमा बित्यो सम्झँदा अचम्म लाग्छ। मान्छे बुढो हुन र बिग्रन समय लाग्दैन भनेझैं,जवान उमेरमा जीवनको गुलियो 'रस' घरदेशमा छोडेर परदेशमा आफ्नो र आफ्नाको खुसी खोज्न आएका लाखौंका जवानीहरु पत्तै नपाई ढल्किदै जान्छन्। ढल्किरहेका छन्। कतिको त जीवन नै यतै ढलेको छ। सदाको लागि।
चर्को गर्मीमा पसिना बगाएर किनेका केही थान खुसीहरु कालो सुड्केसमा प्याक गरेर घरदेशमा पठाउने लाखौं जवानहरु अन्त्यमा:आफैं रातो बाकसमा प्याक भएर फर्किएका अनगिन्ती कथाहरु छन् परदेशमा।
कतै सुनेको थिएँ - परदेशीका दुईवटा बाकस हुन्छन्, एउटा बाकस आफन्तका लागि खुसीहरु किनेर घर पठाउन,अर्को रातो बाकस आफैं फर्किने।
यी कथाका बारेमा कुनैदिन चर्चा गरौंला, आज परदेशमा बितेका जीवनहरुको बारेमा भन्दापनि 'परदेशले बिगारेका जिन्दगीहरु'का बारेमा लेखौं।
केही वर्ष बिदेश बसेर कमाएको केही लाख सम्पत्ति जोड्दै गर्दा उजाड बनेका घरबारका कथाहरु लेखौँ।
परदेशमा पसिना बेचेर खुसीहरु किन्दै गर्दा घरदेशमा रहेका खुसीहरु अन्यत्रै बसाई सरेर गएका थुप्रै वियोगान्त कथाहरु छन्। हामीले प्रवासमा हरेक दिन एउटाको कथा सुन्छौं। राज्यले वार्षिक कति बिदेशी रेमिट्यान्स भित्र्यायो भनेर लेखाजोखा गरिरहँदा तिनै रेमिट्यान्स भित्र्याउनेहरुको जीवन भत्केको कसैले देख्दैन।
देशमा वैदेशिक रोजगारीले रेमिट्यान्स मात्रै भित्र्याएको छैन। पारिवारिक बिखण्डनको खाडलको बढोत्तरी गराएको छ।
त्यहीँ पारिवारिक बिखण्डनको खाडलमा परेका थुप्रै पात्र मध्येका एक हुन्-सिन्धुपाल्चोकका रामनारायण केसी (नाम परिवर्तन)।
शुक्रबारको दिन थियो सायद। घडीको सुइँले दिउँसोको एक बजाउनै लाग्दा डिउटीकै समयमा एउटा सेभ नगरिएको नयाँ नम्बरबाट फोन आयो। फोन उठाएर हेलो.. भन्दै गर्दा उताबाट 'सुबास जी नमस्कार! भनेर एउटा पुरुष आवाज देब्रे कानमा ठोक्कियो।'फोन गर्ने ब्यक्ति तिनै रामनारायण थिए।
उमेरले ४० पार गरिसकेका रामनारायण युएईमा बस्न थालेको आठ वर्ष भइसकेको रहेछ। सिन्धुपाल्चोकमा रहेको आफ्नो परिवारका लागि 'सुख' किन्न भनेर सुड्केसभरी सपना प्याक गरेर आठ वर्ष अगाडि स्वदेश छाडेका रामनारायण दाइको सपनालाई २०७२ सालको भूकम्पले भताभुङ्ग बनाईदियो।
'युएई'मा पसिनासँग 'दिराम' साट्दै सिन्धुपाल्चोकमा आफ्नाहरु ओत लाग्ने घर बनाएका रामनारायणले उक्त घरका प्रत्येक कोठाहरु चाल्न,देख्न नपाउँदै अन्त्यमा: त्यै घर श्रीमतीको लागि काल बनिदियो।
भूकम्पले घरसँगै श्रीमतीलाई पनि लिएर गयो। सिन्धुपाल्चोकमा श्रीमानको नामको सिन्दुर लगाएर श्रीमान पर्खेर बसेकी श्रीमतीलाई भूकम्पले सदाको लागि लिएर गयो। कहिल्यै नदेख्ने र नभेट्ने गरेर।
पत्नी बियोगमा छट्पटाईरहेका रामनारायणले उक्त घटना घटेको १ वर्षपछि आफन्तको सल्लाहमा दोस्रो बिहे गरे।
