उपनिर्वाचनको प्रचारमा नेकपाका शीर्ष नेता

तस्बिरः एजेन्सी

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त हुन थालेका छन्l

यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ। चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल बागलुङ पुगेका छन्l

नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका बागलुङ–२ (ख) का खिमविक्रम शाहीका पक्षमा प्रचारप्रसार गर्न उनीहरु बागलुङ पुगेका हुन्l बागलुङपछि अध्यक्ष दाहाल र नेता सुवास नेम्वाङ मङ्सिर ११ गते भक्तपुरको सभामा सम्बोधनका लागि जाने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। भक्तपुर–१ (क)मा नेकपाका तर्फबाट प्रदेशसभा सदस्यका लागि डिपी ढकाल उम्मेदवार बनेका छन्l

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ। चुनावीसभामा सम्बोधन गर्न अध्यक्ष दाहाल पोखरा र दाङ पुगिसकेका छन्l

नेकपाले उपनिर्वाचनमा सहजै जित्ने बताउँदै कार्यालय सचिव रिजालले स्थानीय तहका प्रमुख र उपप्रमुखको निर्वाचन हुने क्षेत्रमा पनि नेताहरु जाने तयारी भइरहेको जानकारी दिए। भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरिसकेका छन्l नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार बनेका छन्।

रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उनकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो। यसैगरी दाङ–३ (ख)मा प्रदेशसभा सदस्यका लागि विमला वली उम्मेदवार बनेक्ला छन्।

निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गराउँदैछ। स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख, पाँचथरको फागुनन्द गाउँपालिकाका अध्यक्ष, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष र हुम्लाको खार्पुथान गाउँपालिकाका उपाध्यक्ष तथा अन्य वडाध्यक्ष गरी ४६ स्थानमा उपनिर्वाचन हुदैछ । (रासस)

प्रकाशित मिति: : 2019-11-23 15:45:01

प्रतिकृया दिनुहोस्