जर्मनीमा उच्च शिक्षाका लागि सन् २०१३ को अक्टोबरमा म पहिलो पटक बिदेसिएँ।
दशैंको रमाइलो माहौललाई चटक्कै त्यागेर जीवनमा केही गर्छु भन्ने अठोटसाथ युरोप आएकी थिएँ।
‘समय पंक्षी जस्तै हो’, भनेर पहिला स्कूलमा खुब पढिन्थ्यो। तर यस्तो गहन कुरा बुझ्ने उमेर थिएन त्यो बेला। अहिले आएर ती शब्दका अर्थ बुझ्न थालिछु।
साच्चै समय यती छिटो बितिसकेछ कि, पछाडि फर्केर हेर्ने फुर्सद पनि पाइएन। सबैलाई बिदेशमा पुगेर उच्च शिक्षा हासिल गर्ने इच्छा हुन्छ। अवसर, शिक्षा, लोभलाग्दा सुविधा इत्यादिले प्रायः सबै युवायुवती विदेसिन चाहन्छन्।
मलाई पनि बिदेशको राम्रो विश्वविद्यालयमा गएर पढ्ने ठूलो रहरले जर्मनीको विश्व विद्यालयसम्म पुर्यायो। बिएस्सी नर्सिङ सकिएपछि स्नातकोत्तर पढ्ने अवसर ज्यादै जोश र जागर लिएर आए पनि शुरूका दिन अलि नरमाइलो लागेको थियो।
नयाँ परिवेसमा आफूलाई ढाल्न समय लाग्दो रै’छ। घरको सम्झनाले घरिघरि सताउने र’छ।
बिस्तारै नयाँ नयाँ साथीको संगतले रमाइलो लाग्न थाल्छ। नयाँ देशमा नौलो संस्कृति र फरक जीवनशैलीले अचम्म पनि लाग्दोरै’छ।
साथीहरुको चालचलन अनि ब्यवहार पनि अनौठो लाग्ने। प्रायः युरोपेली मुलुकका मान्छेहरु उस्तै उस्तै लाग्ने। आफ्नो पढाइसँगै यहाँको संस्कृतिमा हल्का भुलिदै गएपछि समय गएको थाहै नहुने र’छ।
धेरैजसो कोर्सहरु बिहान ८ बजेबाट बेलुका ६-७ बजेसम्म क्लास हुन्छ र कोठामा पुग्नेबित्तीकै थाकिने। शनिबार र आइतवार विदामा पनि थुप्रै गृहकार्य गर्नुपर्ने। कसै कसैलाई त काममा पनि जानुपर्ने हुन्छ।
त्यो बेला धेरै साथीलाई लाग्छ- 'बेकारमा दुःख गर्न आइए’छ।’
जाडोमा माइनस २० डिग्रीसम्म चिसो। हिउँले ढाकिएको बोटो छिचोल्दै कक्षा जानुपर्ने टन्टा उस्तै। त्यो बेला सजाय भोग्न आएजस्तै हुने। धन्न यी विकशित मुलुकहरुमा भिन्नै जीवनशैली भए पनि जीवन सहज छ।
यूरोपेली मुलुकहरुमा सफा, स्वच्छ वातावरणसँगै सुन्दर मनमोहक र चिटिक्क परेका घरहरुले थप शोभा दिइरहेका हुन्छन्।
यहाँका कतिपय चाडपर्वहरुले दशैं तिहारको याद नी दिलाउँछन्। सुविधाले युक्त यी शहरहरुमा पुरातन कुराहरुले धेरैको मन लोभ्याइरहेको हुन्छ।
गृष्मयाममा चारैतिर हरियाली र वसन्तको वहार आउँदा मन चंगा हुन्छ र त्यही बेला बिभिन्न देश घुम्न जानुको मजा अझै रमाइलो हुन्छ विद्यार्थीहरुलाई।
युरोपमा अलि चित्त खिन्न हुने पक्ष खाना हो। प्रायः सबै प्रकारका खानाहरुमा मासु मिसाएकै हुन्छ। हरेक पाटीहरूमा धेरै वियर र रक्सि खाने चलन छ। हुनत आफू नपिउने भएर नि होला। यहाँका मान्छेहरु अलि सामाजिक छैनन्। प्रायः एक्लोपन र स्वतन्त्रता रूचाउँछन्। प्रायः युरोप आउने विद्यार्थीहरू के कमाइयो भन्दा नि थोरै कुराहरु गुमाइयो को अनुभव छ।