बिहे गरेको केही दिनपछि ऊनी पुनः युएई फर्किए। युएई आएको केही महिनापछि उनले श्रीमतीलाई पनि भिजिट भिसामा युएई ल्याउन सफल भए। केही दिनपछि रामनारायणले श्रीमतीको लागि काम पनि खोजिदिए।
दुबईको एक भारतीय परिवारमा 'हाउस मेड'को रूपमा उनले काम गर्न थालिन्। युएई बसाईको केही महिना श्रीमान श्रीमती बीच राम्रै सम्बन्ध रह्यो। प्रत्येक शुक्रबारको छुट्टीमा श्रीमान श्रीमतीको भेट हुन्थ्यो। यसरी शुक्रबारको दिनको मात्र भेटघाट केही महिना चल्यो। त्यसपछि एकाएक बन्द भयो।
भूकम्पको कम्पन जस्तै केहीबेर जमिन मज्जाले हाल्लिएर टक्क रोकिए जस्तै रोकियो 'रामनारायन र उनकी श्रीमती 'गोमा'(नाम परिवर्तन)को भेटघाट र बोलचाल।
रामनारायणले मलाई भनेका थिए-ऊनीसँगैको घरमा काम गर्ने ड्राइभरसँग उनी हिडिन रे। यो थाहाँ पाएपछि आफू ठूलै भीरबाट गर्ल्यामगुर्लुम खसेको जस्तै भएको बताएका थिए उनले। ठूलो भेलले जिन्दगीलाई बगाएर कुनै बगरमा हुत्याए जस्तै महसुस भयो। यहीँ पीडाले उनलाई डिप्रेसनको औषधी खानेसम्म बनायो।
श्रीमतीको त्यै कुरा थाहा पाएर रामनारायनले मलाई त्यो शुक्रबार फोन गरेका रहेछन्। श्रीमतीलाई जसरी हुन्छ नेपाल फर्काउन सहयोग गरिदिनुपर्यो भन्दै उनले मलाई फोन गरेका थिए।तर, उनले र मैले चाहेर उनकी श्रीमतीलाई नेपाल फर्काउन सकिने अवस्था थिएन।
ऊनीहरु एकअर्काबीच श्रीमान श्रीमती भएपनि कानुनी रूपमा कुनै कागज, प्रमाण थिएन। तैपनि मैले एकपटक आबुधाबीमा रहेको नेपाली दूतावासमा गएर बुझ्न भने। अन्तमा:दूतावासबाट पनि कुनै सहयोग नहुने अवस्था आएपछि रामनारायण सदाको लागि एक्लै नेपाल फर्किए।उनको घरवार भत्कियो।
रामनारायण त एउटा प्रतिनिधि पात्र मात्र हुन्। सिन्दुर हालेर घर भित्र्याई जवान श्रीमतीलाई बाउ आमासँग जिम्मा लगाई मलेसिया उडेका श्रीमान अर्कै बिदेशी महिलासँग बिहे गरेको, सन्तान पाल्न दुबई उडेकी श्रीमतीले अपाङ्ग श्रीमान र बालबच्चा अलपत्र पारेर अर्कैसँग हिँडेको। कुवेत पुगेकी बुहारीले अर्कैको गर्भ बोकेर फर्किएको, श्रीमानले परदेशमा पसिना बगाईरहँदा घरदेशमा श्रीमतीले अर्कैसँग हिँडेकोदेखि ईजरायलमा श्रीमतीले परिवार सम्झेर रातदिन दु:ख गरि पैसा कमाईरहदा नेपालमा श्रीमानले अर्कैलाई उठाएर बिहे गरेका थुप्रै दर्दनाक बियोगान्त घटनाहरु छन्।
झोलाभरि सपनाहरु प्याक गरेर नेपालबाट उडेकाहरु खुसीहरु संग्रहित गर्दै सुड्केसभरि प्याक गरेर घरदेश फर्किने सपना देख्दादेख्दै जिन्दगीनै समाप्त भएर अन्तमा आफैं बाकसमा प्याक भएर आएका घटना त बिमानस्थलमा सधैं देखिन्छ। तर, त्यै वैदेशिक रोजगारीले जीउँदो हुँदै जिन्दगीनै उजाड बनाएको बिमानस्थलमा देख्न सकिन्न। तर, यस्ता धेरै अनुहारहरु दैनिक ओर्लिरहेका हुन्छन्।
