वाम एकताले राष्ट्रिय सन्देश दिएको छ : अध्यक्ष दाहाल

तस्बिरः एजेन्सी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रिय रूपमै एकताको सन्देश दिएको बताएका छन्l

नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताएका हुन्l

“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भने, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।”

“एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उनले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे।

उपस्थित नेता–कार्यकर्ताकको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको भन्दै उनले खुशी व्यक्त गरे। फरक प्रसङ्गमा उनले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताए।

अध्यक्ष दाहालले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्र, सालझण्डी–ढोरपाटन सडकले पूर्णता र उत्तरगङ्गा जलाशय जलविद्युत आयोजनाले गति लिने बताए। उनले प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग तत्काल छलफल गरी निष्कर्ष निकाल्ने बताए।

अध्यक्ष दाहालले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताए। बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ।

यसअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो। अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिएका छन्।

संयुक्तसभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियोl (रासस)

प्रकाशित मिति: : 2019-11-23 17:21:10

प्रतिकृया दिनुहोस्