यता हुँदा खेरि मिलनसार साथीहरुको साथ गुमाइन्छ, अनेक चाडपर्वहरु आफ्ना परिवारसँग मनाउन पाइन्न्, परिवारसँगको साथ अनलाइनमा सिमित हुनपुग्छ।
अझ भन्नुपर्दा आफ्नो घर आँगनमा लडिबुडी गर्ने मौका छुटाइन्छ। आफ्नोपनमा आत्मीयता घुलाउने समय गुमाइन्छ। यति धेरै आत्मियता सद्भाव र आफ्नोपन घटाएरै भए पनि शैक्षिक अध्ययनको डिग्री हात पारिएकोमा सायद अलिकति युरोपेली अनुभव पनि बटुलिन्छ। विभिन्न युरोपका सुन्दर देशहरू घुम्ने अवसर पाइन्छ।
छात्रवृत्तिमा आउँदा युरोपमा त्यति गाह्रो भने पक्कै हुँदैन तर, स्वयमसेवक लगानीमा पढ्न आउँदा एकातिर पढाइको चिन्ता भने अर्कोतिर पैसाको।
कतिपय युरोपियन मुलुकको आफ्नै भाषा हुन्छ र भाषा नसिकिकन आउँदा गाह्रो हुन्छ। आफूसँग भाषाको ज्ञान छ भने विद्यार्थी कालमा पढ्दै काम गर्न पनि सकिन्छ र धेरै विदेश पढ्न चाहनेले छात्रवृत्तिमा आएर सम्बन्धित चाहिने भाषामा दक्षता हासिल गर्दा राम्रो नै हुन्छ।
किनकि, विदेशि विश्वविद्यालयहरुमा मापदण्डहरु पुरा नहुँदा विदेशिने रहरले धेरै कहरहरू पनि निम्तिएका छन्।
विदेशिने सपना धेरैले सोचेर राखेका हुन्छन्। स्वदेशमा पाएको गरिबी र अभावले विदेशी सपना धेरैले देख्छन्, जुन सपनाले आसा र भरोसा बोकेको हुन्छ। सुन्दरता ल्याउने कल्पना गरेको हुन्छ। सपना न हो सुन्दर नहुने त कुरै भएन।
युरोपीयन मुलुकमा प्रायले त्यस्तो भिसा पाएको हुन्छ। जसले २८ वटै युरोपियन मुलुकहरु घुम्न पाइन्छ। त्यही भएर एक देशमा आउँदा स्वतः अरू मुलुक पनि घुम्न पाइन्छ।
यात्रा जीवनको सवैभन्द मिठो अनुभव हो र प्रायः विद्यार्थीहरू मौका पाउने वित्तिकै अनुभव बटुल्न हौसिहाल्छन्। टाढाका मुलुकहरु पनि छोटो समयमै पुग्न सकिन्छ र धेरै घण्टा ट्रेनमा, पानीजहाज, बसमा यात्रा गरे पनि गलेको अनुभूति हुँदैन। किनकि, यी हरेक क्षणमा जीवनको पल हुन्छ। अनि आफूले कमाएको युरोपको मूल्य हुन्छ।
प्रायः हामी हिँडेर घुम्न रुचाउँदैनौ किनकि, यसले समय अनि पैसाको मुल्य तोकिरहेको हुन्छ। कतिपयले जीवनमा एकचोटि मात्र पुगेका हुन्छन्, प्रसिद्ध ठाउँहरु विकसित देशका प्रायः सवै पदयात्रा गर्न रुचाउँछन्, स-साना पहाडमा पदयात्रा गर्दै, प्राकृतिक वातावरणमा मुग्ध हुर्दै एक अर्कोलाई अंगालो हाल्दै खुसी व्यक्त गर्छन्।
हामी खुसी खोज्दै आफ्नो गाउँघरबाट सात समुन्द्र पारी बादलपारिको देश खोज्न यहाँ पुग्छौं। तर, यहाँका मानिसहरु भने खुसि मुक्ति खोज्दै नेपालका छहरा र पहरा पुग्छन्।
वास्तवमा , खुसिको परिभाषा एउटै छैन। खुसी के हो, सायद हरेकको आ-आफ्नै अर्थ छ।
हिमालको दोबाटो भएर आए पनि पहिलो पटक हिमलहर युरोपमा अनुभव गरेँ। धेरै कहालीलाग्दा कथाहरु वास्तवमा संसारको कुनै एक कुनामा घटिरहेका हुँदोरहेछ।