यस्तै नदेखिएको र नलेखिएको घटनाको अर्का प्रतिनिधि पात्र हुन् दाङका विवेक आचार्य (नाम परिवर्तन)।
विवेक भन्दा अगाडि उनकी श्रीमती 'रेश्मा खनाल' (नाम परिवर्तन)सँग यतै दुबईमा चिनजान थियो मेरो। मसँग मात्र होइन, युएईमा चिनिएका थुप्रै ब्यक्तिसँग उनले छोटो समयमै राम्रो सम्बन्ध बनाएकी थिईन्।
युएईमा हुने विभिन्न नेपाली कार्यक्रममा सहभागी हुनेदेखि समाजिक सञ्जालमा सक्रिय रेश्मा युएईमा लामो समयसम्म आफूलाई अविवाहित भनेर, बनेर,चिनाईन्।
एकदिन एउटा फेसबुकमा तिनै रेश्मा खनालको तस्बिर सहित अपलोड गरिएको एउटा पोस्टमा मेरा आँखा टक्क रोकिए। एउटा बच्चा उचालेको सामान्य गाउँले महिलाको भेषमा साडी लगाएको तस्बिरको माथी लेखिएको थियो - 'दुबईमा दुनियाँ ठग्दै हिँडेकी वरिष्ठ समाजसेवी रेस्मा खनाल।'
तीन वर्षकी छोरीलाई मेरो(श्रीमान)को जिम्मा लगाएर भाइले अस्ट्रेलियाबाट भिसा पठाईदिएको भन्दै दस लाख रुपैयाँ बोकेर अस्ट्रेलिया जाने भन्दै काठमाडौ गएकी रेश्मा खनाल अहिले दुबईमा छन्। कृपया उनलाई नेपाल फर्काउन सहयोग गरिदिन अनुरोध गर्दछु।’
तस्बिरसँगै लेखिएका कुरा पढेर म झस्किएँ। कुनै एकोहोरो ध्यानमा केन्द्रित ब्यक्तिलाई पछाडिबाट आएर कसैले जोडले कराउँदा झस्किए जस्तै। त्यसपछि मैले ती ब्यक्तिसँग सम्पर्क गरेँ। उनको र मेरो नियमित सम्पर्क भयो। उनले आफ्नी श्रीमतीका सबै कथाहरु सुनाए।
म सम्पर्क गरेर तपाइसँग कुरा गर्न भन्छ नी भनेर मैले रेश्मा सम्पर्क गरे। शायद उनले कुरा बुझिन्। 'म दुई मिनेटमा कल गर्छु' भनेकी थिइन्। आज झण्डै दुई वर्ष भयो उनको कल आएको छैन।
बैदेशिक रोजगारीको चक्करले छुटाएको यो जोडी एक हुन सकेको छैन। उता नेपालमा श्रीमानको अवस्था लेखी साध्य छैन। उनलाई हेर्दा लाग्छ, यहीँ पीडा र तनावले उनी बिहान सूर्यको किरण धर्तीमा आउनुभन्दा अगाडि ऊनी भट्टीमा पुग्छन्, र सूर्यलाई पश्चिमको डाँडाले नछेक्दासम्म त्यै भट्टीमा पिउँदै बस्छन्। श्रीमतीले दिएको पीडा ,घात बिर्साउने औसधि बनेको छ 'रक्सी' उनको लागि।
बैदेशिक रोजगारीकै कारण नेपालमा पनि आजकल धेरै यस्ता पात्रहरु भेट्न सकिन्छ। जसका दुःख भनी साध्य छैन। धेरैका जीवनहरु डिप्रेसनको औषधीले धानेको छ। औषधीले नधान्नेहरु आत्महत्याको शिकार बनेका छन्।
मैले माथि नै एक प्रसंगमा लेखिसकेँ रेमिट्यान्सको लेखाजोखा भइरहँदा,हिसाब किताब निकाली रहँदा, नाफा घाटाको नेप्सेमा उतारचढाव भइरहँदा यसरी जिन्दगी भत्केकाहरुको हिसाब कुन गणितले गर्ला?
जिन्दगी जलेको खरानीको नापतौल कुन यन्त्रले गर्ला? कास्! रुपैयाँ र रेमिट्यान्सको ट्रायल ब्यालेन्स निकालेर अन्त्यमा हिसाब मिलान गरेजस्तै, क्षतविक्षत भएका सपनाहरुको पनि ट्रायल ब्यालेन्स हुन्थ्यो भने कति जाति हुन्थ्यो होला!