बाल्यकालमा हिम वर्षा भएर सेताम्य भएको कुरा सुन्थे एकादेशको कथा जस्तै, तर युरोपमा त्यस्ता पनि देशहरु हुँदोरहेछ। जहाँ घामको एक झुल्का देख्न पनि मुस्किल हुन्छ।
नेपालमा हुँदा सूर्योदय र सूर्यास्तसँगै दैनिक जीवन चलाईरहेकालाई त्यसको खासै महत्व नहुँदो हो। तर. यहाँका मानिसहरुले त्यस्ता कहानी मात्र सुन्दा हुन्। जब सूर्य उदाएर आकासमा पुरै सुनका दाना छरिएर पहेँलो भएको दृष्य हेरेर यहाँ जति मुस्काउँछन्, त्यति नै मुस्कान नेपालमा हिम वर्षा हुँदा हुन्।
प्रायः युरोपमा असम्भव भन्ने त्यति हुँदैनन्। जंगलमा हाइकिङ होस् या प्याराग्लाइडिङ। धेरै प्राकृतिक सौन्दर्यलाई नै विकसित गरेर पुरै सहर नै अति सुन्दर अनि सहज बनाएको भएर यी देशहरुमा कृतिम नै भए पनि सुन्दर देखिन्छन्।
क्यानभासमा कोरिएको रङ्गिन मनोरम देखिन्छन् युरोपका सहर अनि गाउँहरु। नत त्यसलाई फोटो खिच्दा क्रप गर्नुपर्ने नत फोटोसवबाट मिलाउनुपर्ने।
मनै लोभ्याउने चरिचुच्चे रेल झिलिमिलि सहर देखेपछि किन मानिसहरु मरिमेटेर यहाँ नआउनर। झन त युरोपियन फाट या पाटनमा पदयत्राका लागि जानुपर्छ सायत, कयौं दिनसम्म पनि मन त्यही सुन्दर फाँटहरूमै रूमलिरहन्छ।
धेरै कुराहरु मानवका लागि सहज भएर होला, जंगलमा एक्लै रातारात हिड्दा पनि डर हुन्न। लामो पदयात्रामा पनि एक्लै जानु नत जंगली जनावरकै डर। नत मसानघाटमानै डर। बस यति डर हुँदो रहेछ कि यो जुनीमा विकासका सबै रूप या संसारका अचम्महरु देख्न पाउनुपर्छ, घुम्न पाउनु पर्छ विकसित मुलुकहरुमा धेरै अवसरहरुकै कारणले प्राय लोभिएका हुन्छन्।
आफ्नो बल, बुद्धि र सिपले भ्याएसम्म काम गरेपछि नहुने भन्ने कुरै छैन। बस केही ढिलो चाँडो मात्र हो।
शिक्षा स्वास्थ्यलगायत चाहिने सरसुविधा भएपछि मानिसले खोज्ने खुसी हो र खुसी स्वयममा निर्भर हुने कुरा न हो।
मान्छेले धेरै स्वतन्त्रताको अनुभव पाउँछन्। आफू खुसी भएर बाच्ने पढ्ने काम गर्ने रमाइलो गर्ने यी सबमा स्वतन्त्र छन्।
रहनसरन्, खानपान जीवनशैलीजस्ता धेरैमा स्वतन्त्र भएर हिँड्न सकिन्छ। प्रायः विकसित मुलुकहरुमा कसैलाई कसैको मतलब हुन्न नत ठग्ने नै सम्भावना तर पनि हरेक कुरामा आफूले नै सोँच विचार गरेर अघि बढ्नुपर्छ।
युरोपमा पहिलो पटक आउँदा प्रायःलाई धेरै सिपहरुको अभाव पनि हुँदो हो किनकि हाम्रो नेपाली परिवेशमा त्यस्तै शिाक्षा नै कहाँ हुन्थ्यो र! त्यतिबेला व्यावहारिक सिपहरुको कमिले अलिकति मन डगमगिन सक्छन्। तर, स्वयममा धैर्य र आत्म विश्वास नभएपछि स्वत सहज बन्दै जान्छ।
यर्थाथमा प्रायःले अनुभव गरेको छ कि वर्गर खाएर सुत्दा पनि दालभात तरकारिको झल्को दिन्छ। समुन्द्रको किनारमा वियर पिउँदै छालका लहरसँग जति नै पौडी खेले पनि सपना त्यही खोला र झरनाकै देखिन्छन्।
आखिर सपना न हुन्, मिठा नै हुन्छन्। मजा नै कहाँ छ र सजिला बाटाहरुमा कहाँ......